
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण सुरु हुन अब एक साता पनि बाँकी छैन। आयोजक नेपाल स्पोर्ट्स म्यानेजेमेन्ट प्रतियोगिताको तयारी तीव्र बनाउन जुटेको छ भने क्लबहरु विदेशी खेलाडी र प्रायोजक टुंग्याउन लागि परेका छन्।
यसअघि दुई संस्करण सकेको एनएसएलको यो तेस्रो संस्करण हुन गइरहेको हो। यसअघि पहिलो संस्करणमा खुकुरीले एनएसएललाई प्रायोजन गरेको थियो। दोस्रो संस्करणमा ‘टाइटल स्पोन्सर’ बिनै एनएसएल सम्पन्न भयो। तेस्रो संस्करणमा आएर टेलिकम्युनिकेसन कम्पनी एनसेल प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ। यही वर्ष सम्पन्न क्रिकेटको फ्रेन्चाइज नेपाल प्रिमियर लिगमा पनि पावर्ड बाइ बनेको एनसेल त्यसताका दोस्रो ठूलो प्रायोजक थियो।
एनसेल र एनएसएलबीचको सम्झौता रकम खुलाइएको छैन। यद्यपि यो रकम १ करोड आसपास भएको बुझिएको छ। पावर्डबाइ पार्टनरमा एनसएलले मोटरसाइकल ब्राण्ड हिरो मोटोकर्प नेपाल सँग सम्झौता गरेको छ। हिरोले भारतका दुई शीर्ष लिग इण्डियन सुपर लिग र आई लिग दुवैमा प्रायोजन गरिसकेको छ। नेपालमा हिरोको बिक्रेता चौधरी ग्रुप हो भने एनएसएलको आयोजक कम्पनी नेपाल स्पोर्ट्स एण्ड इभन्ट म्यानेजमेन्ट पनि सोही ग्रुप अन्तर्गतको कम्पनी हो। यसको अध्यक्ष आश्रयता कार्की चौधरी हुन्।
त्यस्तै, हाइड्रेसन पार्टनरमा रिभासँग सम्झौता गरिएको छ। अघिल्लो संस्करणमा केही खेलमा सेरोगेट बेटिङ साइटको पनि प्रायोजन लिएको एनएसएलले यसपाला यसबारे खुलाएको छैन। यद्यपि, केही महिना अघि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएलमा यस्ता विज्ञापनहरु राखिएको थियो।
एनएसएलको तेस्रो संस्करणको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ। त्यस्तै टिकेटिङ पार्टनरमा खल्ती र आईएमई पे छन्।
टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो साझेदारी मार्फतदेशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहने जनाएको छ।
यस संस्करणमा सात टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो सिजन डेब्यु गरेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड ‘ब्याक’ भएका छन्। अन्य केही क्लबहरु प्रायोजन खोज्न बजारमा छन् भने केहीले धमाधम प्रायोजक घोषणा गरिरहेका छन्। अधिकांश क्लबहरुले पुरानै प्रायोजकलाई निरन्तरता दिँदा केहिले आफ्नै माउ कम्पनीको प्रोमोट गरिरहेका छन्।
कुन क्लबले कहाँबाट लगानी जुटाउँदैछन्?
ललितपुर सिटी एफसी
भाटभटेनी सुपर मार्केटको लगानी रहेको ललितपुर सिटी एफसीले बिहीबार जर्सी र प्रायोजक सार्वजनिक गर्यो। साविक विजेता ललितपुरले अधिकांश पुरानै प्रायोजकलाई निरन्तरता दिएको छ।
ललितपुरको मुख्य प्रायोजकमा प्रभु बैंक छ। योसँगै वीवाइडी, पेप्सी, टी१० अलआउटलगायतका प्रायोजक समेत ललितपुरसँग छन्।

अघिल्लो संस्करणमा ललितपुरसँग बीवाइडी, टी १०, प्रभु बैंक, अन्नपूर्ण, अल्फिनो, ३६१, नमस्ते पे, युनाइटेड अजोड इन्स्योरेन्स, सिटी एक्सप्रेस, इन्फिनिटी, पेपे पिज्जा, युनाइटेड बिजनेस होटल, घान्द्रुक, रेनेस, जस्मिन, मिस्टर मसल र करेन्ट चाउचाउ लगायतका प्रायोजक थिए।
धनगढी एफसी
धनगढी एफसीले यो संस्करणमा माइ सेकेन्ड टिचरलाई मुख्य प्रायोजक बनाएको छ। त्यस्तै हस्पिटालिटी पार्टनरमा सिद्धार्थ हस्पिटालिटी, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी र ट्राभल पार्टनरमा राइकासँग सम्झौता गरेको छ। त्यस्तै, सगरमाथा सिमेन्टले पनि यसमा प्रायोजन गर्नेछ।
क्रिकेटर दीपेन्द्रसिंह ऐरी धनगढीको ब्राण्ड एम्बास्डर छन्।

