
काठमाडौं। सेयर बजारलाई केही व्यक्ति वा समूहले तलमाथि बनाउन सक्छन्। संसारभरनै सेयर कारोबारमा निश्चित समूहको प्रभाव रहने गरेको धेरै उदाहरणहरु छन्।
नेपालको सेयर बजारमा पनि केही व्यक्ति र समूहको प्रभाव देखिने गरेको छ। त्यो सेयर बजारले लिने बुलमा देखिन्छ। कमजोर कम्पनीहरुको उचाईं र राम्रा कम्पनीको सेयर भाउ तल हुनुले पनि बजार प्रभावित बन्ने गर्छन् भन्ने उदाहरणका लागि काफी छन्।
नेपालमा मात्रै नभइ संसारका अन्य देशमा पनि अनलाइन अथवा सामाजिक सञ्जालमा राम्रो उपस्थिति रहेका व्यक्तिले सेयर बजारमा हलचल ल्याउन सक्छन् भन्ने थुप्रै उदाहरणहरू छन्।
एउटा उदाहरणका रुपमा सन् २०२१ मा अमेरिकी भिडियोगेम रिटेल स्टोर ‘गेमस्टप’को मूल्य आकाशिनुलाई लिन सकिन्छ। जसलाई एक व्यक्तिले सामाजिक संजालमा गरेको पोस्टले ‘ट्रिगर’ गरेको थियो। यसलाई युवा ट्रेडरहरू र हेज फन्डबीचको द्वन्द्वले अझ बल पुर्यायो।
अमेरिकामा ‘सर्ट सेलिङ’को प्रचलन धेरै छ। जसमा मूल्य घट्ने अवस्थामा रहेका स्टकलाई उधारोमा लिइन्छ र तत्काल बिक्री गरिन्छ। मूल्य घटेपछि उक्त सेयर कम मूल्यमा किनेर उधारो लिइएको व्यक्तिलाई फिर्ता गरिन्छ।
अर्को तर्फ ट्रेडरहरू यसरी सर्ट सेलिङ भइरहेका सेयरको मूल्य बढाएर मुनाफा निकाल्ने दाउमा हुन्छन्। जसलाई ‘सर्ट स्क्वीज’ भनिन्छ। यसकारण सर्ट सेलर र ट्रेडरहरूबीच एक किसिमको द्वन्द्व सधैँ भइरहन्छ।
न्यूयोर्क स्टक एक्सचेन्जमा ‘लिस्टेड’ रहेको गेमस्टप वाल स्ट्रिटकै सबैभन्दा बढी सर्ट गरिएको स्टक थियो, जहाँ करिब ३० प्रतिशत सेयर हेज फण्डका सर्ट सेलरहरूका हातमा थिए। रेडिटका लगानीकर्ताहरूले तीव्र रूपमा सेयर किनेर हेज फण्डहरूलाई ‘सर्ट स्क्विज’मा पारिदिए।

यस्तोमा किथ गिल नाम गरेका एक टेक-स्याभी युवा ट्रेडरले यसबाट निकै नाफा कमाउन सकिने महसुस गरे। उनलाई गेमस्टपको सेयर ‘अन्डरभ्यालु’मा रहेको महसुस भयो। त्यसपछि उनले यसको सेयर किन्न थाले र रेडिट नामक सामाजिक संजालमा यसबारे लेख्न थाले। उनले यसबारे युट्युबमा भिडियो पनि पोस्ट गरे, जसमा उनले मुनाफाको अथाह सम्भावनाबारे चर्चा गरे।
मानिसहरूले उनका कुरा पत्याए। उनीहरूलाई पनि सर्ट स्क्वीजको राम्रो सम्भावना रहेको महसुस भयो। त्यसपछि गेमस्टपको सेयर ठूलो-ठूलो मात्रामा किन्न थालियो। हप्ता दिनमै यसको मूल्य ३०० प्रतिशत र एकै दिनमा १२० प्रतिशतसम्म बढ्यो।
वाल स्ट्रिटका अनुभवी लगानीकर्ता र सामाजिक संजालमा संगठित भएका नयाँ लगानीकर्ताबीचको लडाइँ अन्त पनि सर्यो। यो प्रवृत्ति युरोप लगायतका अन्य सेयर बजारमा पनि देखिन थाल्यो। जहाँ केही स्टकको मूल्य अस्वाभाविक रुपमा आकाशियो।
गेमस्टपलाई एक व्यवसायिक लगानीकर्ताले ‘असफल रिटेलर’ भनेर व्याख्या गरेका थिए। सन् २०१९ मा कम्पनीले साढे ७९ करोड डलरको घाटा व्यहोरेको थियो। र २०२० मा पनि दशौँ करोडको घाटा हुन सक्ने अनुमान गरिएको छ।
