कसले तिर्‍यो अमिताभ बच्चनको ६० करोड ऋण?

बिजमाण्डू
२०७२ चैत्र २७ गते ००:०० | Apr 9, 2016
कसले तिर्‍यो अमिताभ बच्चनको ६० करोड ऋण?


विश्वका धनी र शक्तिशाली व्यक्तिहरुले कर छल्नका लागि सम्पति लुकाउने गरेका दस्तावेजहरु पनामा पेपर्स लिक्सबाट सार्वजनिक भएपछि विश्वभर प्रभाव पर्ने क्रम जारी छ। आइसल्यान्डका प्रधानमन्त्रीले यसैका कारण राजीनामा दिइसके भने अफसोर अकाउन्टबाट नाफा लिएको भनी स्वीकार गरेपछि बेलायतका प्रधानमन्त्री पनि संकटमा छन्।

Tata
GBIME
NLIC

बलिउड स्टार अमिताभ बच्चनले कर छलेको खुलासा पनि भारतीय मिडिया डिएनएको अनुसन्धान समूहले गरेको छ। आफ्नो ऋण तिर्नका लागि अमिताभले अफसोर कम्पनीबाट गरेको तिकडमको खुलासापछि अब उनीमाथि पनि संकट गहिरिने देखिन्छ। के यो खुलासापछि बलिउडका यी हिरो जनताको नजरमा जिरो बन्लान्? पढ्नुस् डिएनएको अनुसन्धानमूलक समाचारको नेपाली भावानुवाद।
 
डिसेम्बर २२, २००९ मा भारतका तत्कालीन अर्थमन्त्री (हालका राष्ट्रपति) प्रणव मुखर्जीले बलिउड सुपरस्टार अमिताभ बच्चनको एउटा पत्र पाए। अघिल्लो रात बच्चन र मुखर्जीबीच भएको टेलिफोन कुराकानीको आधारमा यो पत्र लेखिएको थियो।
 
अर्थमन्त्रीलाई ‘प्रणव दा’  सम्बोधन गरिएको पत्रमा लेखिएको व्यहोराको अनुवाद यस्तो थियो-

“मुम्बईको आयकर विभागको अनुसन्धान विभागले मलाई पठाएको सूचनामा ममाथि शंकाको औँला ठड्याइएको छ, जुन निकै दुर्भाग्यपूर्ण छ। मिडियाको हास्यास्पद रिपोर्टाजलाई विभागले मविरुद्धको केस उठाउने सजिलो उपायको रुपमा लिएको छ। म यो सम्बन्धमा आफू निर्दोष रहेको बताउन चाहन्छु र मलाई थप ह्यारेसमेन्ट हुनबाट बचाउन आग्रह गर्न चाहन्छु।“


त्यसपछि आयकर विभागले कर छलीको स्पष्ट प्रमाण हुँदाहुँदै पनि बच्चनलाई छानबिनको दायरामा ल्याएन।

शंकास्पद कारोबार र भुक्तान

अहिले आएर कर छलीको विषयमा आयकरले गरेको छानबिन, शंकास्पद कारोबार र बच्चनको नाममा अफसोर ट्याक्स हेभनमा भएका भुक्तानको खुलासा भएको हो।
 
६० लाख पाउन्ड बराबरको भुक्तान मरिससबाट ‘राउट’ गरिएको थियो जुन बच्चनले लिएको भनिएको ऋण तिर्नका लागि थियो। बच्चनले यो रकमबारे घोषणा गरेका थिएनन् किनभने यसलाई उनले आयका रुपमा घोषणा गरेका थिएनन् र त्यसको कर पनि तिरेका थिएनन्।

यसमा अझै रोचक कुरा के पनि रह्यो भने ऋण सुव्रत रोयको स्वामित्वमा रहेको सहारा ग्रुपले तिरेको थियो। जब आयकरका अनुसन्धानकर्ताहरुले यस्ता कारोबारहरुको शृङ्खला नै भेट्टाए, उनीहरुले अनुसन्धान थाले र धेरैलाई सोधपूछ गरे। त्यतिमात्र हैन इन्फोर्समेन्ट डाइरेक्टोरेटलाई विदेशी मुद्रासम्बन्धी ऐनको उल्लङ्घन भएको बारे छानबिन गर्न भनियो।

तर कर छलीको बलियो प्रमाण हुँदाहुँदै पनि आयकरको केस थाती रह्यो। बम्बे उच्च अदालतले छानबिन थाल भनेर निर्देशन दिँदादिँदै पनि इन्फोर्समेन्ट डाइरेक्टोरेटले छानबिन सुरु नै गरेन।

के थियो प्रकरण?