अघिल्लो संस्करणमा जस्तै धनगढी एफसीले प्रायोजकको राम्रो साथ पाएको देखिन्छ। हाइगर, माइ सेकेन्ड टिचर, सगरमाथा सिमेन्ट, एसपीए कलेज, ब्रेड बक्स, हिमालयन बैंक, राइका, दिपेश इन्फोसिस र रोयल सुट हाउस उसका प्रायोजक हुन्। हाइगर धनगढीको मुख्य प्रायोजक थियो।
धनगढी यसअघिका दुवै संस्करणमा उपविजेता बनेको थियो।
झापा एफसी
अघिल्लो संस्करणमा नेपाल बाहिरका प्रायोजक बनाएको झापाले यसपटक केही नेपाली प्रायोजकहरुको घोषणा गरेको छ।
झापाको बैङकिङ पार्टनरमा हिमालयन बैंक, स्टाइल पार्टनरमा सुइट ल्याण्ड, क्लब पार्टनरमा सिड्नीको बेनी एफसी, किट पार्टनरमा जी स्पोर्ट्स, एकेडेमिक अलायन्समा ह्वाइटहाउस वर्ल्ड स्कुल लगायत छन्। झापाले सञ्चारकर्मी टीकाराम यात्रीलाई गुडविल एम्बास्डर बनाएको छ। त्यस्तै मोफसलको प्रतिष्ठित प्रतियोगिता झापा गोल्डकप झापाको साझेदार हो।
झपाको मार्की खेलाडीमा लाकेन लिम्बू छन्।

अघिल्लो संस्करणमा झापाले दुबईको फिरेन्जे फ्लोरा, कतारको टुलु फ्लोरा, अमेरिकाको डल्लास गुर्खाज, मुजुरी फार्म केन्या, आरटीएफसी मलेसिया, थिंक पोजेटिभ कतार, फ्लोर्का हल्याण्ड, बिन टाक्विप एण्ड फ्लोर्का साउथ अफ्रिका र रे प्रोपर्टिज अस्ट्रेलिया झापा एफसीका विदेशी प्रायोजक बनाएको थियो।
काठमाडौं रेजर्स
काठमाडौं रेजर्सको नाममा नै यामाहाको स्कुटरको मोडलको नाम छ। अर्थात यसमा स्पष्ट छ काठमाडौं रेजर्स अर्थात यामाहा। यसपटक पनि काठमाडौं रेजर्सको मुख्य प्रायोजक यामाहा नेपाल छ।
काठमाडौंको को स्पोन्सरमा अग्नी ग्रुपको महिन्द्रा नेपाल, एसोसिएट पार्टनरमा अर्घखाँची सिमेन्ट, इन्स्युरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हस्पिटालिटी पार्टनरमा दुसित प्रिन्सेस र ट्रान्सपोर्टेसन पार्टनरमा आइसर ट्रक्स एण्ड बसेस छन्।
सम्बन्धित समाचार: काठमाडौं ओर्लिँदै विदेशी फुटबलर, युरोपका अनुभवीदेखि नेपाली फुटबल बुझेका को कता?
बुटवल लुम्बिनी एफसी
बुटवल लुम्बिनी एफसीले हासम्म एउटा मात्र प्रायोजक घोषणा गरेको छ। हालसम्म करेन्ट चाउचाउमात्र बुटवलको प्रायोजकमा छ। अघिल्लो संस्करणमा पनि करेन्ट बुटवलको मुख्य प्रायोजक थियो। करेन्टले बुटवल सँगसँगै च्याम्पियन ललितपुरलाई पनि सामान्य प्रायोजन गरेको थियो।

अघिल्लो संस्करणमा बुटवल लुम्बिनीको प्रायोजकमा पशुपति शिवाजी, एसियन कन्क्रेटो, बानुज फिटनेस, मोड २३, अकामा होटल, बेदालय, रुटिन अफ नेपाल बन्द लगायतका प्रायोजक थिए।
पोखरा थण्डर्स
पोखरा थण्डर्सले यसपाला पनि मुख्य प्रायोजक शिखर इन्स्योरेन्सलाई बनाएको छ। त्यस्तै हस्पिटालिटी पार्टनरमा डिज बुटिक होटल छ। लक्ष्मी ग्रुप र हुण्डाइले यसपाला पनि निरन्तरता पाउँदा जी स्पोर्ट्स, एमटी ६३ लगायतका ब्राण्डहरु पोखरासँग जोडिएका छन्।
पोखराको मार्की खेलाडीमा समीर तामाङ छन्।
अघिल्लो संस्करणमा पोखरा थन्डर्ससँग हुन्डाइ नेपाल, शिखर इन्स्योरेन्स, सफल मिल्क, समृद्धि स्टिल, एसएमएल इसुजु, गुडविल फाइनाइन्स लगायत पोखराको प्रायोजक थिए।
एफसी चितवन
आईएमई ग्रुपको एफसी चितवनले पहिलो संस्करणबाटै आफ्नै मातृकम्पनी आईएमईको जर्सीमा प्रोमोट गर्दै आएको छ। यससंस्करणका लागि चितवनले कुनै प्रायोजन सम्झौताबारे खुलाएको छैन। नेपाली टोलीका स्टार स्ट्राइकर अञ्जन बिस्टलाई झापा एफसीबाट ल्याएर मार्की बनाएको चितवनले विदेशी खेलाडी भित्र्याउँदै टीमलाई सन्तुलित बनाउन जोड दिइरहेको छ।
अघिल्लो संस्करणमा एफसी चितवनले लुक्ला आउट डोर, आईएमई, आईएमई पे, सनी सेक्युरिटिज, जी एमई अम्बे स्टिल लगायतलाई प्रायोजकको रुपमा भित्र्याएको थियो।