
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अध्यक्ष पद अस्थिर हुँदा त्यसको असर उसको काममा परेको छ। नेप्सेले गत वर्ष नै अघि सारेका योजना अध्यक्ष पद अस्थिर हुँदा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेका छैनन्।
नेप्से-३० इन्डेक्स, ओटीसी बजारलाई अनलाइनमा रुपान्तरण गर्ने प्रणाली, डाटा सेन्टरको अपग्रेसन लगायत योजना अलपत्र परेका छन्। नेप्से-३० गत साउनमा नै लञ्च गर्ने भनिएकामा कहिले कार्यन्वयनमा आउँछ भन्ने अझै टुंगो छैन। डाटा सेन्टर अपग्रेसनका लागि टेण्डर प्रक्रिया अगाडि बढेको छैन। कतिपय प्रस्ताव संचालक समितिमा अड्किएका छन्।
नेप्सेले आफ्ना योजना अलपत्र पर्नुमा अध्यक्ष पद अस्थिर हुनुलाई मुख्य कारण मानेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अध्यक्ष चाँडो फेरिने गरेको असर काममा परेको बताए।
‘डेरिभेटिभ र इन्ट्रा डे लगायत सबैखालका कारोबार गर्न मिल्ने डाटा सेन्टर निर्माण लगायतका योजना रोकिएका छन्। डाटा सेन्टर निर्माणका लागि टेण्डर आह्वान गर्न सकिएको छैन संचालक समितिबाट निर्णय नभएकाले। नेप्सेमा अध्यक्ष फेरिएको फेरियै गर्दा हाम्रा काम अलपत्र परेका हुन्,’ सीईओ कार्कीले बिजमाण्डूसँग भने, ‘हामीले नेप्से-३० इन्डेक्स बनाउने प्रक्रिया अगाडि बढाएपछि ३ जना अध्यक्षज्यू फेरिसक्नु भयो। एउटालाई राम्रोसँग बुझाइ नसक्दै अध्यक्षमा अर्को आइपुग्ने गरेकाले समस्या भएको हो।’
उनका अनुसार विभिन्न डेरिभेटिभहरुको कारोबार गर्न मिल्ने गरी डेटा सेन्टर अपग्रेसनका लागि टेण्डर आह्वानको प्रस्ताव संचालक समितिमा अड्किएको छ। ओटीसी कारोबार अनलाइनबाट गर्न मिल्ने सिस्टम तयार गरिएपनि संचालनमा ल्याइएको छैन।
‘सिस्टम केही महिनाअघि नै तयार भइसकेको छ। यसलाई चलाउन बाँकी छ। कर्मचारीले सिस्टम चलाउन मानिरहेका छैनन्। संचालक समितिबाट ठोस निर्णय हुन सकेको भए कर्मचारीले अनलाइन सिस्टमबाट काम गर्नुको विकल्प हुदैन्थ्यो,’ नेप्से स्रोतले भन्यो, ‘संचालक समिति प्रभावकारी हुन नसक्दा कर्मचारीको पनि मनोमानी बढेको छ।’ ओटीसी बजारमा कारोबार भने धेरै हुने गरेको छैन।
नेप्सेको संचालक समितिको अध्यक्ष अर्थ मन्त्रालय मातहतका सहसचिवलाई बनाउने गरिएको छ। नेप्से-३० इन्डेक्सको योजना अगाडि सार्दा नेप्सेमा चक्रबहादुर बुढा अध्यक्ष थिए। उनको कार्यकालमा यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार भयो।
अर्थ मन्त्रालयबाट बुढाको सरुवा भएपछि २०८० असार ३ गते नेप्सेमा अध्यक्षको जिम्मेवारी भूपाल बरालले पाए। तर बराललाई नेप्से-३० इन्डेक्सबारे बुझाउन नेप्से व्यवस्थापनलाई समय लाग्यो। बल्ल बल्ल बुझाएपछि कार्यविधिको मस्यौदा संचालक समितिमा पुग्यो, तर उनको ठाउँमा अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाए।
बराल ५ महिना मात्र अध्यक्ष पदमा बहाल रहे। उनी अर्थ मन्त्रालयभित्रै रहेपनि मन्त्री डा. प्रकाशशरण महतले मंसिर २६ गते भन्सार विभागका महानिर्देशक पौडेललाई नेप्सेको अध्यक्ष बनाए। पौडेललाई नेप्से व्यवस्थापनले नेप्से-३० इन्डेक्सबारे बुझाउन सकेको छैन।
यो बीचमा नेप्सेमा नेपाल राष्ट्र बैंकले पठाउने संचालक पनि फेरिएका छन्। संचालक समितिले यसअघि नेप्से-३० को संयोजक तोकेका अनुज दाहालको ठाउँमा राष्ट्र बैंकबाट अहिले हेमप्रसाद न्यौपाने आएका छन्।
‘पुरानै संयोजक र पुरानै अध्यक्ष भएको भए नेप्से ३० पहिला नै कार्यान्वयनमा आइसक्थ्यो। नयाँ संयोजक र अध्यक्षलाई यो के हो भनेर बुझाउनै समय लागेका कारण सबै तयारीका बाबजुद कार्यान्वयनमा ल्याउन नसकिएको हो। बोर्डबाट निर्णय हुने बित्तिकै कार्यन्वयनमा ल्याउने तयारी छ। तर निर्णय कहिले हुन्छ हामीले भन्न सक्ने अवस्था रहेन,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने।
पौडेलले अध्यक्षको जिम्मेवारी सम्हालेपछि साधारण सभा गर्ने बाहेक अरु ठोस काम केही भएको छैन।