साढे १७ लाखमा बन्छ एकतले घर, फाउन्डेसनदेखि फिनिसिङसम्म के मा कति खर्च ?

बिजमाण्डू
२०८१ असोज २८ गते १०:०० | Oct 14, 2024
साढे १७ लाखमा बन्छ एकतले घर, फाउन्डेसनदेखि फिनिसिङसम्म के मा कति खर्च ?

काठमाडौं। जग्गा छ र आफ्नो आय र कम लगानीका हिसाबमा घर बनाउने सोच्दै हुनुहुन्छ? करिब साढे १७ लाख रुपैयाँमा नै बस्न लायक एक तले घर निर्माण गर्न सकिन्छ। जग्गाबाहेक यो मूल्यमा घर तयार हुन्छ। घर निर्माणका लागि दुई आना जग्गा आवश्यक पर्छ।

Tata
GBIME

घर निर्माणअघि आकार कत्रो बनाउने भन्ने निर्क्यौल गर्नुपर्छ। एक तले घर बनाउँदा कम्तीमा दुई वटा बेडरुम, किचन/डाइनिङ, लिभिङ रुम र बाथरुम बनाउँदा उपयुक्त मानिन्छ। यही डिजाइनमा घर निर्माण गर्ने हो भने २५*२८ (७ सय वर्गफिट) को स्पेसमा मान्छेलाई मजाले बस्न पुग्छ। 

वरिष्ठ सिभिल इन्जिनियर विपिन गैरेका अनुसार ७ सय वर्गफिटको एक तले घर बनाए बसोबासका लागि उपयुक्त हुन्छ। 

घर निर्माणको ‘प्लान’ टुंग्याएपछि आउँछ एलिभेसनको। एक तलाको घर बनाउँदा खर्चिनुपर्ने भनेको प्लान, फाउन्डेसन, वाल र छतमा हो। इन्जिनियर गैरेका अनुसार घरको समग्र लागत यिनै चार पक्षले निर्धारण गर्ने बताए। बेडरुम धेरै हुनेबित्तिकै भने घरको आकार र लागत दुवै बढ्छ।

एक तलाको घर भन्नेबित्तिकै धेरै खर्च जोगिन्छ। किनभने भर्‍याङ नै हाल्नुपर्दैन। अर्को भनेको एक तलाको घरलाई धान्ने फाउन्डेसन बनाउँदा खर्च धेरै बच्छ। एक तलाको घरलाई सुहाउने भएकाले नै स्टील स्ट्रक्चर पनि त्यसैलाई धान्ने गरी बनाइएको हो। 

पढ्नुस : नेपालका करिब ६० प्रतिशत घर एकतले, मधेशमा सबैभन्दा धेरै, कतिजनाको छ बैंक खाता?

‘होइन अहिले एक तला बनाउँछु, पछि अर्को तला थप्छु भन्यो भने कथा र खर्च नै अलग हुन्छ। त्यसैले कमभन्दा कम खर्चमा एक तला घर बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ,’ गैरेले सुझाउँछन्।

एक तलाको मात्रै भार व्यहोर्नुपर्ने भएकाले फाउन्डेसन एकदम ‘नोमिनल’ बनाए पनि फरक नपर्ने उनको भनाइ छ। न्यूनतम खर्चमा एक तलालाई चाहिने फाउन्डेसनको मूल्य भनेको प्रति वर्गफिट ३ सयदेखि ५ सय रुपैयाँ हाराहारी पर्ने उनले जानकारी दिए।

इँटाकै गारो लगाएर फाउन्डेसन बनाउने हो भने पनि प्रति वर्गफिट ५ सय रुपैयाँमै तयार गर्न सकिन्छ। ५ सय रुपैयाँ प्रति वर्गफिट खर्चिएर फाउन्डेसन बनाउने हो भने ७ सय वर्गफिटको घरको फाउन्डेसनको लागत ३ लाख ५० हजार रुपैयाँ पर्छ। यदि इँटाको वाल नलगाएर ‘टिन’ वा ‘स्यान्डविच प्यानल’ लगाएर फाउन्डेसन बनाउने हो भने प्रति वर्गफिट ३ सय खर्चिए पुग्ने गैरे बताउँछन्। यसो गर्दा घरको फाउन्डेसन २ लाख १० हजार रुपैयाँमै तयार हुन्छ।

