क्यान विभाजनको विरोधमा कर्मचारी, विधेयक फिर्ता लिन माग गर्दै सबै कार्यालयमा टाँगियो ब्यानर

बिजमाण्डू
२०८१ चैत्र १० गते १२:०२ | Mar 23, 2025
क्यान विभाजनको विरोधमा कर्मचारी, विधेयक फिर्ता लिन माग गर्दै सबै कार्यालयमा टाँगियो ब्यानर

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन गर्ने सरकारी तयारीप्रति कर्मचारी विरोधमा उत्रिएका छन्।

Tata
GBIME

क्यानको आधिकारिक ट्रेड युनियनको अगुवाइमा कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। कर्मचारीहरुले विरोधस्वरुप आइतबारबाट कालोपट्टी बाँधेका छन्। क्यानका सबै कार्यालयमा कर्मचारीले विधेयक फिर्ता लिन माग गरिएको ब्यानर राखेका छन्। कर्मचारीले सेवा भने प्रभावित पारेका छैनन्।

ट्रेड युनियनका अध्यक्ष इन्जिनियर सुभाष कोइरालाले मन्त्रीबाट कुनै जवाफ नआएका कारण बाध्य भएर विरोधमा उत्रिएको बताए।

‘हामीले पर्यटनमन्त्री ज्यूलाई गत ज्ञापनपत्र बुझाएका थियौं। तर अहिलेसम्म कुनै जवाफ आएन। त्यही भएर आजबाट विरोध सुरु गरेका हौं,’ कोइरालाले भने।

सरकारले क्यानलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा विभाजन गर्ने गरी दुई अलगत विधेयक गत माघ १९ गते संसद्‍मा दर्ता गराएको थियो। क्यानका कर्मचारी भने कुनै हालतमा विभाजन गर्न नहुने पक्षमा छन्।

सेवा प्रदायक र नियामकको रुपमा टुक्र्याउँदा क्यान कमजोर हुने कर्मचारीहरुको भनाइ छ। ‘क्यानमा सुधार गर्न सकिने ठाउँ छन्। हवाइ सेवा प्राधिकरण गठन गर्दा आम्दानी खोसिएर क्यानको नियामकीय भूमिका कमजोर हुन जान्छ,’ कोइरालाले भने, ‘क्यानको नियमन कमजोर बनाउने खेल हामीलाई स्वीकार्य छैन।’