
काभ्रे। बिहिबार रातिदेखि शनिबार अपराह्नसम्म परेको भारी वर्षाले वीपी राजमार्गमा धेरै ठाउँमा क्षति पुगेको छ।
नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले राजमार्ग करिब डेढ सय मिटर बगाएकामा त्यसबाहेक धेरै ठाउँमा पहिरोले क्षति पुर्याएको पाइएको छ।

धुलिखेलबाट केही किलोमिटर पर काभ्रे भञ्ज्याङमा नै राजमार्ग अवरुद्ध छ। काभ्रे भञ्ज्याङमा सडक नै खसेको छ। त्यहाँबाट अगाडि बढ्न सक्ने अवस्था छैन।

डोजर लगाएर बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको छ। तर ठाउँ-ठाउँमा बाटो नै खसेकाले यो राजमार्गमा तत्काल यात्रा गर्न सक्ने देखिंदैन। पहिरोका कारण गाडीहरूबीच बाटोमा फसेका छन्। यात्रुहरू अलपत्र परेका छन्।

भकुन्डेबेसी पुग्न नै सकस देखिएको छ। तत्काल बाटो बन्ने अवस्था नरहेकाले मानिसहरू हिंडेरै अगाडि बढेका छन्।
‘बिहान ७ बजे भकुन्डेबेसीबाट हिंडेको, काभ्रे भन्ज्याङमा आइपुग्दा २ बज्यो। बाटोमा ठाउँ-ठाउँमा अवरोध छ। माथिबाट पहिरो खसेको छ। कतै सडक नै खसेको छ। त्यसैले पहिरो पन्छाएर मात्र गाडी जाने अवस्था छैन,’ धुलिखेलका लागि हिँडेकी कान्छीमाया तामाङले भनिन्।

‘यो बाटो निकै सुरक्षित थियो। यसरी बिग्रिएको पहिलोपटक हो। यसअघि यस्तो देखाएको थिएन,’ प्राय: बर्दिवास आवतजावत गरिरहने रमेश नेपालले भने।

बाढी-पहिरोसँगै यता चट्याङको पनि प्रभाव परेको छ। फोनको नेटवर्क छैन भने इन्टरनेट पनि चलेको छैन। प्रहरीका अनुसार राजमार्गमा कति ठाउँमा अवरोध छ भन्ने यकिन हुन सकेको छैन।
‘राजमार्ग कहिलेसम्म खुल्छ भन्न सकिने अवस्था छैन,’ काभ्रे भञ्ज्याङका प्रहरी भन्छन्।

राजमार्गअन्तर्गत मंगलटार क्षेत्रमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टरमार्फत उद्धार गर्ने काम भइरहेको छ। हेलिकोप्टरमा कतिपयलाई धुलिखेल अस्पताल पुर्याइएको छ।