विद्युत प्राधिकरणमाथि खनिए उद्योगी, ‘अघोषित लोडसेडिङ गरेर उद्योगलाई धराशायी बनाइयो’

बिजमाण्डू
२०८१ चैत्र १० गते १८:०८ | Mar 23, 2025
विद्युत प्राधिकरणमाथि खनिए उद्योगी, ‘अघोषित लोडसेडिङ गरेर उद्योगलाई धराशायी बनाइयो’


काठमाडौं। उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणमाथि आक्रामकरुपमा प्रस्तुत भएका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार काठमाडौंमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी प्राधिकरणको चर्को आलोचना गरेका हुन्।

Tata
GBIME
NLIC

ती तीन व्यावसायिक संस्थाले प्राधिकरणले विना सूचना लोडसेडिङ गरेर उद्योगलाई धराशायी बनाएको आरोप लगाएका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्दै जाने बताएका कारण पनि तीन संस्थाले एक स्वरमा प्राधिकरणकको आलोचना गरेका हुन्।

उनीहरुले विद्युत दिन नसक्ने भए लोडसेडिङको तालिका सार्वजनिक गर्न माग गरेका छन्।

‘औद्योगिक क्षेत्रमा सधैं लोडसेडिङ भइरहेको छ। तर, नेपाल विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ? किन लोडसेडिङको सूचनासहितको तालिका दिंदैन,’ उद्योगीले प्रश्न गरे।

उनीहरुले प्राधिकरणमाथि झुठको खेती गरेको आरोप लगाएका छन्। ‘लोडसेडिङ अन्त्यको सूचना यथार्थपरक र सत्य नभई जनमानसको ध्यान आफूप्रति आकषित गर्न अथवा झुठो विषयलाई सत्य हो भनी स्थापित गर्न गरिएको एउटा असत्य र झुठको खेती प्रपञ्च मात्र रहेछ,’ तीनवटा संघको संयुक्त विज्ञप्तिमा भनिएको छ।

प्राधिकरणले २०७५ वैशाखमा औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो। तर, ती संघले भने उद्योगमा २०७५ देखि नै लोडसेडिङ रहेको र अहिले १२ घण्टा विद्युत आपूर्ति बन्द गरिएको बताएका छन्।

‘लोडसेडिङ अन्त्य भयो भनेपछि पनि हरेक वर्ष पुस माघदेखि जेठ अन्त्यसम्म करिब ६ महिना पूरै लोडसेडिङ गरिएको विषय प्रष्ट छ। प्राधिकरण लोडसेडिङ गरेको छु भन्न सक्दैन, भन्दैन, तालिका माग्दा लोडसेडिङ नै छैन भन्ने झुठो र भ्रामक प्रचारबाजीमा लागि रहेको छ। हामी अधिकांश मानिस असत्य विषयलाई सत्य मानिरहेका छौं,’ तीन व्यावसायिक संस्थाले भनेका छन्।

उनीहरुले निर्वाधरुपमा २४ सै घण्टा विद्युत चाहियो भन्दा आफूहरुलाई लखेटिन खोजिएको गुनासो गरे। ‘विद्युत आपूर्ति गर्न नसक्ने हो भने औपचारिकरुपमा यी यी फलाना फलाना उद्योगमा हामीले लोडसेडिङ गरेका छौं भनी पब्लिकलाई समेत सूचना गर्न प्राधिकरण लगायत निकाय समक्ष अनुरोध गर्दछौं,’ तीनवटा संघले भनेका छन्।

उनीहरुले प्राधिकरणमाथि १२ घण्टा लोडसेडिङ गरेर उद्योगलाई धराशायी बनाएको आरोप लगाए। उद्योगीले ‘१२ घण्टा लोडसेडिङले उद्योग व्यवसाय कसरी संचालन गर्न सकिन्छ?’ भनी प्रश्न गरेका छन्।

शोभाकर न्यौपाने

स्टील उत्पादक संघका अध्यक्ष शोभकर न्यौपानेले २४ घन्टामा १४ घन्टाभन्दा धेरै लोडसेडिङको अवस्था रहेको बताए। ‘२४ घन्टामा १४ घन्टाभन्दा धेरै समय बिजुली आउँदैन। आइरहेको बत्तीको पनि गुणस्तर छैन,’ उनले भने।

उनले कार्टेलिङ गरेर फलामे डण्डीको मूल्य बढाउनुको औचित्य पुष्टि गर्ने प्रसास समेत गरे। ‘बिजुली नपाउँदा प्रति केजी १० रुपैयाँ अहिले हामीलाई मार परेको छ। यसैगरी डलरको मूल्य वृद्धिले पनि लागत बढेको छ,’ उनले भने, ‘प्रति केजी ९८ रुपैयाँ कस्टिङ अहिले डण्डीमा आइरहेको छ। यो घाटा कसरी परिपूर्ति गर्ने? व्यवसायीहरुले यो घाटा बेहोर्न मूल्य बढाउनैपर्छ।’

स्टील उद्योगीले डण्डीको मूल्य फागुन २५ गतेयता १२ दिनमा प्रति किलो १० रुपैयाँ बढाएका छन्।

सिमेन्ट उद्योगी धुव थापाले लोडसेडिङका कारण सिमेन्ट उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चल्न बाध्य भएको बताए।

ध्रुव थापा

‘साउनमा माग नहुने भएका कारण क्षमताको २० प्रतिशत मात्रै उत्पादन हुन्छ। साउनमा बत्ती भएको बेला उत्पादन गरेर राखौं भन्न पनि स्टोरेज क्षमता  हामीसँग छैन। अहिले माग छ तर बिजुली नभएकाले आधा क्षमतामा चलाउनुपरेको छ,’ थापाले भने, ‘१२ घन्टा मात्रै बत्ती दिएर उद्योग चल्न सक्दैन। एक मिनेट बत्ती गयो भने ४५ मिनेटको उत्पादन घाटा हुन्छ। यसरी लोडसेडिङ गरेर उद्योगलाई संकटमा पार्ने काम नगरौं।’  

उद्योगीहरुले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा प्राधिकरणले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा असहयोग गरेको आरोप लगाएका छन्। ‘प्राधिकरण किन लाल आयोगको प्रतिवेदन कार्यान्वयनमा सहयोग गर्दैन? समाधान गर्न चाहँदैन?,’ उनीहरुले प्रश्न गरेका छन्।

रघुनन्दन मारु

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले प्रमाण दिएको अवस्थामा बक्यौता तिर्नका लागि आफूहरु तयार रहेको बताए।

नेपाल धागो उत्पादक संघ शशीकान्त अग्रवालले लोडसेडिङले उद्योगको उत्पादनमा ठूलो समस्या भएको बताए। ‘लोडसेडिङ गर्ने विषयमा पनि बक्यौता तिर्ने र नतिर्नेलाई छुट्याइएको छ,’ उनले भने।