
काठमाडौं । ललितपुरको लेलेकी सुनिता मल्लले केही दिन अघि एक टिकटक इन्फ्लुसरले न्यूरोडको एक पसलको प्रचार गर्दै राखेको भिडियो हेरिन्। दसैंको छेकोमा इन्फ्लुसर प्रयोग गरेर बनाइएको भिडियो हेरेर उनी न्यूरोडमा पसल खोज्दै आफूलाई चाहिएको सामान किन्न पुगिन्।
उनी जस्तै सयौं युवायुवतीहरु अहिले टिकटक र रिल्समा भिडियो हेरेर सामान खरिद गर्न न्यूरोड क्षेत्र पुग्ने गरेका छन्।
दसैं सुरु भएसँगै मानिसहरु सामान किन्न बजार पुग्न थालेका छन्। न्यूरोड, इन्द्रचोक, असन लगायतका बजार क्षेत्रमा अहिले ग्राहकहरुको चहलपहल देख्न सकिन्छ।
घटस्थापना सुरु भएसँगै न्यूरोडका पसलहरुमा मानिसको भिड सुरु भएको छ। गाउँघर जानेहरु अहिले सामान किन्न बजार पुगिरहेका छन्।

विभिन्न कपडा, जुत्ता, ब्यागदेखि इलेक्ट्रोनिक सामानहरुको पसलमा अहिले भिड देख्न सकिन्छ।
अहिले न्यूरोड क्षेत्रका पसलहरुले टिकटक र रिल्स मार्फत ग्राहक तान्ने प्रयास गरिरहेका छन्। सानो भिडियोबाट आफ्नो पसलमा रहेका प्रडक्टहरुको प्रचार प्रसार गर्न बिक्रेताहरु तम्सिएका हुन्।








