पूर्वाधार बैंक खोल्न चीनको प्रस्ताव,गोल्ड क्वाइनदेखि डेरिभेटिभ्ससम्म जारि गर्ने प्रस्ताव

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ भदौ १४ गते १०:३६ | Aug 30, 2017
काठमाडौं। नेपालमा बैंक खोल्न चीनले सरकारलाई प्रस्ताव पठाएको छ। अर्थमन्त्रालयलाई चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएको हो।
 
दुई साताअघि मात्र नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको थियो। अर्थमन्त्रालयले नेपालमा पूर्वाधार विकास बैंक खोल्न के कस्तो प्रावधान र प्रकृया छ भनेर राष्ट्र बैंकसँग राय मागेको छ।


 
राष्ट्र बैंकले चीनले पठाएको प्रस्तावमाथि राय तयार पार्दै अर्थ पठाउने अन्तिम तयारी गरिरहेको छ। चीनले एक खर्बको बैंकमा २० अर्ब रुपैयाँ बराबरको सेयर नेपाल सरकारलाई निशुल्क दिने प्रस्तावसमेत गरेको छ।
 
चीनको झोङ इ रिचवे होल्डिङ (संघाइ) लिमिटेडले नेपालमा बैंक खोल्न प्रस्ताव पठाएको हो। चीनले बैंकमार्फत पूर्वाधार निर्माणका साथै गोल्ड क्वाइनदेखि फाइनान्सियल डेरिभेटिभ्स जारि गर्नेसम्मको प्रस्ताव पठाएको छ। चीनले पठाएको प्रस्ताव अनुसार नेपालको कानुनले गोल्ड क्वाइन जारि गर्ने स्वीकृति दिँदैन।
 
नेपालमा पूर्वाधार विकास बैंक खोल्नका लागि कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ। चीनले राष्ट्र बैंकले तोकेभन्दा पाँच गुणा वढि पूँजीसहित नेपाल आउन खोजेको हो।
 
चीनियाँहरुले यसअघि पनि नेपालमा बैंक खोल्न चासो देखाएका थिए। तर उनीहरुले मौखिक प्रस्ताव मात्र गरेका थिए। यसपाली भने चीनले लिखित प्रस्तावै गरेको हो। 
 
'चीनबाट प्रस्ताव आएपछि हामीले प्रकृयाका बारेमा राष्ट्र बैंकसँग सोधेका छौं' अर्थमन्त्रालय स्रोतले भन्यो, 'राष्ट्र बैंकबाट विस्तृतमा सुझाव आएपछि हामी आवश्यक निर्णय गर्छौं।' सरकार चीनियाँ बैंक नेपालमा खोल्न दिनका लागि सकारात्मक छ।
 
नेपालको वित्तीय क्षेत्रमा चीनियाँहरुको अहिलेसम्म लगानी छैन। बाणिज्य बैंकहरुमा भारतलगायतका देशहरुको भने लगानी छ। नेपालमा ब्यापार बढ्न थालेपछि चीन बैंक खोल्न सकारात्मक देखिएको हो।
 
चिनियाँहरुले नेपालमा विकास आयोजना सञ्चालन गरिरहेका छन्। उनीहरु ती आयोजना पनि आफ्नै बैंकबाट अगाडि बढोस् भन्ने चाहन्छन्। केही वर्षयता नेपालमा चिनियाँ लगानीका ठूला आयोजना र वैदेशिक व्यापार बढिरहेको छ। आफ्नो व्यापार र लगानीलाई सहज बनाउन उनीहरुले आफ्नै लगानीमा बैंक खोल्न चासो दिएका हुन्। अहिले चिनियाँ बैंकहरुले नेपालसँगको कारोबार नेपाली बैंकमार्फत गरिरहेका छन्। 
 
डेढ बर्षअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र त्यहाँको केन्द्रीय बैंकबीच सुपरिवेक्षकीय सुचना आदनप्रदान गर्ने सम्झौता भएसँगै बैंक खोल्ने बाटो थप सहज भएको हो। 
 
नेपालमा चिनियाँ लगानीमा सिन्वा हाइड्रो, माथिल्लो त्रिशुली–३ ए, राजधानीको बाहिरी चत्रपथ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगालगायत दर्जनभन्दा बढी आयोजना सञ्चालनमा छन्। यसबाहेक चिनियाँले नेपालमा होटल तथा रेस्टुरेन्ट, वस्तु व्यापार तथा मासु प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन्। 
 
यसअघिका गभर्नर डा युवराज खतिवडाले सिन्हावासँग कुराकानी गर्दै एक्जिम बैंकले नेपालमा सेवा सञ्चालनका लागि चासो देखाएको बताएका थिए। एक्जिम बैंकको प्रतिनिधीले नेपालमा लगानी गर्न अनौपचारिक प्रस्ताव गरेको जानकारी खतिवडाले दिएका थिए। बैंकको लगानी नेपाल भित्र्याउन कुटनीतिक तहमा दुई देशवीच छलफल चलिरहेको बताएका थिए। तर त्यसले ठोस रुप लिन सकेको थिएन।
 
अघिल्लो पटक अर्थसचिव हुँदा शान्तराज सुवेदीले चिनियाँ अधिकारीलाई नेपालमा बैंक खोल्न आग्रह गरेका थिए। सचिवको आग्रहपछि चिनियाँ प्रतिनिधिले नेपालका सरोकारवाला निकायसँग छलफल थालेका थिए। सुवेदी अहिले फेरि अर्थमन्त्रालय फर्किएका छन्। 
 
व्यापारिक कारोबारमा समस्या भएको भन्दै नेपालले चिनियाँ बैंकको शाखा खोल्न नेपाल–चीन तिब्बत सहसचिवस्तरीय व्यापार सहजीकरण समिति बैठकमा पनि कुरा उठाएको थियो। चार बर्षअघिको वैठकमा पनि चीनीयाँहरुले शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए। 
  
नेपालमा चीन सरकारले दिने प्रत्यक्ष वैदेशिक सहायताको हिस्सा सानो भए पनि ऋण लगानी र व्यापारको हिस्सा ठूलो छ। 

Tata
GBIME