सन् १९९३ देखि १९९५ को दुई वर्षबीच बच्चनले ५६ लाख ५० हजार डलर ऋण भारतीय व्यापारी छोटुभाइ केशवभाइ पिठावाला (अहिले मृत्यु भइसकेको) सँग लिएका थिए।  पिठावाला जर्मनीमा धेरै वटा व्यवसायमा संलग्न थिए। यी ऋण बच्चनको बिजनेस भेन्चरका लागि लिइएको भनिएको थियो। रकम बच्चनलाई अफसोर ट्याक्स हेभन च्यानल आइल्यान्डको एउटा कम्पनीबाट पिठावालाले पठाएका थिए। यो ऋण सन् १९९६ मा भुक्तान गरिएको थियो।
 
त्यतिबेला बलिउडका यी सुपरस्टारका खराब दिन चल्दै थिए। व्‍यापारहरु रातो थिए र उनको फ्ल्यागसिप कम्पनी अमिताभ बच्चन कर्पोरेसन लिमिटेड (एबिसिएल) घाटामा गइरहेको थियो। जब बच्चनले पिठावालालाई ऋण भुक्तान गर्नुपर्ने वर्ष थियो, त्यतिबेला एबिसिएलले बंगलौरमा गरेको मिस वर्ल्ड सौन्दर्य प्रतियोगिता आर्थिक रुपमा निकै घाटामा गयो। प्रतियोगितामा अरुसहित बच्चनकी हालकी बुहारी ऐश्वर्या राय र विजय माल्या जज थिए।
 
सन् १९९६ मा बच्चनले पिठावालालाई भुक्तान गर्न सकेनन् र एक वर्षको समय थपियो। मार्च ३१, १९९७ मा थपिएको समय पनि सकियो तर पनि ऋण बाँकी नै रह्यो। जुलाई १६, १९९७ मा बच्‍चनले पिठावालाको कम्पनी पाटचोम इन्टरन्यासनल इन्जिनियरिङ एजीलाई ६३ लाख डलर बराबरको ‘प्रोमिसरी नोट’ इस्यु गरे। अगस्त १५, १९९७ सम्म ऋण भुक्तान नभए मासिक ब्याज १.५ प्रतिशत तिर्ने प्रावधान त्यसमा थियो। बच्चनको बिजनेस ओरालो लागेको लाग्यै भएकोले ऋण भुक्तान हुनै सकेन। पिठावालाले आफ्नो जर्मन वकीललाई भनेर बच्चनलाई ८४ लाख डलर भुक्तान गर्ने नोटिस पठाउन लगाए।

बम्बे हाइकोर्टमा पिठावालाविरुद्ध मुद्दा

सन् २००० मा बच्चनले आफ्नो प्रमिसरी नोट रद्द हुनुपर्ने माग गर्दै बम्बे हाइकोर्टमा पिठावालाविरुद्ध मुद्दा हाले। यसको जवाफमा पिठावालले बच्चनविरुद्ध दुई वटा मुद्दा दर्ता गरे। सन् २००० मा दर्ता गरिएको पहिलो मुद्दामा बच्चनसित ९० लाख अमेरिकी डलर माग गरिएको थियो भने सन् २००२ को दोस्रो फौजदारी मुद्दामा धोका र ठगी गरिएको आरोप थियो। सन् २००० को देवानी र २००२ को फौजदारी केसको अन्तरालमा पिठावाला र बच्चनबीच रोचक डिलिङहरु भएका थिए।

सन् २००१ को जुलाई ११ मा बच्चनसित पिठावालाले उनको मुम्बईस्थित निवासमा भेटे। बच्चनले मुद्दा दायर गरेको केही महिनापछि यो भेट भएको थियो। यो भेटमा बच्चनका भाइ अजिताभ बच्चन र अर्का एक व्यक्ति एच नागेसवारन पनि साथै थिए।
 
