सेञ्चुरी बैंक ऋण दुरुपयोग प्रकरण: दुई अर्ब ११ करोड ऋणमा एक अर्ब ‘ओभर भ्यालुएसन’

सविन ढकाल
२०८० फागुन १५ गते १५:११ | Feb 27, 2024
सेञ्चुरी बैंक ऋण दुरुपयोग प्रकरण: दुई अर्ब ११ करोड ऋणमा एक अर्ब ‘ओभर भ्यालुएसन’

काठमाडौं । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका कर्मचारीको मिलेमतोमा एक अर्ब रुपैयाँको ‘ओभर भ्यालुएसन’ मा ऋण प्रवाह भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

Tata
GBIME

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान अनुसार प्रवाह भएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी (ओभर भ्यालुएसन) भएको देखिएको हो।

सीआइबीले ऋण प्रवाहमा हिनामिना गरेको अभियोगमा सोमबार र मंगलबार तत्कालीन सेन्चुरी बैंकबाट ऋण दिएका कर्मचारीहरुलाई पक्राउ गरेको छ। काठमाडौं र ललितपुरको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।

हाल सेञ्चुरीलाई प्रभु बैंकले गाभिसकेको छ। गाभिएसँगै कर्मचारीहरु प्रभुमा आएका थिए। तत्कालिन सेञ्‍चुरी कमर्सियल बैंकका पूर्व सीइओसहित कर्मचारीहरुलाई सीआइबीले पक्राउ गरेको हो। तुलसीराम गौतम र मनोज न्यौपाने बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्।

गौतमले अवकाश लिएपछि सेञ्चुरीमा न्यौपाने प्रमुख कार्यकारी अधिकृत भएका थिए। गाभिएपछि न्यौपानेसहित सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ पनि प्रभु आएका थिए। उनीहरुमध्ये मनोज, दीलिप, दीपेश, राजेश र रमण प्रभुमा बहालवाला कर्मचारी हुन्। बाँकीले भने अवकाश लिइसकेका छन्।

२०७७ सालमा बैंकले देउराली सहकारी मार्फत ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न कर्मचारीहरुलाई पक्राउ गरिएको हो।

तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो। त्यसबखत करिब दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण दिइएको थियो। त्यो ऋण पर्याप्त धितो नलिइ दिइएको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।

प्रभु बैंकले सो ऋण उठाउन पटक पटक ऋणीहरुलाई ताकेता गरेको थियो। त्यसपछि लिलामीका लागि सार्वजनिक आह्वानसमेत गरिएको थियो। तर सो लिलामी पनि हुन सकेको छैन। भएको सम्पत्तिबाट ऋण रकम उठ्ने अवस्था पनि छैन।

सेञ्चुरी कमर्सियल बैंकले पूजा मार्केटिङ प्रा.लिको नाममा ऋण दिएको थियो। त्यसको सञ्चालक र जमानीकर्ता रवीन्द्र चौलागाईं हुन्। यस्तै, पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रा.लिका नाममा पनि ऋण चलाइएको छ। यसको सञ्चालक पूजा खत्री हुन्। उनी रवीन्द्रकी श्रीमती हुन्।

यस्तै, श्रीथ्री ब्रदर्श मार्केटिङ प्रा.लिका नाममा पनि ऋण दिइएको छ। सो प्रा.लिका सञ्चालक पूजा र राजेन्द्र खत्री हुन्। साथै अन्नपूर्ण डिस्टिलरी प्रालिले पनि ऋण चलाएको छ। यसको सञ्चालक रवीन्द्र आफै हुन्। यी सबै कम्पनीहरुको नाममा रहेको घरजग्गा र केही मौज्दात धितोमा राखिएको छ।

सीआइबीले चौलागाईंलाई गत असोज १७ गते सहकारी ठगीमा समातेको थियो। सहकारीका सदस्यलाई आर्कषक ब्याजदर दिने प्रलोभन देखाइ निक्षेप जम्मा गर्न लगाएको तर पटक पटक ताकेता गर्दा पनि आफ्नो रकम फिर्ता नदिएको भन्दै निक्षेपकर्ताले सीआईबीमा उजुरी दिएका थिए। सीआईबीमा उनीविरुद्ध ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ निक्षेप दुरुपयोग गरेको उजुरी परेको थियो।

‘सहकारीबाट नै अनुसन्धान गर्दा थप गडबढीहरु देखिएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

३९ वर्षिय चौलागाई काभ्रेको चौरी देउराली गाउँपालिकाका हुन्।