तर, यो तथ्यले सामाजिक संजालमा संगठित भएका ‘डे-ट्रेडर’हरूलाई रोकेन। लकडाउनका कारणसँगै, रोबिनहुड जस्ता निःशुल्क वा सस्तो लागतमा कारोबार गर्न सकिने प्लेटफर्ममार्फत यी लगानीकर्ताहरूले रेडिटको ‘वाल स्ट्रिट बेट्स’ थ्रेडमा टिप्स साटासाट गर्दै सेयर मूल्य वृद्धि गरिरहे।
यस्तोमा ठूला लगानीकर्ताहरूले घाटा कम गर्न पुनः सेयर किन्ने निर्णय गर्दा मूल्य झन् माथि गयो। मेल्भिन क्यापिटल म्यानेजमेन्टले गेमस्टप जस्ता स्टकमा घाटा व्यहोर्दा २ अर्ब डलरभन्दा बढीको ऋण लिनुपर्यो, भने अर्को सर्ट सेलर सिट्रोन रिसर्च पनि पछि हट्न बाध्य भयो।
रेडिटका लगानीकर्ताहरूका लागि यो केवल पैसा कमाउने विषय मात्र थिएन। उनीहरूमा वाल स्ट्रिटलाई पराजित गर्ने उद्देश्य थियो। रेडिट थ्रेडहरू हेर्दा स्पष्ट रूपमा देखिन्थ्यो कि उनीहरू वाल स्ट्रिटविरुद्धको यो लडाइँलाई व्यक्तिगत रूपमा लिइरहेका छन्।
गेमस्टपको चरम विन्दु
गेमस्टपको आम्दानी सन् २०२० भन्दाअघि तीव्र रूपमा घटेको थियो। यसको परिणामस्वरूप थुप्रै स्टोरहरू बन्द भएका थिए भने धेरैले गेमस्टपलाई अर्को ब्लकबस्टर बन्ने अनुमान गरेका थिए।
तर किथ गिल र हजारौं लगानीकर्ताहरूले आफ्नो पैसा यो कम्पनीमा लगानी गरे, जसलाई हेज फण्डहरूले घट्ने अनुमान गरेका थिए।

गेमस्टपको सेयर मूल्य जनवरी २८, २०२१ मा उच्च विन्दुमा पुगेको थियो। अघिल्लो दिन मध्याह्नमा कम्पनीको सेयर मूल्य क्षणभरका लागि ४८३ अमेरिकी डलर पुगेको थियो।
त्यसअघि जनवरी २६ मा इलन मस्कले वालस्ट्रिट बेट्स नामक रेडिट ग्रुपको लिंक सेयर गरेपछि सेयर मूल्य २०० डलरले बढेको थियो। यसले थप लगानीकर्ताहरूलाई आकर्षित गर्यो र जनवरी २७ मा सेयर मूल्य ३४७.५१ डलरमा क्लोज भएको थियो।
जनवरी २८ मा प्रि-मार्केट कारोबारमा सेयर मूल्य क्षणभरका लागि ५०० डलर नाघेको थियो। यद्यपि, दिनभरको उच्चतम मूल्य ४८३ डलर रह्यो।
गेमस्टपको ओरालो यात्रा
यो उच्च मूल्यको यात्रा लामो समयसम्म भने टिक्न सकेन। रोबिनहुड एपले गेमस्टपको थप सेयर खरिद गर्ने नमिल्ने बनायो। जसले गर्दा लगानीकर्ताहरूमा त्रास उत्पन्न भयो।
लगानीकर्ताहरूले आफ्नो सेयर बेच्न थाले, जसले गर्दा मूल्य तीव्र रूपमा घट्यो। एक हप्ताभित्र गेमस्टपको सेयर मूल्य ८० प्रतिशतभन्दा बढीले घट्यो। एकाध रुपमा पुनः वृद्धि भए पनि, ४८३ डलरको सर्वाधिक उच्च मूल्य पुनः उक्लिन सकेन।
धेरै वर्षपछि, गेमस्टपको सेयर मूल्य हाल निकै कम छ। २०२४ सम्म, यसको सेयर मूल्य प्रतिदिन १३ देखि १५ डलरको बीचमा कारोबार भयो। सन् २०२३ को अधिकांश समय यो २० डलरभन्दा माथि नै कारोबार भइरहेको थियो।
यद्यपि, यो मूल्य गेमस्टपको सर्वाधिक उच्च मूल्यको तुलनामा निकै कम हो, यो २०२० मा पुगेको २.५७ डलरको न्यूनतम मूल्यभन्दा अझै माथि रहेको छ।
हाल गेमस्टपको मूल्य २० डलरभन्दा माथि कायम रहेर कारोबार भइरहेको छ।