मन्त्रीको साथमा उद्योगीको दोहोरो कार्टेलिङ, डण्डीको भाउ बढाएर मिलेमतोमा घटाए स्क्र्यापको मूल्य

अनन्तराज न्यौपाने
२०८१ चैत्र १० गते १५:२० | Mar 23, 2025
मन्त्रीको साथमा उद्योगीको दोहोरो कार्टेलिङ, डण्डीको भाउ बढाएर मिलेमतोमा घटाए स्क्र्यापको मूल्य


विराटनगर। मुख्य कच्चा पदार्थको मूल्य घट्ने तर उत्पादित वस्तुको भने बढ्ने संसारका उद्योगमा कहीँ हुन्छ? यो कुरा नेपालमा भइरहेको छ।

Tata
GBIME
NLIC

सरकारको साथ पाएपछि स्टील उद्योगीले दोहोरो रुपमा कार्टेलिङ गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आडभरोसामा फलामे डण्डीको मूल्य लगातार बढाइरहेका उद्योगीले कच्चा पदार्थको स्क्र्याप भने घटाएको मूल्यमा मात्र लिने निर्णय गरेका छन्।

मन्त्री भण्डारीको साथ पाएपछि जेजति कार्टेलिङ गरे पनि समस्या नपर्ने निष्कर्षसहित स्टील उद्योगीले बजारमा मनोमानी बढाउन थालेका हुन्।

उनीहरुले चैत ७ गते डण्डीको मूल्य किलोमा १ रुपैयाँ बढाएका छन्। चैत ७ गतेको मूल्यवृद्धि पछि फलामे छडको कारखाना मूल्य भ्याटबाहेक किलोमा ९१ रुपैयाँसम्म पुगेको छ।

उनीहरुले कार्टेलिङबाट मूल्यवृद्धिको सुरुवात फागुन २५ गते गरेका हुन्। १२ दिनमा फलामे डन्डीको मूल्य किलोमा ११ रुपैयाँ बढेको छ।

फलामे छडमा पछिल्लो पटक बढाइएको मूल्य धेरै नदेखिए पनि उद्योगीहरुले स्क्र्याप खरिदमा समेत कार्टेलिङ सुरु गरेका छन्। उनीहरुले स्क्र्यापको मूल्य किलोमा ३ रुपैयाँ घटाउँदा प्रति किलो ५५ रुपैयाँभन्दा बढीमा खरिद नगर्ने निर्णय गरेका छन्।

फलामे स्क्र्याप स्टील उद्योगको एक मुख्य कच्चा पदार्थ हो। यसलाई पगालेर अन्य फलामे वस्तुका कच्चा पदार्थ बिलेट बनाइन्छ। फलामे स्क्र्यापको एक मात्र बजार स्टीलका मेल्टिङ उद्योग हुन्। स्क्र्याप व्यवसायीको बाध्यता फाइदा लिन उद्योगीले मिलेमतोमा नै भाउ तय गरेका हुन्।

उद्योग समितिको बैठक। फाइल तस्वीर

मन्त्री भण्डारीले चैत ५ गते संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दिएको अभिव्यक्तिले कार्टेलिङ गर्न उद्योगीको मनोबल बढेको हो। बैठकमा मन्त्री भण्डारीले ‘उद्योगमन्त्रीले उद्योगका पक्षमा नबोले कसका पक्षमा बोल्छ त?’ भन्दै सिमेन्ट र फलामे छडमा गरिएको मूल्यवृद्धि सही भएको बताएका थिए।

बैठकमा निर्माण व्यवसायीले मूल्यवृद्धिको खुलेर विरोध गर्दै नियन्त्रणका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री भण्डारीले समितिलाई निर्देशन दिनबाटै रोकेका थिए।

उद्योगले खरिद गरिदिएनन् भने स्क्र्यापको वैकल्पिक बजार अवैध चोरीनिकासी हो। नेपालबाट स्क्र्याप निर्यात गर्न पाइँदैन। देशभित्र ३ वर्षअघि ६ वटा मात्र मेल्टिङ उद्योग हुँदा यहाँको अधिकांश स्क्र्याप तस्करीबाट भारत पुर्‍याइन्थ्यो। हिजोआज मेल्टिङका १८ उद्योग सञ्चालनमा छन्। यसले गर्दा देशभित्र संकलित स्क्र्याप मेल्टिङ उद्योगलाई कम भइरहेको छ।

स्टील उद्योगीले कार्टेलिङ गर्दै मूल्य किलोमा ३ रुपैयाँ घटाएपछि स्क्र्यापको चोरीनिकासीको सम्भावना बढेको छ।

फागुन २५ मा एकाएक देसैभरि किलोमा ४ रुपैयाँका दरले डण्डीको मूल्यवृद्धि गरियो। यो देखेर स्क्र्याप आपूर्तिकर्ता अब आफूहरुले पनि धेरै भाउ पाउने भइयो भनेर खुसी भए। तर, उद्योगीले स्क्र्यापको मूल्यवृद्धि गर्न मानेनन्।

वीरगञ्ज क्षेत्रका मेल्टिङ उद्योगमा स्क्र्याप आपूर्ति गर्दै आएका एक व्यवसायीका अनुसार उनले फागुन २५ गतेसम्म किलोका ५८ रुपैयाँका दरले फलामे स्क्र्याप मेल्टिङ उद्योगलाई बिक्री गरिरहेका थिए।