नागेसवारनको बच्चन वा पिठावालासँगको सम्बन्धबारे खासै थाहा हुन सकेको छैन। डिएनएले अदालतको दस्तावेजमा खोजी गर्दा उनको ठेगाना मुम्बईको दादर (वेस्ट) रहेको फेला पर्‍यो। तर त्यहाँ पुग्दा उनको फ्ल्याट सिल गरिएको थियो भने ढोकाबाहिर पोजेसन नोटिस टाँसिएको थियो। सोसाइटीका गार्डले उनी विगत आठ वर्षदेखि नदेखिएको बताए।
अजिताभ बच्चनसँग कुरा गर्दा भने उनले आफू भर्खरै शल्यचिकित्सा गरी स्वास्थ्य लाभ गरिरहेको हुनाले थप प्रतिक्रिया दिन नसकिने बताए।

के भएको थियो जुलाई ११ को त्यो मिटिङमा?

डिएनएले बच्चन दाजुभाइ र नागेसवारनसित भएको जुलाई ११ को त्यो मिटिङको माइन्युटसमेत भेट्टाएको छ। यो माइन्युटलाई पिठावालाले रेकर्ड गरेर मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेटमा छुट्टै केसका रुपमा समेत दर्ता गरेको थियो। यो दस्तावेजले बच्चनको ऋण कसरी सेटल गर्ने भनी भएको डिल देखाउँछ।

माइन्युटमा अजिताभ बच्चनले पिठावालालाई ३ करोड रुपैयासँग तिर्ने र त्यसलाई उपयुक्त ब्याजदरमा दिइएको धितोका रुपमा रहने सहमति भएको थियो। यसबाहेक अमिताभले सम्पति धितो राखेर आर्थिक संस्थामार्फत् थप १० करोड ऋण लिने व्यवस्था मिलाउने सहमति भएको थियो।

यो १० करोड ऋण पाएपछि पिठावालाले ३ करोड रुपैयाँ धितो ब्याजसहित अमिताभलाई फिर्ता गर्ने सहमति थियो। दस्तावेजमा लेखिए अनुसार यो कारोबार पिठावालाले ९० लाख अमेरिकी डलर उठाउने सुरुवाती बिन्दु हुनेछ।
 
माइन्युटको अन्तिम पेजमा डिलका मोडालिटीहरुबारे उल्लेख थियो। पिठावाला र बच्चनबीच ९० लाख डलर तिर्न तीन चरणको सेटलमेन्ट प्रक्रिया भएको देखिन्छ। त्यस अनुसार जुलाई २००१ को अन्त्यसम्ममा बच्चनले ३० लाख डलर तिर्ने र मार्च ३१, २००३ सम्ममा अर्को ३० लाख डलर तिर्ने सहमति थियो। बाँकी रकम भने ब्याजसहित मार्च २००५ सम्ममा बच्चनले तिर्नुपर्थ्यो।

बच्चनविरुद्ध ठगी र धोकाको केस

यति सहमति भइसकेको एक महिनापछि पिठावालाले किन नोभेम्बर १, २००२ मा बच्चनविरुद्ध ठगी र धोकाको केस दर्ता गरे भन्ने स्पष्ट छैन। आयकरका अधिकारीहरुले भेट्टाएका थिए कि फौजदारी केस दर्ता भएको केही दिनमा नै बच्चनले पिठावालालाई डिपोजिटका रुपमा १० करोड रुपैयाँ तिरेका थिए। नोभेम्बर २० र २३, २००२ का दिन पाँच पाँच करोड भुक्तान गरिएको थियो।
 
पिठावालाको कम्पनीको लन्डनको बार्क्लेज बैँकमा झण्डै ६० लाख पाउन्ड जम्मा भएको देखिन्छ। मार्च २६, २००३ मा पिठावालाको लन्डनको खातामा साढे ४६ लाख पाउन्ड आएको छ। त्यसको केही दिनपछि अप्रिल १०, २०१३ मा १४ लाख पाउन्ड आएको छ। सन् २००३ को विनिमय दर अनुसार ६० लाख पाउन्ड बराबर झण्डै ९६ लाख डलर हुन आउँछ। यति नै रकम पिठावालाले बच्चनसँग मागेका थिए र जुलाई ११, २००१ को दिन बच्चनको घरमा भएको छलफलमा भुक्तान प्रक्रियाबारे छलफल भएको थियो।


