
काठमाडौं। प्रहरीले मंगलबार राति काठमाडौंका दुई ठाउँबाट स्रोत नखुलेको ९२ लाख रुपैयाँ बरामद गर्यो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वर लोलाङ हाइटबाट रवि धमला र जीतबहादुर तामाङलाई नियन्त्रणमा लियो। उनीहरूको साथमा रहेको हिटरको कार्टुनबाट ७७ लाख रुपैयाँ बरामद भयो।
त्यसपछि थप प्रमाणका आधारमा सन्तोष खाती जोरपाटी क्षेत्रबाट १५ लाख रुपैयाँसहित पक्राउ परे। दुई जनाको मोबाइलमा आएको फोनमार्फत प्रहरी सन्तोषकहाँ पुगेको थियो।
उनीहरूले आफूहरुसँग भएको रकमको स्रोत खुलाउन सकेनन्। सोधपुछ र भेटिएका केही अपुष्ट प्रमाणले रकम सुन तस्करीको कारोबारको भएको संकेत गर्यो।
दुई दिनसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर त्यसको कनेक्सन केलाउन खोज्यो। चीनबाट सुन पठाउने र त्यसको आधारमा काठमाडौंबाट कलेक्सन गर्नुपर्ने रकम उनीहरूले उठाउने गरेको संकेत अनुसन्धानले गर्यो। तर, अदालतमा म्याद माग्दादेखि मुद्दा चलाउँदासम्म सुनको कारोबारको रकम भन्ने खुल्न सकेन।
‘चीनबाट अवैध सुन कारोबार गर्नेहरूसँग उनीहरूको कनेक्सनको हो भन्ने कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं। केही संकेत पनि देखिएको छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको पृष्ठभूमि आपराधिक देखिएको छ। रविको नागरिकता समेत शंकास्पद छ। नागरिकताको प्रतिलिपि लिँदाको समय उनले नाम/थरमा केही हेरफेर गरेको देखिएको छ। यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको सुन पसल समेत रहेको खुलेको छ।
प्रहरीले मंगलबार राति पक्राउ परेका उनीहरूलाई हिरासतमा राख्न बिहिबार हुन्डी कारोबारमा नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत म्याद लिएको छ।
सुन कारोबारको रकम भएको खुलाउन सकेको भए प्रहरीले अवैध सुन पैठारी तथा संगठित अपराधमा मुद्दा चलाउन म्याद लिन सक्ने थियो।
+++
यस्तै पुस २ गते राति स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडौंको सिनामंगलबाट चार युवक पक्राउ परेका थिए। प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका-९ सिनामंगल, शम्भुमार्गबाट पक्राउ गरेको थियो।
पक्राउ परेका काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, चाबहिल शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा-७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र बिर्तामोड-५ का २७ वर्षीय युवराज सुवेदी अहिले हिरासतमै छन्।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। यो घटना अनुसन्धान गर्दा पनि बरामद रकम सुन कारोबारको भएको संकेत देखिएको थियो। तर, प्रहरीले यसमा पनि सुन कारोबारको कनेक्सनसँग जोड्ने बलियो प्रमाण भने जुटाउन सकेन।
उनीहरूविरुद्ध अपराध संहिता २०७४ संशोधित १२५ (क) बमोजिम हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
+++
पुस ३ गते प्रहरी वृत्त गौशालाले थप २६ लाख ५० हजार रुपैयाँ रकम बरामद गर्यो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाको टोलीले बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारतीय नागरिक वसन्तकुमार राठी, काठमाडौं कमलपोखरी बस्ने प्रनिश थापा र सुरेश अधिकारीलाई पक्राउ गर्यो।
उनीहरु अहिले पनि हिरासतमा छन्। रकमको स्रोत भने खुलेको छैन। उनीहरूविरुद्ध अनुसन्धानका लागि पनि प्रहरीले हुन्डी कारोबार भनेर अदालतबाट म्याद लियो। प्रहरीलाई शंका भने सुन कारोबारको रकम नै लागेको छ।

‘दुईवटै घटनामा हामीले हुन्डीमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले भने।
प्रहरीले सुन तस्करीमा संगठित अपराध जोडेर अनुसन्धान गर्ने गरेको छ। कानुनतः यस्तो मुद्दामा प्रहरीले अदालतबाट म्याद थप गरेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। हुन्डी कारोबारमा भने २४ दिनभित्र मुद्दा अदालतमा लग्नुपर्ने हुन्छ। अवधि कम हुँदा अनुसन्धानका क्रममा प्रमाण जुटाउन समय अभाव हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्। हुन्डी कारोबारमा सजाय पनि कम हुन्छ।