
काठमाडौं। पूल्चोकमा रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनले विभिन्न नक्कली ऋणीको नाममा करिब ४ अर्ब रुपैयाँ अपचलन गरेको देखिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीइआबी) को अनुसन्धानपछि जिल्ला अदालत ललितपुरमा दर्ता भएको सहकारी ठगीविरुद्धको अभियोजनमा अध्यक्ष महर्जनले ३ अर्ब ९३ करोड ४२ लाख २० हजार ९४९ रुपैयाँ अपचलन गरेकामा बिगो दाबी गरिएको छ।
सहकारीको रकम अपचलन गरेपछि उनी परिवारसहित बेलायत पुगेका थिए। प्रहरीले उनलाई पक्राउ गर्ने सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस समेत जारी गरिसकेको छ। २०५७ साउनमा स्थापन भएको सहकारीमा महर्जन स्थापना कालदेखि अध्यक्ष थिए। सहकारीको रकम अपचलन गरेपछि २०७५ पुसबाट भने जिम्मेवारीबाट हटेको देखिएको छ।
सहकारीको जिम्मेवारीमा रहँदा सुमेरु ग्रुप समेत बनाएर एकल निर्णयबाट सहकारीको अर्बौँ रकम अपचलन गरेर बिना सूचना लामो समयदेखि बेलायतमा बस्दै आएको खुलेको हो। सहकारीको ७ अर्ब १ करोड २१ लाख २७ हजार ६६६ रुपैयाँ अपचलन गरेको भन्दै उजुरी परेको थियो।
महर्जन अध्यक्ष भएको बेला सुमेरु कम्युनिटी अस्पताललाई ऋण देखाएर १ अर्ब ४३ करोड ७९ लाख ४३ हजार ३६९ रुपैयाँ अपचलन गरेको खुलेको छ। त्यस्तै अर्को सुमेरु सिटी अस्पताललाई ऋणी देखाएर ९० करोड ७१ लाख ७७ हजार ४२१ रुपैयाँ अपचलन गरेको देखिन्छ। एसियन कलेजको नाममा पनि ५७ करोड ५३ लाख २९ हजार ७५० रुपैयाँ ऋण लिएको देखिएको हो। सुमेरु हाउजिङ एण्ड डेभलपमेन्टलाई ऋणी देखाएर २४ करोड ४५ लाख १५ हजार ७५३ रुपैयाँ लगिएको देखिन्छ।
सुमेरु किड्नी अस्पतालको नाममा पनि ७ करोड ९३ लाख ७९ हजार रुपैयाँ अपचलन भएको प्रहरीको निष्कर्ष छ। विभिन्न तीन व्यक्तिलगायत पिएफ नेपाल, सुमेरु मेडिकल कलेज, सातदोबाटो चोक कन्स्ट्रक्सनको नाममा पनि ऋण प्रवाह गरिएको छ। यसरी सुमेरु सहकारीबाट विभिन्न ग्रुप कम्पनीको नाममा ३ अर्ब ९३ करोड ४२ लाख २० हजार रुपैयाँ अपचलन गरेको देखिएको हो।
उनी अध्यक्ष भएको समयमा सुमेरु सिटी अस्पताल, एसियन कलेज लगायतको नाममा प्रभु बैंक र कुमारी बैंकबाट पनि १२५ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो। त्यस्तै सुमेरुको नाममा काठमाडौंको छैमलेमा रहेको १ रोपनी १२ आना जग्गा पनि २०५९ असोजमा आफ्नो नाममा पास गरेको देखिएको छ।
महर्जन सहकारी ठगी गरेर फरार भएपछि राजबहादुर सिंहले सहकारीको नेतृत्व गरेर बचतकर्ताको रकम फिर्ताको प्रतिबद्धता जनाएका थिए। सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन्।