
काठमाडौं। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक माघ २१ गते डुंगा चलाउँदै प्रयागराजको महाकुम्भ पुगे। भारतको उत्तर प्रदेश स्थित प्रयागराजको महाकुम्भमा उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले डुंगा चलाउँदै सँगसँगै प्रयागराजको त्रिवेणी संगम पुर्याएका थिए।
बुद्ध धर्म पृष्ठभूमिका भुटानी राजा वाङचुकले हिन्दु विधि विधानअनुसार पूजा आरती गरे। गंगा, यमुना र अदृश्य सरस्वतीको संगममा पुगेर डुबुल्की मारे आदित्यनाथसँगै।
छोटो समयमा नै फेरि भुटानका राजा भारतको उत्तर प्रदेश पुग्नु कुनै नौलो त थिएन। तर, यसले भारत र भुटानबिचको सम्बन्धमा भने ठूलो महत्त्व राख्छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा धर्म र संस्कृति देशको ‘सफ्ट पावर’ हो। भारतले १४४ वर्ष पछि हुँदै गरेको भनी प्रचार गरेको यो महाकुम्भमा हिन्दुहरुमात्रै सहभागी भएका छैनन्। बौद्ध धर्मावलम्बीसँगै इसाई धर्मावलम्बीहरू पनि छन्। हलिउड कलाकारदेखि विभिन्न देशका राजनीतिज्ञ त्रिवेणीमा स्नान गर्न पुगेका छन्। भारतले महाकुम्भलाई आफ्नो ‘सफ्ट पावर’को रूपमा प्रस्तुत गरेको यहाँ प्रस्टै देखिन्छ।

भारत सरकारले दिल्लीमा रहेका विभिन्न देशका राजदूतहरूलाई एकसाथ विमानमा राखेर प्रयागराज पुर्याएको थियो। त्यहाँ उनीहरूले गरेको पूजापाठ र स्नान भारतका लागि सफल कूटनीतिक माध्यम बन्यो, देश देशबिच सम्बन्धलाई सुमधुर बनाउने।
भुटानका राजा होस् या अन्य देशका राजदूत, धार्मिक कूटनीति भरपुर देखिएको छ प्रयागराजमा।
केही वर्षअघिमात्रै हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनेको नेपालबाट पनि धेरै संख्यामा मानिसहरू पुगिरहेका छन् प्रयागराजमा। त्रिवेणीमा उनीहरू डुब्लिकी मारिरहँदा त्यहाँ राजनीतिक वृत्तका मानिस पनि देखिन्छन्। भारतीय दूतावासले नेपालबाट इन्फ्लुएन्सरदेखि पत्रकार, नेतादेखि उद्योगी सबैलाई सहज रूपमा प्रयागराजमा पुगेर स्नान गर्ने वातावरण बनाइदिएको छ।
यही मेसोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता डा प्रकाशशरण महत, अर्जुननरसिंह केसीलगायत नेताहरू प्रयागराज पुगेर स्नान गरेर फर्किएका छन्। सोमबार मात्र कुम्भमेला पुगेका कांग्रेस महामन्त्री थापाले त्यहाँ पुग्दा आध्यात्मिक शान्ति मिलेको अनुभूति भएको बताएका छन्।
‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रयागराज पुग्ने तयारी थियो। यद्यपि, अन्तिम अवस्थामा देउवाले आफ्नो भ्रमण स्थगित गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अनिश्चित भएपछि देउवाले भ्रमण स्थगित गरेको बताइएको छ। उनी आउने भन्दै इन्डिया फाउन्डेसनले प्रचारसमेत गरेको थियो। एक साता मात्र बाँकी रहेको महाकुम्भमा पुग्ने देउवा नेपालका सबैभन्दा ठूलो हाइप्रोफाइल नेता हुने थिए। तर, कहाँको ‘सिग्नल’ नमिलेर हो उनी गएनन्।
सरकारी स्तरबाट छैन भ्रमणको तयारी
नेपाल र भारतको सम्बन्धको एउटा आधार भनेको धर्म पनि हो। दुई देशलाई हिन्दु र बौद्ध धर्मले पनि जोडेको छ। नेपालको पशुपतिनाथ होस् कि मुक्तिनाथ या भारतको चारधाम वा अन्य कुनै मन्दिर, नेपाली र भारतीयका लागि यी सबै स्थान तीर्थ हुन्। त्यसैले राजनीतिभन्दा माथि उठेर दुई देशबिच धार्मिक क्रियाकलाप चलिनै रहन्छ। भारतीय तीर्थयात्री नेपाल आउने र नेपाली तीर्थयात्री भारत जाने चलन पुरानै हो।
राजनीतिक स्तरमा भने पछिल्लो समय नेपाल र भारतको सम्बन्ध चिसिँदो छ। केपी शर्मा ओली प्रधानमन्त्री भएयता दुई देशबिच सम्बन्ध सुधार्ने प्रयास जारी छ। तर, त्यो हुन सकेको छैन। त्यसैको छिर्कामिर्का महाकुम्भमा प्रस्ट देखिएको छ।
