रुबीभ्यालीका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा

बिजमाण्डू
२०८१ पुष ८ गते ०८:०९ | Dec 23, 2024
रुबीभ्यालीका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा
फाइल तस्बिर।


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Tata
GBIME
NLIC

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरूविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङविरुद्ध १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका-४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिबाना माग गरिएको छ। स्थानीय पागोदेखि स्कुलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस