
काठमाडौं। सेयर बजारले आइतबार छलाङ हानेको छ। नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत केही लचकता अपनाएको दुई कारोबार दिनमै नेप्से १२४ अंकले बढेको हो। आइतबार म्युचुअल फण्डबाहेकका सबै उपसमूहले नेप्से बढाएका हुन्। उत्पादनमूलक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। यो उपसमूहको सूचक ४.७९ प्रतिशतले उकालो लागेको हो।
हिमालयन डिस्टिलरी लगायत पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बजारमा १९६ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
समाज लघुवित्तको सेयर मूल्य भने सर्किट लागेर घटेको छ। समाज लघुवित्तले शनिबार ग्रामिण विकास लघुवित्तसँग मर्जरको सम्झौता गरेको थियो।
बजारमा १४ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। अर्को पुनर्बीमा कम्पनी हिमालयन रि-इन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
नेप्सेमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैंकिङ सूचक २.५३ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले फागुन १३ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकहरुको असल कर्जाको प्रोभिजनिङ १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको थियो भने विदेशी मुद्रा सञ्चितिको सीमा ५ प्रतिशत पुर्याएको थियो। यो व्यवस्थाले वाणिज्य बैंकहरुलाई थप करिब ३० अर्ब रुपैयाँ लगानीको स्पेस बनेको छ भने मुनाफा ५ अर्ब रुपैयाँ हाराहारी बढ्ने अनुमान छ।
मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबार दिन १५ गते नेप्से ४९.१५ अंकले बढेको थियो।
त्यसो त नेप्से फागुन ४ गतेदेखि लगातार बढिरहेको छ। फागुन १ गते ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा रहेको नेप्से ४ गतेदेखि निरन्तर उकालो लागेकाले ९ कारोबार दिनमा २०० अंकभन्दा धेरैले बढेको छ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने दिन कुरिरहेको बजार राष्ट्र बैैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाले सकारात्मक भएको जानकारहरू बताउँछन्।
‘बजारमा पहिले नै तरलता राम्रो थियो। बढ्ने बहाना चाहिएको थियो। राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले त्यसलाई सपोर्ट गर्यो,’ प्रभु क्यापिटलका सौगात पन्तले भने।
बैंकहरुसँग लगानीयोग्य रकम फालाफाल छ। कर्जाकै ब्याजदर एकल अंकमा छ। सस्तो ब्याज र तरलता बजारका लागि अनुकूल मानिन्छन्।
विश्लेषक अनलराज भट्टराई अन्य क्षेत्रमा कर्जाको बढ्न नसकेका कारण लगानीकर्ताहरु सेयर बजारमा केन्द्रित हुँदा नेप्से निरन्तर उकालो लागेको बताउँछन्।
‘अन्य क्षेत्रमा अझै पनि आर्थिक गतिविधि बढ्न सकेको छैन। त्यसैले लगानीकर्ता सेयर बजारमा पैसा खन्याउन थालेका हुन्। ब्याजदर निक्कै सस्तो रहेकाले सेयरबाट पैसा कमाउन सक्ने बुझाइमा लगानी बढेको हो,’ उनले भने, ‘बजारले उत्साह खोजेको थियो। मौद्रिक नीतिको समीक्षा एउटा कारण बनिदियो। बजार अब उकालो लाग्ने नै देखिन्छ।’