
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) नजिकिँदै गर्दा क्लबहरुले धमाधम विदेशी खेलाडी अनुबन्धन गरिरहेका छन्। ‘ए’ र ‘बी’ समूहको अक्सन र ‘सी’ समूहको ड्राफ्टपछि क्लबहरुको नेपाली खेलाडीको टुंगो लागिसकेको छ। स्थानीय खेलाडी पनि लगभग टुंगिएको अवस्थामा छ।
यस्तोमा क्लबहरुको नजर विदेशी खेलाडीमा छ। एनएसएलका यसअघिका संस्करणमा मात्र नभएर शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पनि थोरै संख्यामा भए पनि विदेशी खेलाडीको उपस्थितिले खेलको नतिजामै प्रत्यक्ष प्रभाव पारेको देख्न सकिन्छ। विभागीय टोलीहरुले समेत विदेशी खेलाडीमा निर्भता बढाउनुले विदेशी खेलाडीमा महत्व नेपाल फुटबलमा देखाउँछ। अझ एनएसएल विदेशी खेलाडीलाई लिएर थप उदार छ।
एनएसएल खेल्ने विदेशी खेलाडीमा युरोपेली शीर्ष डिभिजन खेलेका खेलाडीदेखि नेपाली र दक्षिण एसियाली फुटबल बुझेका खेलाडीसम्म छन्। केही त संन्यास फिर्ता लिएर पनि एनएसएल खेल्न आएका छन्।
विदेशी प्रशिक्षकलाई धेरै विश्वास गरेका क्लबहरुको कस्ता खेलाडी अनुबन्धन गर्दैछन्?
पुरानै विदेशी खेलाडीमा धनगढीको विश्वास
एनएसएलका यसअघिका दुवै संस्करणको फाइनल खेलेको धनगढी एफसीले पुरानै विदेशी खेलाडीमा विश्वास गरेको छ। धनगढीको प्रदर्शनमा अघिल्लो संस्करण पनि प्रभावशाली बनेका नाइजेरियाका अफीज ओलवाले र लेवनानी फर्वाड अहमद हिजाजीलाई अनुबन्ध गरेको छ।

यी बाहेक धनगढीले मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनीलाई तेस्रो विदेशी खेलाडीका रुपमा भित्र्याएको थियो।
चौथो विदेशी खेलाडीका रुपमा स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध गरेको छ।गोलकिपर वालिदले गत सिजन फिलिपिनो लिगको उपाधि जितेका थिए। उनले फिलिपिनो लिगमा सर्वाधिक क्लिन-सिट राख्दै काया एफसीलाई उपाधि दिलाएका थिए।
धनगढीले प्रशिक्षकमा स्पेनका यूईएफए प्रो लाइसेन्स प्राप्त जुआन म्यानुअल मार्टिनेजलाई अनुबन्ध गरेको छ।
अक्सनमा धनगढीले १९ लाख ९० हजार खर्चिएर २ लाख १० हजार उबारेको थियो। क्रितिश रत्न छुन्जु मार्की रहेको यो टोलीमा ‘ए’ समूहका देवेन्द्र तामाङ, पासाङ लामा र विवेक पौडेल छन्। त्यस्तै ‘बी’ समूहका रन्दीप पौडेल, रामचन्द्र वाजी, जर्ज प्रिन्स कार्की, प्रशान्त लक्ष्यम, अशोक थापा र जियारथ शेख छन्। ‘सी’ समूहमा अमृत श्रेष्ठ, रोहन खड्गी, हरिषराज बठिट्टा र सन्तोष महत छन्।
आक्रामक अनुबन्धनमा साबिक विजेता ‘लाखे’
एनएसएलको साबिक विजेता ललितपुर सिटी अक्सनदेखि नै आक्रमक हिसाबले अघि बढिरहेको छ।
अक्सनमा ललितपुरले पर्स लिमिटभन्दा २५ हजारमाथि गएर २२ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो। उसले सबैभन्दा धेरै मणिकुमार र सन्तोषलाई ४/४ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
अक्सनमा ललितपुरले ‘ए’ समूहका सनिष श्रेष्ठ र ‘बी’ समूहका आदित्य शाक्यलाई रिटेन गरेको थियो।

