
काठमाडौं। संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गरेको हो।
राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन्। महालेखा परीक्षकमा १५ जनाले आवेदन दिएका थिए। पूर्वसचिव गोपिनाथ मैनाली, शिशिर ढुंगाना, रामप्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी लगायत प्रतिस्पर्धामा थिए।
शंकर खरेल, रामनाथ कुँवर, बामदेव शर्मा अधिकारी, महेश्वर काफ्ले, चन्द्रकान्त भण्डारी, बैकुण्ठ अधिकारी, अशोक कार्की र सुवोध कर्ण र हरि सिलवाल पनि प्रतिस्पर्धीको सूचीमा थिए।
प्रतिस्पर्धीहरुमध्येबाट सचिव रायाको नाम सिफारिस गरेको संवैधानिक परिषद्का एक सदस्यले जानकारी दिए। रायाको सचिवका रुपमा ५ वर्षे कार्यकाल आगामी भदौमा सकिंदै थियो। उनी २०७६ भदौ अन्तिममा सचिवमा बढुवा भएका थिए।
उनले सचिवमा बढुवा भएपछि सुरुमा बाग्मती प्रदेशको प्रमुख सचिवका रुपमा काम गरेका थिए। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरे।
रायासँग अर्थसचिवको रुपमा पनि काम गरेको अनुभव छ।
उनी एमाले निकट मानिन्छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले आफू अर्थमन्त्री हुँदा २०७९ पुस अन्तिममा रायालाई अर्थ मन्त्रालय लगेका थिए।
सचिवमा बढुवा हुनुअघि रायाले लामो समय अर्थ मन्त्रालय मातहत काम गरेका थिए। विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनले आन्तरिक राजस्व विभागमा उपहानिर्देशक र भन्सार विभागमा महानिर्देशकका रुपमा समेत काम गरेका थिए।
डा. युवराज खतिवडाले आफू अर्थमन्त्री हुँदा २०७४ चैत २६ गते रायालाई भन्सार विभागको महानिर्देशक बनाएका थिए। उनले एक वर्ष विभागको नेतृत्व गरेका थिए।
संवैंधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। महालेखा परीक्षकको कार्यकाल ६ वर्षको हुनेछ।
महालेखा परीक्षकको पद गत जेठ ७ गतेदेखि खालि थियो। टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षक कार्यालय नेतृत्वविहीन थियो।
परिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।