‘सामान्यतया स्टील उद्योगले स्क्र्याप खरिद गर्दा फलामे छडको मूल्य हेर्ने प्रचलन छ। जसअनुसार सबैभन्दा कम मोल भएको छडको एक किलो बराबरको मूल्यमा २० रुपैयाँ घटाएर एक किलो स्क्र्यापको मूल्य निर्धारण गर्ने परम्परा छ। फागुन २० गतेसम्म फलामे छडको सबैभन्दा सस्तो मूल्य किलोको ७८ रुपैयाँ थियो। यहीअनुसार उद्योगले किलोको ५८ रुपैयाँमा स्क्र्याप खरिद गरिरहेका थिए,’ उनले भने, ‘डण्डीको भाउ वृद्धिपछि स्क्र्यापको पनि मूल्य बढ्ने विश्वास थियो। तर स्टील उद्योगीले उल्टै ५८ रुपैयाँबाट ५५ रुपैयाँमा झारेका छन्। मन्त्रीको साथ पाएर उनीहरुले दोहोरो कार्टेलिङ गरेका छन्।’

देशभरिका १८ वटै मेल्टिङ उद्योगले किलोको ५८ मा खरिद गरिरहेको स्क्र्यापको मूल्य चैत ६ देखि ५५ रुपैयाँ बनाएका छन्। ‘उद्योगी साथीहरू लोडसेडिङ छ, २४ घण्टामा ६ घण्टाभन्दा बढी हाम्रो उत्पादन छैन त्यसैले तपाइँको स्क्र्यापको मूल्य घटाउनु परेको हो भन्नुहुन्छ। तर, तयारी वस्तुको मूल्यवृद्धि हुँदा कच्चा पदार्थको किन नहुने भन्ने प्रश्न गर्दा हामी सबै उद्योगीको निर्णय नै यही हो भनेर पेल्न खोज्नुहुन्छ,’ स्क्र्यापका एक आपूर्तिकर्ता भन्छन्।

स्पन्ज आइरनको मूल्य पनि घट्दो

स्टीलको मुख्य कच्चा पदार्थ स्पन्ज आइरनको मूल्य पनि घट्दो क्रममा देखिएको छ। साउनदेखि फागुनसम्म ८ महिनाको मासिक आयात अध्ययन गर्दा स्पन्ज आइरनको मूल्य फागुनमा सबैभन्दा सस्तो भएको देखिएको हो।

भन्सार विभागका अनुसार साउनमा ३ अर्ब ७२ करोड ७२ लाख ९१ हजार मूल्यको ८ करोड १७ लाख ५९ हजार २४० किलो स्पन्ज आयात भएको थियो। त्तयतिखेर प्रति किलो मूल्य ४५.५९ रुपैयाँ थियो।

भदौमा ४ अर्ब १ करोड ५५ लाख ६८ हजार मूल्यको ८ करोड ९९ लाख ८० हजार ६४० किलो भित्रिंदा प्रति किलो ४४.६२ रुपैयाँ मूल्य थियो।

कात्तिकमा ३ अर्ब ८६ करोड १५ लाख ३१ हजार मूल्यको ८ करोड २४ लाख ८२ हजार १३० किलो स्पन्ज आइरन आयात भयो। त्यतिखेर प्रति किलो ४६.८१ रुपैयाँ परेको थियो।

साउनदेखि फागुनसम्म आइपुग्दा स्पन्जको मूल्य कात्तिकमा सबैभन्दा महँगो परेको देखिएको छ। मंसिरमा ५ अर्ब १ लाख ६८ हजार रुपैयाँको १० करोड ९८ लाख ८५ हजार ५९० किलो आयात हुँदा प्रति किलो ४५.५० रुपैयाँ परेको थियो।

पुसमा प्रति किलो ४४.८१ रुपैयाँ पर्ने गरी ४ अर्ब ७४ करोड ८४ लाख ७३ हजार मूल्यको १० करोड ५९ लाख ५९ हजार २३० किलो आयात भयो। त्यस्तै माघमा प्रति किलो ४४.८५ रुपैयाँ परेको देखिन्छ। यस महिनामा ४ अर्ब २३ करोड २५ लाख ७९ हजार रुपैयाँको ९ करोड ४३ लाख ७४ हजार ३८३ किलो स्पन्ज आइरन भित्र्याइएको थियो।

फागुनमा सबैभन्दा सस्तो भएको देखिन्छ। यो महिनामा ३ अर्ब ६९ करोड ८३ लाख ४१ हजार मूल्यको ८ करोड ४१ लाख २३ हजार १०० किलो आयात गरिएकामा प्रति किलो मूल्य ४३.९६ रुपैयाँ परेको देखिन्छ।

अब दिनमा २१ टन मात्र

मन्त्री भण्डारीको साथले कार्टेलिङका लागि अझ उत्साही भएका उद्योगीले चैत ६ देखि अर्को अव्यावसायिक परम्परा सुरु गरेका छन्। अब एक हार्डवेयर पसलले दिनमा २१ टन मात्र फलामे डण्डी पाउनेछ।

उद्योगका बिक्री अधिकृतले एक पसललाई दिनको २१ टनभन्दा बढी नदिन उद्योग सञ्चालकको आदेश छ भन्दै सीमित परिमाणमा मात्र डन्डी बिक्री गरिरहेका छन्। उद्योग सञ्चालककै कारण डण्डीको कृत्रिम अभाव सृजना भइरहेको छ।

त्यस्तै हार्डवेयर पसलले भोलि वा पर्सिका लागि आजै सौदा र भुक्तानी गर्न पनि पाइरहेका छैनन्। आज चाहिने डण्डीको सौदा आजै गरेर भुक्तानी पनि आजै गर्नुपर्छ। आज भुक्तानी गरेर भोलि सामान उठाउने हो भने भोलिको मूल्यमा पर्ने फरक रकम जम्मा गर्नुपर्छ।