कीर्तिपुरमा देखिएको कमजोरी युगाण्डामा सुधार्ने नेपालको लक्ष्य, फिल्डिङ र फिटनेसमा जोड

मुकुन्द घिमिरे
२०८१ फागुन २१ गते १३:२३ | Mar 5, 2025
कीर्तिपुरमा देखिएको कमजोरी युगाण्डामा सुधार्ने नेपालको लक्ष्य, फिल्डिङ र फिटनेसमा जोड
ट्रेनिङमा नेपाली महिला टोली। तस्बिर : क्यान


काठमाडौं। गत माघमा नेपाली महिला क्रिकेट टोलीले त्रिदेशीय टी-२० सिरिज खेल्यो। थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान ३/३ गरी कुल ६ खेल खेल्दा नेपालले एउटा पनि जित निकाल्न सकेन।

Tata
GBIME
NLIC

एसोसिएटमा बलिया यी दुई टोलीविरुद्ध खेल्दा एकातर्फ नेपाल घरेलु मैदानमै जितविहीन बन्यो भने अर्कोतर्फ नेपाली टोलीका कमजोरी र आन्तरिक मतभेदहरू पनि सतहमा आए।

यही टोली अब मार्च ८ बाट सुरु हुने चार देशीय टी-२० सिरिज खेल्न युगाण्डा जाँदैछ। यो सिरिजमा नेपालसहित युगाण्डा, हङकङ र नामिबिया हुनेछन्।

आईसीसीको टी-२० वरीयतामा नेपाल २१ औँ स्थानमा रहँदा यो सिरिज खेल्ने हङकङबाहेक सबै टोली नेपालभन्दा माथि छन्। हङकङ नेपालभन्दा ठीक पछाडि २२ औँ स्थानमा छ। सबैभन्दा माथि १७ औँ स्थानमा नामिबिया छ। त्यस्तै १८ औँ स्थानमा युगाण्डा छ।

‘अस्तिको सिरिजमा पनि हामीले राम्रो टोलीसँग खेल्न पाएका थियौँ। अहिलेको सिरिजमा पनि राम्रा टोलीहरू छन्। यसले विश्वकप छनोटका लागि राम्रो अभ्यास हुने सिरिज हुन्छ जस्तो लाग्छ,’ नेपाली टोलीका प्रशिक्षक मनोज कटवालले क्यानको भिडियोमा भनेका छन्।

नेपाली टोलीको नेट अभ्यास। तस्बिर: क्यान

कटवालले नेपालको लक्ष्य यो सिरिज जित्ने भएको बताएका छन्। तर नेपाललाई आफ्नो कमजोरीमा काम गर्न ढिला भइसकेको संकेत गएको सिरिजले देखाइसकेको थियो। उनले यसमा काम गरेर सुधार ल्याएको बताउँछन्।

उनी थाइल्याण्ड र नेदरल्याण्डजस्तो नामिबिया र युगाण्डा बलियो टोली नभएकाले नेपालको सिरिजमा दाबेदारी हुने बताउँछन्।

‘हामीले सिरिज जित्छौँ भनेर आशा राख्न सकिन्छ,’ उनले भने।

गएको सिरिज बलिया विपक्षीविरुद्ध भए पनि नेपालको दुई मुख्य कमजोरी मैदानमा देखिएको थियो। पहिलो, खेलाडीको फिटनेस र दोस्रो फिल्डिङ।

यसैलाई मध्यनजर गर्दै महिला टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतबाट फिटनेस ट्रेनर पनि ल्याइसकेको छ। त्यस्तै, टोलीका प्रशिक्षक मनोज कटवालले फिल्डिङमा काम गरेको र सँगसँगै ब्याटिङ र बलिङको स्तर पनि माथि गएको दाबि गरेका छन्।

नेपाली महिला टोलीसँग प्रशिक्षक। तस्बिर: क्यान

‘ओपननेटमा र नेटमा पनि राम्रो अभ्यास भएको छ। फिटनेस ट्रेनर आउनु भएको छ। उहाँले यू-१९ सँग पनि काम गरिरहनु भएको छ,’ कटवालले भने, ‘ब्याटिङमा खुलेर खेल्न थालेका छन्। पावर हिटिङ पनि राम्रो भइरहेको छ। फिल्डिङ बेटर भएको छ।’

नेपाली टोलीले पछिल्ला ८ खेलमा जित निकाल्न सकेको छैन। महिला एसिया कपमा यूएईलाई हराएयता नेपालले जित निकाल्न सकेको छैन। यसपालाको टोलीमा यू-१९ खेलाडीको उपस्थिति पनि राम्रो छ। यसले टिमलाई थप सशक्त बनाउने उनले दाबी गरेका छन्।

‘ब्याटिङ हाम्रो राम्रै छ। सुधार गर्नुपर्ने पक्ष भनेको फिल्डिङ हो। ब्याटिङमा पहिलो पावर प्लेलाई कसरी प्रयोग गर्ने भन्ने मुख्य विषय छ। यसका लागि पावर हिटिङ गराइरहेका छौँ,’ उनले भने, ‘बलिङमा भेरिएसनहरू धेरै छन्। पहिला बलरले सिधा बलमात्र गर्ने ट्रेन्ड थियो। अहिले स्लोअर बलहरू, क्वाटरहरू प्रयोग गर्न सुरु गरेका छन्।’

नेपाली टोलीमा यसपटक सीता राना मगर, मनिषा उपाध्याय, कविता कुँवरजस्ता प्रभावशाली खेलाडी छैनन्। तर ७ जना यू-१९ खेलाडी छन्।

अभ्यासमा नेपाली खेलाडी। तस्बिर; क्यान।

यही वर्ष ऐतिहासिक विश्वकप खेलेर फर्किएका यू-१९ खेलाडीको उपस्थितिले नेपाली टोलीलाई थप सन्तुलित बनाउने विश्वास प्रशिक्षकको छ। सना प्रविन र रिया शर्माले पहिलो पटक टोलीमा स्थान बनाएका छन्।

‘हाम्रो क्याम्पमै यू-१९ बाट ७ जना खेलाडी हुनुहुन्छ। यो टोली सिनियर र जुनियरको मिक्स टोली छ। यसले सन्तुलित टोली बनिएको छ भन्ने लाग्छ,’ उनले भने।

नेपालले मार्च ८ मा नामिबिया, मार्च ९ मा युगाण्डा, मार्च १० मा हङकङ, मार्च १२ मा नामिबिया, मार्च १३ मा युगाण्डा र १४ मा हङकङसँग खेल्नेछ। लिग चरणमा शीर्ष दुईमा रहने टोलीले मार्च १६ मा फाइनल खेल्नेछन्।

नेपाली टोली

इन्दु वर्मा (कप्तान), विन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, एलिसाकुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीण, इश्वरी बिस्ट