सनिषसँगै ललितपुरसँग ‘ए’ समूहका सन्तोष खत्री र मणिकुमार लामा तथा ‘बी’ समूहका सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र समित श्रेष्ठ छन्।
त्यस्तै ‘सी’ समूहमा मनोज राई, पवन शाही, दीपेश घले र अनिश क्षेत्री ललितपुरमा ड्राफ्ट भएका छन्। ललितपुरका प्रशिक्षकमा एस्टोन भिल्ला, लेस्टर सिटीजस्ता क्लबबाट खेलिसकेका युईएफए प्रो लाइसेन्स प्राप्त साइमन ग्रेसन छन्। प्रशिक्षकका रुपमा उनले लिड्स युनाइटेडलाई दोस्रो डिभिजनमा उकालेका थिए।
ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए। उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो।
ललितपुरमा मार्की खेलाडीमा भने अनन्त तामाङले नै निरन्तरता पाएका छन्।
विदेशी खेलाडीमा ललितपुरले प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना, हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट जस्ता खेलाडी छन्।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ। त्यसैगरी हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। दबाबको स्थितिमा पनि ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्त्वपूर्ण खेलाडी हुनेछन्।
भुटानी रोनाल्डोका नामले चिनिने चेन्चो ग्याल्चेनले पनि ललितपुरबाट लिग खेल्नेछन्। भारतमा प्रभाव जमाएका उनको राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन रहँदै आएको छ। त्यस्तै गोलकिपरमा जेफ्रे बाल्टुसलाई निरन्तरता दिएको छ।
त्यस्तै, सेनेगलका डिफेण्डर पापे अब्दुलाह देकिते पनि नेपाल आइपुगेका छन्। ३२ वर्षे देकितेले आफ्नो फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबहरूमा बिताएका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिगहरूमा खेलेका छन्। बेल्जियमको दोस्रो र तेस्रो श्रेणीको लिग खेलेका पापेले एसियामा भियतनामको शीर्ष श्रेणीको लिग भि१ लिग समेत खेलेका छन्।
देकितेले गत वर्ष भारतको केरलाको सुपर केरला लिगमा क्यालिकट एफसीबाट खेलेका थिए।
फेरिएको झापा एफसी
झापा एफसीको अघिल्लो संस्करणमा इन्ट्री प्रभावशाली रहेन। यस्तोमा परिवर्तन अपरिहार्य भन्दै झापाले लोगोदेखि लिएर सबै कुरा परिवर्तन गरेको छ। झापाका मार्की खेलाडीदेखि प्रशिक्षकसम्म फेरिएका छन्। छिरिङ लामालाई मात्र झापाले यसपाला रिटेन गरेको थियो। त्यस्तै अर्का खेलाडी लाकेन लिम्बू मार्की खेलाडी छन्।
झापासँग ‘ए’ समूहका आशिष गुरुङ र एक एनआरएन खेलाडी छन्। त्यस्तै, ‘बी’ समूहका अविनाश स्याङ्तान, दीपेश धिमाल, अञ्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विके र उज्वल राई छन्। ‘सी’ समूहबाट सृजन दानी, एरोन थापा, श्याम मुर्मु र अभिषेक गुरुङ झापा पुगेका छन्।
झापाले विदेशी खेलाडीका रुपमा मोहम्मद इसाइभलाई अनुबन्धन गरेको छ। त्यस्तै, सर्वियन फुटबलर लेजर आर्सिच पनि झापामा अनुबन्धित भएका छन्।

