मौद्रिक नीतिमा लचकतापछि सेयर लगानीकर्ताले गभर्नरलाई देखाए हरियो झण्डा, वाणिज्य बैंकमा बहार

सुनिल कुँवर
२०८१ फागुन १५ गते २१:२९ | Feb 27, 2025
मौद्रिक नीतिमा लचकतापछि सेयर लगानीकर्ताले गभर्नरलाई देखाए हरियो झण्डा, वाणिज्य बैंकमा बहार


काठमाडौं। नेप्से परिसूचक बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुग्यो। सेयर बजारले ६ महिना अघिको उचाइ लियो। बजार यसअघि भदौ १८ गते २८३० अंकमा थियो।

Tata
GBIME
NLIC

बिहीबारको उछाललाई बैंकहरुको नाफा बढ्ने गरी नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीतिको परिणामका रूपमा लिइएको छ।

राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकहरुको असल कर्जाको प्रोभिजनिङ १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको छ। खराब कर्जा वृद्धिले दबाबमा रहेका बैंकहरुको नाफा राष्ट्र बैंकको नीतिले बढ्ने भएपछि त्यसको असर बजारमा देखिएको हो।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली बैंकिङ क्षेत्रले अब राम्रो गर्छ भन्ने लगानीकर्तामा परेका कारण बजारमा त्यसको प्रभाव देखिएको बताए।

‘मौद्रिक नीतिको समीक्षाले बैंकहरुको स्थितिमा सुधार आउँछ भन्ने लगानीकर्तालाई परेको देखिन्छ। बजार २८०० विन्दुको स्ट्रङवेइजमा छ भन्ने मनोवैज्ञानिक प्रभाव पनि परेको छ,’ उनले भने, ‘मौद्रिक नीतिले गरेको प्रोभिजनले बैंकहरुको रिटर्न अर्निङ बढ्ने भयो। यसले पुँजी कोषको दबाबका कारण लगानी गर्न नसक्ने अवस्थामा पुगेकाहरूलाई पनि सहज भयो। आर्थिक गतिविधि चलायमान हुँदै गएको देखिन्छ। यही कारण बैंकहरुले नयाँ व्यवसाय बढाउन सक्ने सम्भावना देखेपछि लगानीकर्ताको आकर्षण देखिएको हो।’

अहिले गभर्नर महाप्रसाद अधिकारीको कोसेलीमा खुसी देखिएका लगानीकर्ता तिनै हुन् जो यसअघि उनको कार्यकाल कहिले सकिएला भनेर औंला भाँच्दै बसेका थिए। अधिकारीको ५ वर्ष कार्यकाल चैत अन्तिममा सकिंदैछ।

बैंकिङ सूचक बिहीबार सर्वाधिक ३.३२ प्रतिशतले बढ्यो। १९ वटै वाणिज्य बैंकको मूल्य उकालो लागेको छ।

कुमारी बैंक कारोबार धेरै हुने शीर्ष ५ कम्पनीको सूचीमा परेको छ। ११ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएकामा कुमारीको २० करोड ३७ लाखको कारोबार भयो।

राष्ट्र बैैंकको नीतिकै कारण बजारमा सकारात्मक माहोल बनाएको जानकारहरू बताउँछन्। ‘बजारमा पहिले नै तरलता राम्रो थियो। बढ्ने बहाना चाहिएको थियो। राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले त्यसलाई सपोर्ट गर्‍यो,’ प्रभु क्यापिटलका सौगात पन्तले भने, ‘यसले बैंकहरुको लगानी क्षमता बढाउने भयो भने प्रतिफल दिन सक्ने अवस्था बढ्यो। त्यसकै असर बजारमा देखिएको हो।’

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनिङ घटाएका कारण बैंकहरुको नाफा तेस्रो त्रैमासमा करिब ५ अर्ब रुपैयाँले बढ्ने बैंकरहरुको आकलन छ। ऋण लगानी गरेको रकम नउठेपछि बैंकहरुको खराब कर्जा बढ्दो छ। खराब कर्जा वृद्धिले प्रोभिजनिङ रकम बढेर नाफा घट्छ।

यस वर्ष ६ महिनामा वाणिज्य बैंकले खराब कर्जा औसतमा ४ प्रतिशत पुगेको वित्तीय विवरण प्रकाशित गरेका थिए। पोहोर दोस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा ३.४० प्रतिशत रहेकामा यसपालि पुस मसान्तमा आइपुग्दा १.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ।

आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुले व्यवसाय विस्तार गर्न सकेका छैनन्। कर्जा लगानी र असुलीमा देखिएको शिथिलताले मुनाफा घट्न पुगेको छ। यो वर्ष दोस्रो त्रैमाससम्म ७ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। उनीहरूले लगानीकर्तालाई प्रतिफल दिन सक्दैनन्।

कर्जा लगानी बिग्रिंदै गएका बैंकहरुलाई प्रोभिजनिङ व्यवस्थामा राष्ट्र बैंकले गरेको हेरफेरले सहुलियत पुगेको छ।

बैंकहरुसँग लगानीयोग्य रकम फालाफाल छ। कर्जाकै ब्याजदर एकल अंकमा छ। सस्तो ब्याज र तरलता बजारका लागि अनुकूल मानिन्छन्।

साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबारसहित ३००० विन्दुमा पुगेको नेप्से असोज १३ गते २४६४ अंकमा झरेकामा फागुन ४ गतेदेखि लगातार उकालो लागेर २८०० अंक माथि पुगेको छ।