
काठमाडौं। विगतमा बैना-बैनामै कारोबार भएर घरजग्गाको मूल्यले आकाश मात्र छोएन – सरकारी नजर बाहिर भएको किनबेचले राजस्वसमेत गुम्यो।
जग्गा किन्नेले महँगोमा किन्नु पर्यो तर सरकार भने पुँजीगत लाभकर पाउनबाट वञ्चित भयो। अहिले घरजग्गाको बैना कारोबार रोग सर्वसाधारणलाई सेयर जारी गर्न लागेका कम्पनीहरुमा सरेको छ।
उदाहरण १
दौँतरी कम्पनीहरु प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर जारी गरिरहेका बेला शुभश्री अग्नि सिमेन्ट उद्योग १०० रुपैयाँकै अंकित मूल्यमा सार्वजनिक निष्कासन तयारीमा छ।
कम्पनीको सुरुवाती संचालक कृष्णप्रसाद पोखरेल र ताराप्रसाद पोखरेल हुन्। ठूला सिमेन्ट उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेका बेला निर्माण क्षेत्रको कम गतिविधि र सरकारको खर्च कटौतीले सिमेन्टको मागमा प्रभाव परेपछि शुभश्री अग्निमा पनि वित्तीय दबाब हावी भयो।
केयर रेटिङ नेपालले उपलब्ध गराएको पछिल्लो वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आइरहेको छ। संचालन खर्च बढेको छ र ब्याजको लागत धेरै भएको छ।
कोइला र अन्य कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको छ भने संचालनका लागि पुँजी नै अभाव हुन पुगेको छ।
कम्पनीलाई जसरी पनि अगाडि बढाउनका लागि आवश्यक पुँजी प्राथमिक बजारबाट उठाउन संचालकहरु राजी भए। त्यसका लागि अहिलेका अनिवार्य दायित्वहरु भुक्तानी हुनुपर्थ्यो। ती दायित्वहरु स्वीकार्दै गैरआवासीय नेपाली, नेपालकै अन्य लगानीकर्ताहरु आफ्नो क्षमताअनुसार शुभश्री अग्नि सिमेन्टमा प्रवर्धक भएर छिर्ने भए।
चलिरहेको कम्पनीलाई पुँजी बजारमा लैजाने, नाफा कमाउनकै लागि भनेर वैधानिक रुपमै नयाँ लगानीकर्ता बीचमा छिराउने अभ्यास जताततै छ। त्यही उपक्रममा नयाँ लगानीकर्ताहरु शुभश्री अग्निमा छिरे।
नयाँ लगानीकर्ताले प्रति कित्ता ६५ रुपैयाँदेखिको मूल्यांकनमा कम्पनीको सेयर लिने सहमति गरेका थिए।
यहाँसम्म सबै वैधानिक तवरमा भएको छ। अब सुरुवाती चरणमा छिरेकामध्ये केहीले भने आफ्नो सेयर ८० देखि ९५ रुपैयाँसम्ममा अर्को व्यक्तिलाई तिरेर बाहिरिएका छन्।
जग्गामा जसरी बैना-बैनामा दलालले ‘मार्जिन’ खान्छ त्यसैगरि यहाँ पनि केही लगानीकर्ताले सरकारको नजरमा नपरीकन बीचमा मार्जिन लिएर बाहिरिएका हुन्।
सर्वसाधारणका लागि निष्कासन प्रक्रिया सुरु भएपछि सेयर लगतमा ८० देखि ९५ रुपैयाँसम्म मूल्य हाल्नेहरुको नाम आउने छ।
उदाहरण नम्बर २
सोपान मल्टिपल कम्पनीले साधारण सेयर निष्कासन गर्ने प्रक्रिया थालेको चानचुन वर्ष दिन हुन लाग्यो। तर, उ स्वीकृतिका लागि अहिलेसम्म नियामक नेपाल धितोपत्र बोर्डमा गएको छैन।
सोपानले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने योजनामा छ। कम्पनीले प्रति कित्ता २०६ रुपैयाँका (प्रिमियम रकम १०६ रुपैयाँ) का दरले आइपीओ निष्कासन गर्ने तयारी गरेको हो। सोपान मल्टिपल एनआरएनएहरुको इन्भेष्टमेन्ट कम्पनी हो।
यसले शिक्षा, स्वास्थ्य, जलविद्युत, रियल स्टेट र पूर्वाधारका क्षेत्रमा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। सोपानमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वमन्त्री तथा सांसद वीरेन्द्रप्रसाद महतो, रामेश्वर रिजाल, ताराप्रसाद पोखेल, जीवा लामिछाने, राजेन्द्र मल्ल, वसन्तचन्द्र मरहट्टा, नवराज पोखरेल लगायतको लगानी छ।
