
काठमाडौं। ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः ‘मुखाकृति’सहितको आर्ट भिलेज निर्माण हुने भएको छ।
पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडा र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए।
ख्वापाःलाई ५ तलाको आरसीसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिने तयारी रहेको उनले बताए। भवनको अगाडिपट्टी ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना रहने उनले जानकारी दिए।
विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने उनले बताए।
उनका अनुसार कुल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ।
‘भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ,’ प्रवक्ता महर्जनले भने, ‘भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन्।’
मुखाकृतिको ४२ फिटको उचाइमा भएको भैरवको आँखा ‘भैरव दृष्टि’बाट काठमाडौं उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने उनले जानकारी दिए।
ख्वापाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ। परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा लगायत भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, बृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्क्वेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकुद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने जनाइएको छ।
कला नगरीका रुपमा विकास र प्रवर्धन गर्ने उद्देश्य रहेको यो परियोजना निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न सकिने जनाइएको छ। वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा सुरु भएको ख्वापाः निर्माणको जिम्मा उनका छोराहरु स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले सम्हाल्दै आएको छ।
प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरण/संकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रुपमा शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष शाक्यको निधनका कारण निर्माण प्रक्रिया ढिलाइ भएको जनाइएको छ।
हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए। यो ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी-बुङ्गमति हुँदै १०.५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ।
आवास क्षेत्रअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास, कलाग्रामअन्तर्गत नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य राखिएको जनाइएको छ। जसअन्तर्गत पर्यटकले सुनचाँदीका गरगहना, थं ज्याः (तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरू), थ्व ज्याः, मा ज्याः (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरू), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्याः (माटाका भाँडाकुँडा) र नः ज्याः (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान)लाई प्राथमिकता दिइ तालिम केन्द्र संचालन पनि गर्ने योजना रहेको छ।
यसैगरी, वनस्पति उद्यान केन्द्र अन्तर्गत लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्धनको उद्देश्य लिइएको छ। दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ।
पर्यटकलाई ‘जङ्गल पथ’बाट जङ्गल परिक्रमामार्फत वन्यजन्तु, पशुपंछी तथा वनस्पतिको विविधता अवलोकन गराइने जनाइएको छ।