बच्चनविरुद्ध फौजदारी केस फिर्ता

रोचक कुरा के रह्यो भने पिठावालाले अप्रिल ३,  २००३ को दिन बच्चनविरुद्धको देवानी मुद्दा फिर्ता लिए। साढे ४६ लाख पाउन्डको पहिलो पेमेन्ट भुक्तान भएको एक हप्तापछि मुद्दा फिर्ता लिइएको थियो। १४ लाख पाउन्डको दोस्रो किस्ता पाएको झण्डै एक हप्तापछि अर्को फौजदारी केस पनि फिर्ता लिइयो। १० करोड रुपैयाँको ‘धरौटी’ पिठावालाले बच्चनलाई अप्रिल १७, २००३ का दिन फिर्ता दिए। यो बच्चनले ऋण पूरै तिरेको एक हप्तापछिको घटना थियो।

यी सब घटनाक्रमले अनुसन्धानकर्ताहरुलाई थप शंका उब्जायो।

पिठावालाको कम्पनीको बैँक खाताको स्टेटमेन्टले रकम आएको देखाए पनि बच्चनले विगतमा पिठावालालाई ऋण तिरेको (र त्यसकारण लिएको पनि) अस्वीकार गर्दै आएका छन्। पिठावालाले आयकरका अधिकारीहरुलाई बच्चनलाई ऋण दिएको बताएका थिए।

डिएनए पत्रिकाले बच्चनलाई यसबारे जानकारीका लागि पटक पटक पठाएका इमेलहरुको जवाफ पत्रिका प्रेसमा जाँदासम्म आएको थिएन।

कसले तिर्‍यो बच्चनको ऋण?

यदि बच्चनले पिठावालासित लिएको ऋण नतिरेको भए उनको लागि कसले तिरिदियो त?

पिठावालाको बैँक अकाउन्ट स्टेटमेन्टले कूल ६० लाख पाउन्डका दुई पेमेन्ट पिबिएल मरिसस लिमिटेड नामको एउटा कम्पनीले भुक्तान गरेको देखाउँछ। यो अफसोर कम्पनी अस्ट्रेलियन अर्बपति जेम्स प्याकर (मिडिया मुगल केरी प्‍याकरका छोरा) को हो। प्याकरको कम्पनीले एउटा भारतीय कम्पनीको हिस्सा खरिद गरेको थियो जसले सन् २००० को दशकको सुरुमा भारतीय टिभी दूरदर्शनका कार्यक्रम स्लटहरु खरिद गरेको थियो। भारतको राष्ट्रिय प्रसारकसँग समय किन्ने यस्तै बिजनेसमा बच्चनको एबिसिएल पनि संलग्न थियो। हिन्दु पत्रिकाको सेप्टेम्बर ९, २००० को रिपोर्टमा बच्चन प्याकरले आयोजना गरेको पार्टीमा सहभागी भएको देखाउँछ। बच्चनले प्याकरसँगको व्यवसायिक सम्बन्धबारे प्रश्नहरुको जवाफ दिएनन्।
 
पिबिएल मरिसस लिमिटेडले पिठावालाको कम्पनीलाई गरेको भुक्तान मुम्बईमा मुख्य कार्यालय भएको कम्पनी लहरी प्रोडक्सन प्रालिको भुक्तानको सट्टामा थियो। लहरी प्रोडक्सन श्रीपल मोराखिया नामका व्यक्तिको स्वामित्वमा थियो।
 
मोराखिया इन्भेस्टमेन्ट ब्याङ्करबाट फिल्म निर्देशकमा परिणत भएका व्यक्ति थिए। उनी नैना नामको डेब्यु मूभिका लागि प्रख्यात छन् जसकी हिरोइन उर्मिला मातोन्डकर थिइन्। आयकरका स्रोतहरुले गरेको खुलासा अनुसार लहरी प्रोडक्सनलाई सुब्रता रोयको स्वामित्वमा रहेको सहारा इन्डिया मिडिया कम्युनिकेसन्स लि. को तर्फबाट भुक्तान भएको थियो। यही सहारा इन्डिया अहिले सहारा वन मिडिया इन्टरटेमेन्ट लिको रुपमा रहेको छ।