कांग्रेस नेतृसमेत रहेकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई भदौ ३ को भ्रमणमा भारतीय पक्षले विशेष महत्वका साथ भारतमा स्वागत पनि गरेको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री डा एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटपछि राजनीतिक वृत्तमा आरजुको उच्च प्रशंसा गरिएको थियो। तर, जब प्रधानमन्त्री ओलीले भारत भ्रमणको इच्छा देखाए, सोही सन्देश लिएर पुस ४ गते भारत पुग्दा परराष्ट्र मन्त्री आरजुलाई भारतले पहिलाको जस्तो ‘इन्टर्टेन’ गरेन।
प्रधानमन्त्री ओली मंसिर १७ गते उत्तरी छिमेक चीन पुगेर फर्किए। त्यसयता पनि भारत जाने इच्छा ओलीले नगरेका हैनन्। असोजमा संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन पुगेका बेला प्रधानमन्त्री ओली र मोदीबिच भेट भए पनि भारतबाट उनलाई कुनै ‘ग्रिन सिग्नल’ आएको छैन।
यही मेसोमा ओलीसँग सत्ता गठजोड गरिरहेको नेपाली कांग्रेसले भने धार्मिक प्लेटफर्म प्रयोग गर्दै भारतसँग सम्बन्ध सुधारको प्रयासमा देखिन्छ। तर, सरकारीस्तरबाट कुनै सहभागिता नहुने नेपालको कूटनीतिका लागि लाभदायी भने देखिँदैन।
सनातन धर्म मान्ने भनेपछि सरकारीस्तरबाट सहभागिता जनाउनुपर्ने बताउँछन् भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय।
‘सनातन धर्म मान्छु भन्ने अनि तीर्थमा नजानु आडम्बर हो। उहाँ(भारतीय नेता)हरू जानकी मन्दिर आउनुहुन्छ। पशुपतिमा आउनुहुन्छ। मुक्तिनाथ आउनुहुन्छ,’ उपाध्यायले भने, ‘यस्तो बेला कूटनीतिक रूपमा फाइदा लिन सक्नुपर्थ्यो।’
यसो त सरकार प्रमुख नै ‘कम्युनिस्ट’ भएकोले यसको आशा गर्नु व्यर्थ भएको उनले बताए। ‘कम्युनिस्टहरू धर्मकर्ममा जाँदैनन् नि,’ उपाध्यायले भने।
पुस २९ बाट सुरु भएको यो महाकुम्भ फागुन १४ गतेसम्म चल्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि महाकुम्भ भ्रमणको कुनै तयारी गरेका छैनन्। यता प्रधानमन्त्री ओली र सरकारी तवरबाट कोही पनि सम्मेलनमा सहभागी हुने तयारीबारे आफूले थाह नपाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
‘कांग्रेस नेताहरू महाकुम्भमा पुगिरहेको हामीले पनि सुनेका छौं। हाम्रोबाट त्यस्तो तयारी छैन। सरकारी तयारी पनि देखिन्न,’ प्रमुख सचेतक बर्तौलाले भने।
एमाले सांसद तथा पूर्वमन्त्री भगवती चौधरी पनि महाकुम्भ पुगेर फर्केकी छिन्। माघ १७ गते त्यसतर्फ पुगेकी चौधरीलाई त्यहाँका स्थानीय भारतीय जनता पार्टीका नेताहरूले स्वागतसमेत गरेको थियो।

त्रिवेणीमा स्नान गरेर फर्किएका कांग्रेस प्रवक्ता प्रकाशशरण महत कुम्भमेलामा नेपाल सरकारको तर्फबाट कुनै न कुनै रूपमा सहभागिता जनाउनुपर्ने मत राख्छन्। राष्ट्रवादी भएजस्तो गर्ने तर सार्वजनिक रूपमा तितो पोख्ने कामले कूटनीति बिग्रने उनको तर्क छ।
‘राष्ट्रवादी भएको जस्तो देखेर मात्र भएन। काम गरेर देखाउनुपर्छ। सार्वजनिक रूपमा तितो कुरा पोख्ने खालको सम्बन्ध बनाउनहुँदैन,’ महतले भने।
उनले धर्म संस्कारको विषयमा एकअर्काप्रति संवेदनशील हुनुपर्ने बताए। यो मेलालाई भारतले अर्थतन्त्र बलियो बनाउने प्रमुख मेलाको रुपमासमेत लिएको छ। नेपालले पनि यसबाट धेरै फाइदा उठाउन सक्ने अवसर रहेको जानकारहरू बताउँछन्। नेपालले यही मेलाबाट नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सक्थ्यो। तर, सरकारी तर्फबाट नै कुनै अग्रसरता नचालिँदा नेपाल कूटनीतिक रूपमा थप असफल बन्ने दिशातर्फ गइरहेको कूटनीतिज्ञहरूको मत छ।