झापा एफसीले आफ्नो टोलीलाई अझ सशक्त बनाउने क्रममा अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरोलाई अनुबन्ध गरेको छ। यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनमा खेलेका छन्। विशेषगरी, स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।
बुटवल लुम्बिनी एफसी
एनएसएल अक्सनमा सबैभन्दा कम खर्च गर्ने टोली बनेको थियो बुटवल लुम्बिनी एफसी। बुटवलले एरिक विष्ट, प्रदीप लामा र दीप कार्कीलाई ‘ए’ समूहबाट लिँदा कसैमा उच्चतम ४ लाख खर्चिएन। बुटवलको मार्की खेलाडीमा मनिष डाँगी छन् भने प्रशिक्षकमा पुष्पलाल शर्मा छन्। बुटवलले १७ लाख ५० हजार रुपैयाँ खर्च गर्दा ४ लाख ५० हजार रुपैयाँ उबार्यो।
बुटवलसँग ‘बी’ समूहका निराजन धामी, सरोज तामाङ, फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्रसिंह थापा र सन्दीप कार्की छ। त्यस्तै ‘सी’ समूहका सुमन श्रेष्ठ, निङसाङ लिम्बू, खेमराज श्रेष्ठ र मनिष सेढाइ बुटवलमा ड्राफ्ट भएका छन्।
बुटवलले विदेशी खेलाडीमा अनुभवी र पुराना खेलाडीलाई प्राथमिकता दिएको छ।
वेस्टहम युनाइटेडको एकेडेमीबाट करियर सुरु गरेका डिफेन्डर नाथन माभिला बुटवल पुगेका छन्। जोर्डनमा छँदा आफ्नो टोली अल-फैसलीलाई च्याम्पियन बनाएका उनी डिफेन्स र आक्रमण दुवैमा राम्रो गर्नसक्ने खेलाडी हुन्।

त्यस्तै स्कटल्याण्डका अनुभवी मिडफिल्डर फ्रयाङ रोसलाई पनि बुटवलले अनुबन्ध गरेको छ। युरोप र अमेरिकाको शीर्ष लिगहरुमा अनुभव बटुलिसकेका उनले स्कटल्याण्डलाई प्रतिनिधित्व गरिसकेका छन्।
जापनी स्ट्राइकर केन्ता हारालाई पनि बुटवलले अनुबन्धित गरेको छ। एसिया र युरोपका लिगको अनुभव बटुलिसकेका उनी बुटवलको अट्याकिङमा महत्त्वपूर्ण बन्न सक्छन्। त्यस्तै इङ्ग्ल्याण्डका अनुभवी सेन्टर ब्याक एडम मिट्टर संन्यास फिर्ता लिएर बुटवलमा अनुबन्धन भएका छन्। त्यस्तै, नाइजेरियाका इजेकेल तमारा पनि बुटवलमा अनुबन्धित छन्।
काठमाडौं रेजर्स
पहिलो संस्करणको एनएसएल च्याम्पियन काठमाडौं रेजर्सले जारी संस्करणमा प्रभावशाली विदेशी खेलाडीलाई अनुबन्धनमा जोड दिएको छ। यसको उदाहरण हो फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएल्लोसँगको सम्झौता। फ्रेन्च लिगवान र जर्मन बुण्डेस लिगा खेलिसकेका उनी एनएसएल खेल्ने नेपाल आइसकेका छन्। २९ वर्षे उनले फ्रान्सको राष्ट्रिय टोलीबाट उमेर समूहमा खेलिसकेका छन्।
त्यस्तै, सिएर लिओनका फर्वाड मोहम्मद बुयाले पनि काठमाडौंबाट एनएसएल खेल्दैछन्। २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले १७ क्याप जित्दै ३ गोल गरिसकेका छन्।
यस संस्करणमा काठमाडौंको मार्की खेलाडी रोहन कार्की छन्। ‘ए’ समूहका दीपेश गुरुङ तथा ‘बी’ समूहका कुलदीप कार्की र अभिषेक बराललाई रिटेन गरेको काठमाडौंसँग ‘ए’ समूहका दिनेश हेन्जन तथा ‘बी’ समूहका आशिष चापागाइँ, कमल श्रेष्ठ, दिवाकर चौधरी र अञ्जल महर्जन छन्। ‘सी’ समूहका भरत चौधरी, मौसम लुङ्गेली मगर, पुष्कर खड्का र पेम्बा दोर्जे लामा काठमाडौंमा ड्राफ्ट भएका छन्।

