रातको समयमा कुनै विकसित मुलुकको सहरभन्दा कम देखिँदैन भरतपुरको ६ लेन सडक

प्रवीण रानाभाट
२०८२ बैशाख १ गते १६:२२ | Apr 14, 2025
रातको समयमा कुनै विकसित मुलुकको सहरभन्दा कम देखिँदैन भरतपुरको ६ लेन सडक


काठमाडौं। आकर्षक सडकले भरतपुर महानगरपालिकाको मुहार फरियो भन्ने खबर सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कुनै नौलो कुरा होइन। ती खबर पढेपछि अहिले प्रत्यक्षरुपमा अवलोकन गर्न भरतपुर पुग्ने धेरै छन्। कतिपय त क्यामरा र ड्रोन बोकेरै पुग्छन्।

Tata
GBIME
NLIC

त्यहाँ पुग्दा साँच्चै नै लाग्छ, भरतपुरमा अहिले विकास र समृद्धिको मानक बनेको छ- ६ लेनको सडक। मनै लोभ्याउने!

गोन्द्र्याङदेखि पुल्चोकसम्मको ६ किलोमिटर लामो सडक फराकिलो र चिल्लो देखिन्छ। यो सडक दिउँसोको समयमा जति सुन्दर देखिन्छ रातिको समयमा ड्रोनबाट हेर्दा अझ मनमोहक देखिन्छ।

रातको समयमा देखिने भरतपुरको यो सडक कुनै विकसित मुलुकको जस्तो लाग्छ। सडकका छेउमा राखिएका बत्तीहरूले यसमा अझ झंकार थपेको छ।

सडकसँगै निर्माण गरिएका एक्सप्रेस लेन र नाली तथा बिरुवा र रंगरोगन लगायतले यसलाई अझ भव्य बनाएको छ।

यस सडकमा फुटपाथ पनि व्यवस्थित छ। २०७९ फागुनसम्म सक्ने लक्ष्यसहित २०७७ को कात्तिकमा सडक विस्तार र कालोपत्रेको काम सुरु भएको थियो। संघीय सरकारको बजेटमा निर्माण थालिएको मुख्य राजमार्गको यो खण्ड केही ढिलो गरेर हालै मात्रै सकिएको हो।

बजेट संघीय सरकारको भए पनि सडक बन्नुमा स्थानीयहरु महानगर प्रमुख रेनु दाहाललाई जस दिन्छन्। रेनुले केन्द्र सरकारलाई निरन्तर ताकेता गरेर बजेट छुट्याउन लगाइ काममा पनि नियमितरुपमा चासो दिएका कारण भव्य सडक बनेको भरतपुरबासीको बुझाइ छ। घुम्न र कामको सिलसिलामा भरतपुर पुग्नेहरुले पनि सडक देखेर रेनुको प्रशंसा गर्ने गरेका छन्।

रेनु दाहाल

रेनुले भौतिक पूर्वाधारको विकासमा भरतपुरले एउटा चरण पार गरेकी बताइन्। अब महानगरबासीको आयआर्जन वृद्धिमा ध्यान केन्द्रित गर्ने उनको योजना छ।

‘मैले जुन संकल्प गरेको थिएँ, त्यस अनुसार एक चरणको पूर्वाधार तयार भएको छ। ६ लेनको सडक केन्द्र सरकारको बजेटबाट बनेको भएपनि त्यो योजना पार्न म भोक प्यास दिन रात केही नभनी लागेको थिएँ। त्यही कारण सडक तयार हुँदा म सबैभन्दा खुशी छु,’ उनले भनिन्, ‘महानगरमा हामीले एक चरणको पूर्वाधार तयार पारेका छौं। अब महानगरबासीको आयआर्जन बढाउने काममा फोकस हुनेछु। उनीहरुको व्यापार व्यवसाय वृद्धिमा सडकले पनि ठूलो टेवा पुग्नेछ।’

संघीय राजधानी र प्रादेशिक राजधानीहरुमा यत्तिको सडक देख्न पाउनै सकस छ अहिले पनि। भएका सडक पनि बिग्रिने भत्किने भइरहन्छ। यता, चितवनको सडकले भने इच्छा शक्ति भए सडकसँगै सहरको मुहार फेर्न सकिन्छ भन्ने आभाष दिलाएको छ।

भरतपुरको ६ लेन सडकका कारण स्थानीयहरु सन्तुष्ट देखिन्छन्। मुख्य सडकमात्रै होइन भित्री सडकहरु पनि चिल्ला छन् भरतपुर महानगरपालिकाभित्र।

सहरका भित्री भागमा पनि सडक राम्रो बन्न थालेपछि यहाँको व्यापार व्यवसाय फस्टाएको छ। पश्चिमका मेघौली, शुक्रनगर, पटिहानीदेखि पूर्वतर्फ भोजाड लगायत क्षेत्रमा पनि सडक राम्रो बनेको छ।

हिउँदमा धुलो र वर्षामा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले महानगरमा चिल्ला सडक बनेसँगै राहत महसुस गरेका छन्।