अब यसमा नयाँ लगानीकर्ता घुसाउनका लागि शुभश्र अग्निमा जस्तै बैना बैनामा कारोबार भइरहेको छ। सुरुवातमा नयाँ लगानीकर्ता २०० रुपैयाँका दरले छिराइएको थियो। ती लगानीकर्ताले साढे २ सयदेखि ३०० रुपैयाँसम्ममा सेयर बेचेर निस्किसकेका छन्।
उदाहरण नम्बर ३:
केबुलकार संचालन गर्ने भनेर अहिले बजारमा एउटा स्क्याम चलिरहेको छ- प्रभु केबुलकार एण्ड टुरिज्जम लिमिटेडको नामबाट। केही समयअघिसम्म कम्पनीका कर्मचारीले १०० रुपैयाँमै केबुलकारको सेयर बिक्रीमा आएको छ किन्नुस् भन्दै ‘रेन्डम-कल’ गर्दै आएका थिए।
नियामककै आँखा अगाडि यसरी पैसा उठाउँदा सामान्य सोधपुछ पनि गरिएन। त्यसपछि अहिले यो स्क्याम थप झांगिएको छ। संगठितरूपमा यसमा लागेकाहरुले अर्को ‘मुर्गा’ फेला पारेर यो सेयरको भाउ १०० रुपैयाँभन्दा माथि पुर्याएका छन्। यो समूहले अहिले प्रभु स्टील, प्रभु होल्डिङ भन्दै पैसा उठाइरहेको छ।
+++
सरकारले सेयर किनबेचका लागि केही अनिवार्य सर्तहरु तोकेको छ। सूचीकृत भएको सेयर दोस्रो बजारबाट किनबेच हुन्छ। सूचीकृत नभएका लिमिटेड कम्पनीहरुको ओभर द काउन्टर (ओटीसी) बजारबाट हुन्छ। निजी कम्पनी रहेछ भने त्यहाँको सञ्चालकहरुले निर्णय गरेर त्यो लगत कम्पनी रजिष्ट्रारको कार्यालयमा नामसारी गरेर हुन्छ।
सर्वसाधारणलाई सेयर जारी गरिनसकेका कारणले यस्ता कम्पनी नेपाल स्टकमा सूचीकृत हुँदैनन्। तर, लिमिटेड कम्पनी भएको हुनाले उनीहरुले ओटीसी मार्केटबाट कारोबार गराउनु पर्ने हुन्थ्यो वा निजी हुँदा कम्पनी रजिष्ट्रारको कार्यालय पुग्ने प्रक्रिया पुरा गर्नु पर्थ्यो।
‘यहाँ एउटाले ठूलो कित्ता सेयर ठेक्का लिने र त्यो सेयर मूल्य बढाएर उ भन्दा साना लगानीकर्तालाई बिक्री गर्छन्। उ भन्दा सानोले अर्को सानोलाई त्यसैगरी बिक्री गर्छ,’ नियामक र सरकारलाई छलेर कारोबार भइरहेका सेयरहरुका जानकार एक वित्तीय विश्लेषकले बिजमाण्डूसँग भने। यस्तो कारोबारको जानकारी कतिपय अवस्थामा वास्तविक कम्पनी संचालकलाई समेत नहुन पनि सक्छ।
यसरी बैना बैनामा सेयर मूल्य बढाएर आइपीओ निष्कासनअघि नै कम्पनीबाट बाहिरिनेहरु थुप्रै छन्। उनीहरुले सम्पूर्ण सेयर बिक्री गरिसकेका पनि हुनसक्छन् र केही राखिरहेका पनि हुनसक्छन्।
सर्वसाधारणमा जानुअघि नै बैना-बैनामा कारोबार गरेर लगानीकर्ता नाफा कमाएर बाहिरिने गरेको जानकारी कहिलेकाही नियामक धितोपत्र बोर्डमा पनि पुग्ने गरेको छ।
‘हल्लाहरु आइरहेका हुन्छन्। केही त्यस्तो देखियो भने हामी नोटिसमा राखेर आवश्यक प्रक्रियामा जान्छौं,’ बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने।
पछिल्लो दिनमा जलविद्युत कम्पनीहरुको सेयर निष्कासनपूर्व यस्ता क्रियाकलाप धेरै नै देखिएको लगानीकर्ताहरु नै बताउँछन्। कतिपय अवस्थामा यसको संयोजन ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर र भेञ्चर क्यापिटलहरुसम्मले गरिदिने गरेका छन्।
जलविद्युत कम्पनीबाट गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले यसैगरी पैसा कमाएर सम्पत्ति शुद्धीकरणको मुद्दा अगाडि बढेपछि कतिपय झस्किएको लगानीकर्ताहरु बताउँछन्।
‘एकाधबाहेक अधिकांश हाइड्रोमा यो समस्या छ। वास्तविक लगानीकर्तालाई थाहा नपाइ बिचौलिया लगानीकर्ताले कमाइवरी भागिसकेको हुन्छ,’ उनले सुनाए, ‘प्रधान र न्यौपानेको मुद्दापछि धेरै जना डराएको जस्तो देखिन्थ्यो। तर, पैसाको अगाडि त्यो डर कतिन्जेल टिक्थ्यो र?’