सम्बन्धसँगै विश्वास टुटाइरहेको रित्तो चेक : ५ अर्बभन्दा बढीको चेक बाउन्स, काठमाडौं प्रहरी हैरान

सविन ढकाल
२०८१ माघ ११ गते ०६:१० | Jan 24, 2025
सम्बन्धसँगै विश्वास टुटाइरहेको रित्तो चेक : ५ अर्बभन्दा बढीको चेक बाउन्स, काठमाडौं प्रहरी हैरान


काठमाडौं। मयुर यातायात प्रालिले भुक्तानी पाउने गरी कैलाशकुट यातायात प्रालिले २०८० मंसिर १९ गते प्रभु बैंकको चेक काटेर दिन्छ। तर चेक साटिंदैन। एक वर्षअघि दिएको चेक पटक-पटक नसाटिएपछि मयुर यातायातका प्रतिनिधि प्रहरीकहाँ पुग्छन्। प्रहरी वृत्त स्वयम्भूले कैलाशकुट यातायातका संचालक अमरबहादुर थापालाई पक्राउ गर्छ। अर्का प्रतिवादी निकिता थापा भने फरार हुन्छिन्।

Tata
GBIME
NLIC

दुई कम्पनीबीच २० वटा बस खरिद र संचालन गर्न २०८० असार १० गते भएको सम्झौताअनुसार कैलाशकुटले चेक काटेको थियो। आफूकहाँ पनि दुई पक्षबीच लेनदेन विवाद नमिलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँछ।

पुस २७ गते अमर र निकिताविरुद्ध चेक बाउन्समा बैंकिङ कसुर मुद्दा दायर हुन्छ। अदालतमा पुगेको मुद्दा प्रमाणित भए अमर र निकिताले बिगो बराबरको रकम तिर्नुका साथै तीन महिना कारागार बस्नुपर्ने हुन्छ।

+++

काठमाडौंकी संगीता मगर र सर्लाहीका यज्ञराज पौडेलको सम्बन्ध वर्षौं पुरानो हो। तर अहिले यही सम्बन्ध एक अर्काका लागि भारी परेको छ। यज्ञराज यतिखेर कहाँ छन् संगीता मात्र होइन, राज्यका निकायलाई पनि पत्तो छैन।

यज्ञराज प्रहरीको फरार सूचीमा छन्। उनलाई फरार सूचीमा पुर्‍याउने उनै संगीता हुन्। घर खर्चका लागि लिएको १ लाख रुपैयाँले दुई जनाको सम्बन्धमा फाटो आयो। यज्ञराजले ‘आवश्यक पर्‍यो’ भनेपछि संगीताले दिइन्। तर भनेको मितिमा यज्ञराजले फिर्ता गरेनन्।

पटक पटक ताकेता गरेपछि यज्ञराजले संगीताको हातमा कृषि विकास बैंकको चेक थमाए। पैसा फिर्ता पाइयो भनेर मक्ख परी बैंकमा पुग्दा चेक साटिएन। विभिन्न मितिमा ३ पटकसम्म बैंकमा चेक नसाटिएपछि संगीता काठमाडौं प्रहरीमा पुगिन्।

यज्ञराज भने प्रहरीको सम्पर्कमा आएनन्। त्यसपछि प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ ‘ग’ अनुसार कसुर गरेको भन्दै सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गर्‍यो। संगीताका लागि १ लाख मात्र डुबेको छैन, यज्ञराजसँगको सम्बन्धसँगै विश्वास पनि टुटेको छ।

+++

काठमाडौंको चाबहिल चोक नजिकै राधिका भट्टराईको मोबाइलको पसल छ। केही समयदेखि पसल संचालन गर्दै आएकी उनले जग्गामा लगानी गर्ने सोचिन्। सल्यानका ३८ वर्षीय जयराम वलीले राम्रो जग्गाको प्रस्ताव ल्याए। बैनाबापत भन्दै जयरामले २५ लाख रुपैयाँ लिएर गए। तर लामो समयसम्म पनि जग्गा दिलाएनन्।

राधिकाले न जग्गा पाइन् न त जयरामले पैसा नै फिर्ता गरे। फिर्ता गर्ने जयरामका कुरामा विश्वास नलागेपछि राधिकाले पैसा माग्न थालिन्। जयरामले २५ लाख रुपैयाँको चेक दिए। तर चेक साटिएन। उनी प्रहरीकहाँ पुग्न बाध्य भइन्। जयराम फरार भए। मुद्दा जिल्ला अदालतमा पुग्यो।

बैंकिङ कसुरले हैरान प्रहरी

पछिल्ला वर्षमा नेपाल प्रहरीलाई सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दाले तनाव बढाएको छ। अन्य अपराधको तुलनामा धेरै जाहेरी र पैसासँग जोडिएकाले चेक बाउन्स र बैंकिङ कसुरका लागि छुट्टै शाखा खडा गर्नुपर्ने देखिएको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीका अनुसार बैंकिङ कसुरका घटना निकै बढेका छन्। चालु आर्थिक वर्ष ४ महिनामा पोहोरको सोही अवधिको तुलनामा १ सय ६९ वटा बढी मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष ४ महिनामा देशभर ४ हजार ३ सय ५९ वटा आर्थिक अपराधसम्बन्धी मुद्दा दायर भएका छन्। तीमध्ये सबैभन्दा धेरै २ हजार ६ सय २९ वटा मुद्दा काठमाडौं उपत्यकामा दायर भएका छन्।

५ अर्बको खाली चेक

बैंकिङ कसुरका घटना सबैभन्दा धेरै काठमाडौंमा हुने गरेका छन्। धेरै मानिसको बसोबास रहेको र आर्थिक कारोबार सबैभन्दा धेरै हुने भएकाले काठमाडौंमा बढी बैंकिङ कसुरका घटना हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार चालु आर्थिक वर्ष पुस मसान्तसम्म चेक बाउन्ससहितका ४ हजार ३ सय ४५ वटा जाहेरी परेका छन्।

जाहेरीअनुसार ५ अर्ब ७ करोड ३९ लाख १० हजार ८७८ रुपैयाँ बिगो छ। पोहोर १ वर्षमा ५ अर्ब ६२ करोडको बिगो रहेकामा यसपालि ६ महिनामै त्यही हाराहारी हुनुले बैंकिङ कसुरका घटनाको ग्राफ स्पष्ट हुन्छ।