
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्य भागबाट ७५ मिटर वरपर ट्याक्सी वे विस्तारको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले यतिखेर धमाधम कालोपत्रेको काम भइरहेको बताए। ‘सब बेस र बेसको काम सकिएर अहिले कालोपत्रेको काम भइरहेको छ। एक साताभित्र काम सम्पन्न हुनेछ,’ उनले भने।
ट्याक्सी वे विस्तारका लागि विमानस्थल कात्तिक अन्तिम सातादेखि रातिको समयमा बन्द गरिंदै आएको छ। मध्य भागमा ट्याक्सी वे विस्तारको काम सकिएपछि पनि विमानस्थल रातिको समयमा खुल्ने छैन।
प्राधिकरणले चैत १९ गतेबाट लागू हुने गरी विमानस्थल दैनिक ६ घण्टा बन्द रहने सूचना यसअघि नै जारी गरिसकेको छ।

श्रेष्ठका अनुसार ७ वटा ट्याक्सी-वेलाई धावन मार्गसँग जोड्न लागिएको छ। विमानस्थलमा दक्षिण-पश्चिमतर्फ ट्याक्सी वे, पूर्वतर्फ ह्याङ्गर तथा उत्तर-दक्षिणतर्फ इन्टरनेसनल एप्रोन र ट्याक्सी वेको काम भइरहेको छ।
ट्याक्सी-वे विस्तार अन्तर्गत ड्रेनेज, कल्भर्ट निर्माण, एयरफिल्ड ग्राउण्ड लाइटको डक्ट जडान लगायत काम सम्पन्न भएको छ। ट्याक्सी वे विस्तार सवा सात अर्ब लागतको योजना हो।