आन्दोलनरत शिक्षकलाई सरकारले बोलायो वार्तामा, शिक्षामन्त्री पन्तले भने- माग सम्बोधन गर्छौं

बिजमाण्डू
२०८२ बैशाख १२ गते १३:४४ | Apr 25, 2025
आन्दोलनरत शिक्षकलाई सरकारले बोलायो वार्तामा, शिक्षामन्त्री पन्तले भने- माग सम्बोधन गर्छौं


काठमाडौं। सरकारले २४ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरुलाई वार्तामा बोलाएको छ।

Tata
GBIME
NLIC

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण सुनिश्चित गर्न अन्तरिम आदेश दिएको दिएको भोलिपल्ट सरकारले नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको हो।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार विज्ञप्ति निकाल्दै महासंघलाई वार्तामा बोलाएका हुन्।

‘शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,’ पन्तले विज्ञप्तिमा भनेका छन्।

शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने लगायत माग राखि देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० देखि काठमाडौंमा आन्दोलनरत छन्। जसका कारण सामुदायिक विद्यालय अहिले बन्द अवस्थामा छन्।

सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन बिहीबार सरकारलाई अन्तरिम आदेश दिएको थियो।

शिक्षामन्त्री पन्तले वार्ताका माध्यमबाट शिक्षकका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताए। ‘संविधान, कानुन र बजेटको सीमाभित्र रहेर माग पूरा गर्छौं,’ उनले संसद् भवनमा संचारकर्मीसँग भने।