
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले अर्थतन्त्रमा शिथिलता र व्यवसायीहरुको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको बताएका छन्।
उनले बिहिबार बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रममा बैंकहरुमा तरलता फालाफाल रहेपनि व्यवसायीहरुको मनोबल अझै कमजोर रहेको बताए।
‘बजारमा अझै पनि शिथिलता देखिन्छ। आर्थिक गतिविधि अपेक्षितरुपमा बढ्न सकेको छैन। जसले गर्दा पैसा बैंकमा थुप्रिरहेको छ,’ उनले भने, ‘आर्थिक गतिविधि सुस्त हुँदा ऋण असुली प्रभावित भइ बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढिरहेको छ।’
चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा बढेर ४.४८ प्रतिशत पुगेकामा राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत छ। उनले यसो भनिरहँदा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल पनि थिए।
खनालले बढ्दो रेमिटेन्सले तरलता फालाफाल हुन पुगेको र त्यही कारण ब्याजदर घट्न गइ व्यवसायीहरुले राहतको महशुस गरेको बताए।