
काठमाडौं। नेपाल टेलिकमको डेटा सेन्टर निर्माणको ठेक्का हुवावेले हात पारेको छ। हुवावेले डेटा सेन्टर निर्माणसहित अन्य उपकरण खरिदका लागि ४८ करोड ३० लाख रुपैयाँको ठेक्का पाएको हो।
टेलिकमले डेटा सेन्टर निर्माणका लागि आवश्यक पर्ने सामग्री किन्न भ्याटसहित १७ करोड, नेपालभित्रको सेवाका लागि २० करोड ११ लाख र ढुवानी खर्च ६५ लाख ४८ हजार रुपैयाँमा हुवावेलाई ठेक्का दिएको छ।
यस्तै, विदेशी वस्तु खरिद गर्न ७ लाख ३१ हजार अमेरिकी डलर (१० करोड रुपैयाँ) र नेपाल बाहिरको सेवाका लागि साढे ३५ हजार डलर (करिब ४९ लाख रुपैयाँ) हुवावेले प्रस्ताव गरेकामा त्यो पनि टेलिमकले स्वीकृत गरेको छ।
५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा हुवावेले झण्डै ७ करोड रुपैयाँ कम मूल्य कबोल गरेको हो। टेलिकमले काठमाडौं र भैरहवामा डेटा सेन्टर निर्माण गर्दैछ।
टेलिकमले काठमाडौंको डेटा सेन्टरलाई प्राइमरी र भैरहवालाई कुनै विपद्का बेला रिकभरी सेन्टरकारुपमा विकास गर्ने तयारी गरेको छ। हुवावेसँग केही समयमा ठेक्का सम्झौता गर्ने टेलिकमले जनाएको छ।
टेलिकमले डेटा सेन्टर निर्माणसहित अन्य उपकरण खरिदका लागि गत भदौ ६ गते ठेक्का आह्वान गरेको थियो।