महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष १४.९९ प्रतिशत, आधार दर र कोष लागतमा सुधार

बिजमाण्डू
२०८१ माघ १४ गते १८:०२ | Jan 27, 2025
महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष १४.९९ प्रतिशत, आधार दर र कोष लागतमा सुधार


काठमाडौं । महालक्ष्मी बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्यसम्म आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको जनाएको छ।

Tata
GBIME
NLIC

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो। बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १४.९९ प्रतिशत रहेको जनाइएको छ। आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा पुँजी कोष १४.९३ प्रतिशत रहेको थियो।

न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुने बैंकले जनाएको छ। यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिएको दाबी गरिएको छ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको जनाइएको छ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रुपैयाँ, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको जनाइएको छ।

साथै डिजिटल बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गदै बैंकले संचालनमा ल्याएको ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत रियल टाइममा नै मुद्धती खाता खोल्न सकिने व्यवस्था गरिएको जनाइएको छ। यस्तै, यसबाट मुद्धती धितोको रसिदमा प्रवाह हुने कर्जाको माग गर्न सकिने, अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सकिने जस्ता सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ।