दुई अर्ब डुबाउन भूमिका खेलेको आरोपमा बैंक कर्मचारी तानिए

सविन ढकाल
२०८० फागुन १५ गते १३:२५ | Feb 27, 2024
दुई अर्ब डुबाउन भूमिका खेलेको आरोपमा बैंक कर्मचारी तानिए

काठमाडौं । ऋण प्रवाहमा कमसल धितो राखेर हिनामिना गरेको आरोपमा प्रहरीले बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि बहालवाला बैंकरसम्मलाई पक्राउ गरेको छ। प्रहरीले बहालवाला ५ सहित ११ जनालाई पक्राउ गरेको हो।

Tata
GBIME
NLIC

तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकका पूर्व सीइओसहित कर्मचारीहरुलाई सीआइबीले पक्राउ गरेको हो। तुलसीराम गौतम र मनोज न्यौपाने बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न कर्मचारीहरुलाई पक्राउ गरेको हो। प्रहरीले सञ्चालक समितिका सदस्यहरुलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ।

सेञ्चुरी बैंक हाल प्रभु बैंकसँग गाभिइसकेको छ। गौतम अवकाश भएपछि न्यौपाने प्रमुख कार्यकारी अधिकृत भएका थिए। गाभिएपछि न्यौपानेसहित सबिन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनील बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ, दीलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी, रमण श्रेष्ठ पनि प्रभु आएका थिए।

उनीहरुमध्ये मनोज, दीलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले भने अवकाश लिइसकेका छन्।

तत्कालीन सेञ्‍चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो। त्यसबखत करिब दुई अर्ब रुपैयाँ ऋण दिइएको थियो। त्यो ऋण पर्याप्त धितो नलिइ दिइएको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।

प्रभु बैंकले सो ऋण उठाउन पटक-पटक ऋणीहरुलाई ताकेता गरेको थियो। त्यसपछि लिलामीका लागि सार्वजनिक आह्वानसमेत गरिएको थियो। तर सो लिलामी पनि हुन सकेको छैन। भएको सम्पत्तिबाट ऋण रकम उठ्ने अवस्था पनि छैन।

सेञ्चुरी कमर्सियल बैंकले पूजा मार्केटिङ प्रा.लिको नाममा ऋण दिएको थियो। त्यसको सञ्चालक र जमानीकर्ता रवीन्द्र चौलागाईं हुन्। यस्तै, पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रा.लिका नाममा पनि ऋण चलाइएको छ। यसको सञ्चालक पूजा खत्री हुन्। उनी रवीन्द्रकी श्रीमती हुन्।

यस्तै, श्री थ्री ब्रदर्श मार्केटिङ प्रा.लिका नाममा पनि ऋण दिइएको छ। सो प्रा.लिका सञ्चालक पूजा र राजेन्द्र खत्री हुन्। साथै अन्नपूर्ण डिस्टिलरी प्रालिले पनि ऋण चलाएको छ। यसको सञ्चालक रवीन्द्र आफैं हुन्। यी सबै कम्पनीहरुको नाममा रहेको घरजग्गा र केही मौज्दात धितोमा राखिएको छ। स्रोतका अनुसार ऋण रकमको ३० प्रतिशत मात्र यसले खाम्ने छ। केही गाडीहरु पनि धितोमा राखिएको छ।

रवीन्द्रले देउराली सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको भेटिएको छ। सीआइबीले यसको पनि अनुसन्धान गरिरहेको छ। चौलागाईंले १० वटा कम्पनीबाट बैंकहरुको ४ अर्ब र सहकारीको ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।

केही दिनदेखि सीआइबीमा ऋण हिनामिनाको आरोप लागेका बैंकका कर्मचारीलाई बोलाएर सोधपुछ भइरहेको थियो। जसको कमाण्ड एसपी होबेन्द्र बोगटीले सम्हालेका थिए। सीआइबीको २ नम्बर पिलरले केही सातादेखि यो मुद्दाको अनुसन्धान गरिरहेको थियो। चौलागाईंलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

सहकारी सञ्चालकहरुलाई दिएको ऋण डुबेको बिषयलाई ब्यूरोले हेर्न थालेको छ। अब अन्य सहकारीका सञ्चालकलाई दिएको ऋणका बारेमा पनि अनुसन्धान गर्ने भएको छ। नेपाल एसबीआई बैंकसहितका केही बैंकमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार भारतीय प्रभावमा एसबीआई बैंकबाट सहकारी सञ्चालकहरुलाई ठूली ऋण प्रवाह भएको छ, जुन ऋण अहिले डुबेको छ।