यती एयरलाइन्सले ‘आयटा’बाट पायो उत्कृष्ट हवाई सुरक्षाको मान्यता, ‘महत्त्वपूर्ण उपलब्धि हो’

बिजमाण्डू
२०८१ साउन ३० गते १४:४८ | Aug 14, 2024
यती एयरलाइन्सले ‘आयटा’बाट पायो उत्कृष्ट हवाई सुरक्षाको मान्यता, ‘महत्त्वपूर्ण उपलब्धि हो’

काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ। आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट उक्त मान्यता पाएको हो।

Tata
GBIME

सुरक्षित र भरपर्दो उडान सेवा कायम गरेकोमा कम्पनीले यो मान्यता पाएको जनाएको छ।

‘आयटाबाट यो मान्यता पाउँदा हामी धेरै नै गौरवान्वित छौं। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ सीइओ सुभाष सापकोटाले भने, ‘यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ।’

कम्पनीको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले चरणवद्ध मूल्याङ्कनसँगै विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेको आधारमा यो मान्यता पाएको उनले जानकारी दिए।

यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले पछिल्लो समय विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डलाई प्राथमिकता दिँदै आएको उनले बताए। यसका लागि कम्पनीले अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको उनले जानकारी दिए।

हाल यतीले ७ वटा एटीआर-७२ सिरिजको जहाजमार्फत मुलुकका विभिन्‍न गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले दैनिक ३४ वटा उडान तालिकाअनुसार सेवा दिँदै आएको छ।