फाउन्डेसन बनाउन खाल्डो खनेर वाल लगाउने वा ढुंगा प्रयोग गरे हुन्छ। स्थानीयस्तरमा कम मूल्यमा पाइने वस्तु नै प्रयोग गर्दा निर्माण लागत जोगिन्छ। स्थानीयस्तरमा ढुंगा नि:शुल्क पाइन्छ भने ज्याला, सिमेन्ट र बालुवा किन्न मात्रै खर्च लाग्ने भयो।

फाउन्डेसनको काम सकिएपछि आउँछ वालको पालो। इँटा पाइन्छ भने त्यसैको लगाउने, पहाडतिर हो भने ढुंगाकै वाल लगाउँदा हुन्छ। तराईंतिर हेर्ने हो भने बाँसको चोयालाई बुनेर त्यसलाई भित्र र बाहिरबाट माटोले लिपेर पनि वाल बनाउन सकिन्छ।

भोलि तला नथप्ने हो भने एक तलाको मात्रै घरलाई ४ इन्चको इँटाको वाल लगाए पनि हुने इन्जिनियर गैरेले जानकारी दिए। फाउन्डेसन र ४ इन्चको वालसहित बन्ने एक तलाको स्टिल संरचना बनाउन झण्डै साढे ७ हजार इँटा आवश्यक पर्छ।

‘लगभग ३ लाख रुपैयाँ वाल निर्माणमा खर्चिनुपर्छ। प्लास्टर गर्न अर्को डेढ लाख रुपैयाँ लाग्छ,’ गैरेले भने। 

वालको काम सकिएपछि आउँछ छत (रुफ)को पालो। स्टिलको ट्रस छत बनाउन आवश्यक पर्छ। टिनको ट्रस हाल्ने हो भने ४-५ सय रुपैयाँ प्रति वर्गफिटमा तयार हुन्छ। गैरेका अनुसार साढे २ लाखदेखि साढे ४ लाख रुपैयाँमा छत तयार हुन्छ। आकर्षक छत नबनाइ फलाम तथा पाता प्रयोग गरे सस्तोमै हाल्न सकिन्छ। तर, घर आकर्षक र चिटिक्क देखिन भने साढे ४ लाख हाराहारी खर्चिनुपर्छ।

अब आउँछ घरमा बत्तीको काम। चारवटा कोठासहितका ठाउँमा बत्तीका लागि ७५ हजार रुपैयाँ पर्ने गैरेले जानकारी दिए। एउटा ट्वाइलेट बनाउन र घर भित्र तथा बाहिर रङरोगनका लागि १ लाख रुपैयाँ पर्छ। 

त्यसैगरी, स्ल्याब र टायल लगाएर बन्ने किचनको मूल्य ५० हजार रुपैयाँमा तयार हुन्छ। यदि मोडुलर किचन निर्माण गर्ने हो भने डेढ लाखदेखि साढे २ लाख रुपैयाँसम्म पर्ने गैरेले जानकारी दिए। टायल किचन र ट्ववाइलेटमा प्रयोग गर्नुपर्ने हुन्छ। जसका लागि ५०-६० हजार रुपैयाँ खर्चिनुपर्छ।

कोरामसिनो गर्न ६०-७० हजार रुपैयाँ लाग्छ। घरभरी ३ सय वर्गफिटको एल्मुनियम झ्याल आवश्यक पर्छ। प्रति वर्गफिट ४५० रुपैयाँ पर्छ। ठाउँअनुसार ढुवानी खर्च लाग्ने भएकाले त्यसका लागि झण्डै डेढ लाख खर्च आउने गैरेले जानकारी दिए। घरमा चाहिने ४ वटा रेडिमेड पल्लाको ढोका चौकोससहित ७० हजारदेखि एक लाख रुपैयाँसम्ममा आउँछ।