काठमाडौंले अक्सनमा २१ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो। उसले दिनेश र जिलेस्पी जंगलाई भित्र्याउन ४/४ लाख रुपैयाँ खर्चिएको थियो।
अझै लय खोज्दै एफसी चितवन
एनएसएलको सुरुवाती दुई संस्करणमा प्रभावशाली प्रदर्शन गर्न नसकेको चितवनले यसपाला प्रशिक्षकदेखि मार्की खेलाडीसम्म परिवर्तन गरेको छ। अघिल्लो संस्करण खेलेका घानाका टोरिक जेब्रिनलाई फेरि अनुबन्धित गरेको चितवनले एसियादेखि अमेरिकासम्मका खेलाडीलाई ल्याएको छ।
उज्बेकिस्तानका युवा खेलाडी नोदिरबेक माभलोनोभ यसपाला चितवनबाट एनएसएल खेल्नेछन्। उनले एसियाका शीर्ष डिभिजनहरुमा खेलिसकेका छन्। त्यस्तै, अमेरिकी डिफेन्डर जोनाथन क्याम्पबेल पनि चितवनमा अनुबन्धित भएका छन्।
गोलकिपरमा जमैकाका अमल नाइट अनुबन्धित भएका छन्। राष्ट्रिय टोलीको समेत अनुभव बटुलेका उनको जमैका र अमेरिकाका लिगमा अनुभव छ। राष्ट्रिय स्तरमा भरपर्दा गोलकिपर विशाल श्रेष्ठ पनि चितवनसँग छन्।
अक्सनमा चितवनले २१ लाख ५० हजार खर्चिएको थियो।
अक्सनअघि चितवनले ‘ए’ क्याटागोरीका विशाल श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ गुरुङ र रोशन रानामगरलाई रिटेन गरेको थियो।
विशालसँगै ‘ए’ क्याटागोरीका अभिषेक लिम्बू र सुमित श्रेष्ठ तथा ‘बी’ क्याटागोरीका छिरिङ र रोशनसँगै निरज चौधरी, मिलन राई, शिशिर लेखी र जय गुरुङ चितवनसँग छन्। ‘सी’ क्याटागोरीबाट चितवनले विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङतान र प्रदीप भण्डारीलाई अनुबन्ध गरेको थियो।
पोखरा थण्डर्स
विदेशी खेलाडी अनुबन्धनमा नहतारिएको टोली हो पोखरा थण्डर्स। अन्य टोलीका विदेशी खेलाडी नेपाल आएर अभ्यास पनि सुरु गरिसक्दा पोखराले एकमात्र विदेशी खेलाडीको घोषणा गरेको छ। उनी हुन्: क्यामरुनका स्टेफेन बिनोङ।
नेपालमा रहेर लामो समययता फुटबल खेल्दै आएका उनी नेपाली फुटबल र खेलाडीलाई नजिकबाट चिन्ने विदेशी खेलाडी हुन्। यसबाहेक पोखराले अन्य विदेशी खेलाडीको आधिकारिक घोषणा गरेको छैन।
एनपीएल अक्सनमा बुटवलपछि कम खर्च गर्ने टोली रह्यो पोखरा थण्डर्स। उसले १७ लाख ७५ हजार रुपैयाँ खर्चँदा ४ लाख २५ हजार रुपैयाँ उबार्यो। पोखराले ‘ए’ समूहमा आयुष घलान, सुरज सिंह ठकुरी र एनआरएन ‘ए’का खेलाडीलाई लिने निर्णय गर्यो। त्यस्तै ‘बी’ समूहका पदम भट्टराई, राम थापा, चन्दन दास, विशाल तामाङ, कृसल मोक्तान र एकराज बुढाथोकी पोखरा पुगेका थिए। अक्सनमा अनसोल्ड भएक नवयुग श्रेष्ठले ‘बी’ श्रेणीका राम थापालाई रिप्लेस गर्न पनि चर्चा छ।
‘सी’ समूहबाट नरेन चौधरीलाई पोखराले रिटेन गर्दा गौरव श्रेष्ठ, सकल रेग्मी र प्रवीणकुमार सुनार पोखरामा ड्राफ्ट भए।
पोखराका मार्की खेलाडीमा समीर तामाङ र प्रशिक्षकमा सुविन घिमिरे छन्।