काठमाडौं। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ। आयटा अन्तर्गत स्ट्याण्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै कम्पनीले आयटाबाट उक्त मान्यता पाएको हो।
सुरक्षित र भरपर्दो उडान सेवा कायम गरेकोमा कम्पनीले यो मान्यता पाएको जनाएको छ।
‘आयटाबाट यो मान्यता पाउँदा हामी धेरै नै गौरवान्वित छौं। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ सीइओ सुभाष सापकोटाले भने, ‘यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ।’
कम्पनीको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले चरणवद्ध मूल्याङ्कनसँगै विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेको आधारमा यो मान्यता पाएको उनले जानकारी दिए।
यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले पछिल्लो समय विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डलाई प्राथमिकता दिँदै आएको उनले बताए। यसका लागि कम्पनीले अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको उनले जानकारी दिए।
हाल यतीले ७ वटा एटीआर-७२ सिरिजको जहाजमार्फत मुलुकका विभिन्न गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले दैनिक ३४ वटा उडान तालिकाअनुसार सेवा दिँदै आएको छ।