खुम्बुमा व्यावसायिक उडानमा अवरोधले हेलिकोप्टर उद्योगमा धक्का, ‘४०% व्यापार गुम्ने भो’

वसन्तराज उप्रेती
२०८१ माघ २८ गते १०:४८ | Feb 10, 2025
खुम्बुमा व्यावसायिक उडानमा अवरोधले हेलिकोप्टर उद्योगमा धक्का, ‘४०% व्यापार गुम्ने भो’


काठमाडौं। खुम्बु क्षेत्रमा व्यावसायिक उडान गर्न अवरोधका कारण हेलिकोप्टर उद्योगमा गम्भीर धक्का पुगेको छ। हेलिकोप्टर कम्पनीले अहिलेसम्मको बुकिङलाई आधार मानेर यसपालि पर्यटकीय सिजनमा ४० प्रतिशत व्यापार गुम्ने प्रक्षेपण गरेका छन्।

Tata
GBIME
NLIC

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले उडानमा अवरोधका कारण बुकिङ घटेको बताए। ‘अहिले धमाधम टिकट बुकिङ हुने समय हो। तर अवरोध नहटेका कारण पर्यटकले बुकिङ गर्न मानिरहेका छैनन्। बुकिङ निक्कै कम छ,’ उनले भने, ‘अवरोध हटेको अवस्थामा पनि अहिलेको बुकिङलाई आधार मान्दा यसपालि व्यापार ४० प्रतिशत घट्ने देखिन्छ।’

खुम्बुका स्थानीयले एक महिनादेखि व्यावसायिक चार्टर्ड उडान गर्न दिएका छैनन्।

खुम्बु क्षेत्रको मानव वस्तीमा ध्वनि प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाउँदै स्थानीय तहको अगुवाइमा पुस २३ देखि हेलिकोप्टर उडानमा अवरोध गरिएको थियो।

माघ १५ गतेबाट उद्धार उडान खुला गरिएको छ।

कैलाश हेलिकोप्टरका सञ्चालक प्रतापजंग पाण्डेले हेलिकप्टर बुकिङको अवस्थाले व्यापार घट्ने पक्का भएको बताए। ‘अहिलेको बुकिङ हेर्दा व्यापार ४० प्रतिशत हाराहारी गुम्ने पक्का छ,’ उनले भने, ‘यसबाट हामीलाई मात्र असर पर्दैन। कर, स्थानीय व्यवसाय र रोजगारी पनि प्रभावित हुन्छ।’

वायुसेवा सञ्चालक संघका अनुसार हेलिकोप्टरमा निजी क्षेत्रको १० अर्ब रुपैयाँ लगानी छ। हेलिकोप्टर कम्पनीले वार्षिक ६ अर्ब रुपैयाँको कारोबार गर्दै आएकामा त्यसमध्ये सवा ४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा हो।

हेलिकोप्टर उद्योगमा हाल ६०० जनाले रोजगारी पाइरहेका छन् भने सरकारले वार्षिकरुपमा भ्याटबापत करिब ७८ करोड र आयकरबापत ४० करोड रुपैयाँ पाउने गरेको छ।

अल्टिच्युड एयरका सञ्चालक निमा नुरु शेर्पाले व्यावसायिक उडान गराउने विषयमा पटक पटक छलफल भएपनि अवरोध पुर्‍याउनेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुन नसकेको गुनासो गरे।

‘विभिन्न राजदूतावासबाट दबाब आएपछि हेलिप्याडमा रहेको अवरोध हटाइयो। अहिले उद्धार उडान सुरु भएको छ,’ शेर्पाले भने, ‘तर व्यावसायिक उडानका लागि सरकारका तर्फबाट आवश्यक मात्रामा सहयोग भइरहेको छैन। बरु स्थानीयको अवरोध रहेको प्रचार भएका कारण बुकिङमा असर परेको छ। जसले गर्दा अवरोध हट्दा पनि यसपालिको सिजनमा व्यापार धेरै नै गुम्ने देखिन्छ।’

हेलिकोप्टरको व्यावसायिक उडान हुने गन्तव्य नै खुम्बु क्षेत्र हो। खुम्बु क्षेत्रमा हुने उडानबाट मात्रै हेलिकोप्टर कम्पनीले वार्षिक साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्दै आएका थिए। हाल १२ कम्पनीसँग ३२ वटा हेलिकोप्टर सञ्चालनमा छन्।

खुम्बु क्षेत्रमा पर्यटकीय पिक सिजनमा दैनिक २०० वटा उडान अवतरण हुने गरेको विगत छ। हेलिकोप्टरको एउटा उडानमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले २५ हजार र पासाङ ल्हामु गाउँपालिकाले २५ हजार रुपैयाँ पाउने गरेका छन्।

स्थानीयको महिना दिनभन्दा लामो समयदेखिको अवरोधले बुकिङ नै प्रभावित भएपछि हेलिकोप्टर व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरुले पर्यटकीय सिजन सुरु हुन लाग्दा समेत रहेको अवरोधले बुकिङ नै हुन छोडेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका हुन्।

खुम्बु क्षेत्रमा फागुन दोस्रो सातादेखि हेलिकोप्टरको माग धेरै हुन्छ। हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको दृश्वावलोकन लगायत प्रयोजनका लागि फागुन दोस्रो सातापछि करिब तीन महिनालाई पिक सिजन मानिन्छ।