
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाएका बैंकहरु नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेका छन्।
नबिल र एनआइसी एसिया बैंक तथा कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएका छन्।
एनआइसी एसिया र नबिल बैंकले ५/५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नका लागि निवेदन दिएका छन्। दुवै बैंकले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेका छन्।
त्यस्तै, कामनाले सेवा विकासले ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति मागेको छ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरे पश्चात पुँजीकोष बढेर व्यवसाय विस्तार गर्न सहज हुने बैंकहरुको अपेक्षा छ।
तर, बैंकहरुको निवेदनमा सेबोनले निर्णय गरेको छैन। ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर कारोबारमा आउने भनिएको छ। तर, सूचीकृत अवधि तोकिएको छैन। त्यही कारण हामी अध्ययनमै छौं,’ सेबोनका एक अधिकृतले भने।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष बलियो बनाउन हकप्रद सेयरको विकल्पको रुपमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था गरेको थियो।
‘हामीले गरेका व्यवस्था र सर्त पूरा गरेकाहरुलाई अग्राधिकार सेयरको स्वीकृति दिइएको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले भने, ‘त्यसैले हामीले स्वीकृति दिएकामा कुनै समस्या छैन। सेबोनको कानूनी व्यवस्थामा केही फरक भए छलफल गर्न सकिन्छ।’