बुढानीलकण्ठमा घरै लिएर अनलाइन जुवा, २३ जना अपरेटर समातेर ८८ वटा मोबाइल हेर्दै प्रहरी

बिजमाण्डू
२०८१ माघ २८ गते १०:२७ | Feb 10, 2025
बुढानीलकण्ठमा घरै लिएर अनलाइन जुवा, २३ जना अपरेटर समातेर ८८ वटा मोबाइल हेर्दै प्रहरी
फाइल फोटो


काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीको कमान्डमा आइतबार रातभरि भएको अपरेसनमा २३ जना समातिएका छन्।

Tata
GBIME
NLIC

सोमबार बिहानसम्म चलेको अपरेसनमा प्रहरीले काठमाडौंको बुढालिकण्ठ नगरपालिका-३ बाट अनलाइन जुवा (सट्टेबाजी) गराएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश भारतीय रहेको बुझिएको छ। तर, प्रहरीले उनीहरूको साथबाट पहिचान खुल्ने कागजपत्र खोजी गरिरहेको छ। उनीहरू त्यही नै बसेर रातिसम्म कारोबार गर्ने गरेको देखिएको हो।

‘खासै पढेलेखेका देखिँदैनन्। हामीले सोध्दा सबैले भारतीय हुन् भनेका छन्। हामी यसलाई पुष्टि गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने।

अनलाइन जुवाको लागि उनीहरूले दवाङ दोर्जे शेर्पाको दुई तले घर नै भाडामा लिएर कारोबार गरेको देखिएको छ। प्रहरीले राति घरमा छापा मार्दा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेको छ। उनीहरूको साथमा नगद ८१ हजार रुपैयाँ पनि बरामद गरिएको एसएसपी अधिकारीले बताए।

मोबाइलबाट कति कारोबार भयो भन्ने खुलेको छैन। बिहानसम्म अपरेसन चलेकाले सोमबार मात्र मोबाइल अध्ययन गरेर कति रकमको सट्टेबाजी भयो भन्ने खुल्ने एसएसपी अधिकारीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा समातिएका मानिसहरू अपरेटर मात्र भएको देखिएको छ। यसका मुख्य योजनाकार को हुन् भन्ने खुल्न सकेको छैन।

यसअघि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीइआबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भने अनलाइन जुवा खेलाउने घरमा छापा मारेको थियो। समूह नै बनाएर उनीहरूले अनलाइन ठगी, क्रिप्टो कारोबार गर्ने गरेको खुलेको थियो। दुई वटा घटनामा ६ अर्ब भन्दा बढीको कारोबार भएको खुलेको थियो।