सुब्रत रोयसँग बच्चनको व्यवसायिक सम्बन्ध

बच्चनको सुव्रत रोयसँगको व्यवसायिक सम्बन्ध खुला किताब जस्तै छ। रिडिफमा जुन २२, १९९९ मा छापिएको समाचार अनुसार बच्चनले एबिसिएलको कार्यालय सहारा इन्डियाको मुम्बईस्थित कार्यालयमा सारेका थिए। एबिसिएलका सम्पतिहरु ऋण नतिरेका कारण सिज हुने गरी वारेन्ट जारी भएपछि यसरी कार्यालय सारिएको थियो। रिपोर्टमा के पनि भनिएको थियो भने सन् १९९८ मा बच्चन र उनकी पत्नी जया बच्चन सहाराको नन बैँकिङ फाइनान्स स्किमको प्रवर्द्धनका लागि गाउँ र नगरहरुमा पुगेका थिए। उनीहरुले यी स्किमहरुको प्रवर्द्धनका लागि आफ्ना अनुहारहरु पोस्टरमा उपयोग गर्न समेत अनुमति दिएका थिए। यही स्किमहरुमार्फत् सहाराले नगर गाउँहरुका साना लगानीकर्तामार्फत् गैरकानुनी रुपमा २७ हजार करोड रुपैयाँ परिचालन गरेको थियो। २४ हजार करोड रुपैयाँ रकम तीन करोड साना लगानीकर्तालाई फिर्ता दिन सहारा असफल भएको थियो। यो बच्चनले सहाराका स्किमहरु प्रवर्ध्दन गर्दाको परिणाम थियो। यसैकारण सहारा बोस सुव्रत रोय जेल पर्ने स्थिति आएको थियो।
सहाराका प्रवक्ता बच्चनको ऋण तिरेको स्वीकार्दैनन् र जोड दिन्छन्- ‘तपाइँ जानुस् र श्री बच्चनलाई गएर सोध्नुस्।’

आयकर विभागका स्रोतहरुले कारोबारहरुको पूरै शृङ्खला जुन अन्ततः लन्डनको पिठावालको बैँक अकाउन्टमा जान्छ, त्यसको सुरुवात सहाराबाट भएको छ।

सन् २००४ को वार्षिक प्रतिवेदनमा सहारा वन मिडिया एन्ड इन्टरटेनमेन्टले ६० करोड रुपैयाँ भ्‍यालुको एक्टर राइट्सको ओपनिङ स्टक लहिरी प्रोडक्सनबाट खरिद गरिएको उल्लेख गरेको छ।

तर के त्यो एक्टर राइट्स अमिताभ बच्चनको थियो भन्ने प्रश्नमा सहाराका प्रवक्ता अस्वीकार गर्छन्। आफूहरुले बच्चनको अधिकार विगतमा कसैबाट नकिनेको दावी उनी गर्छन्।

डिएनएले लहिरी प्रोडक्सनका मालिक श्रीपाल मोराखियालाई सम्पर्क गर्दा उनले जवाफ दिन अस्वीकार गर्दै भने, ‘म ओछ्यानमा छु, पछि कुरा गर्छु।‘ बच्चनले भने आफ्नो अधिकार बिक्री र खरिद गरिएका प्रश्न बारे जवाफ दिएनन्।

तर आयकरका अधिकारीहरु ती कलाकार अमिताभ बच्चनबाहेक कोही हुन नसक्नेमा निश्चित छन्। लहिरी प्रोड्कसन र अमिताभ बच्चन बीच उनको अधिकार खरिद गर्ने बारे जुन २८, २००० मा सहमति भएको थियो। लहिरी प्रोडक्सनको ब्यालेन्स सिटहरुले देखाउँछ कि केही लाखको टर्न ओभरले कम्पनी घाटामा गएको छ। अनुसन्धानकर्ताहरुलाई अच्ममा पार्ने गरी एउटा कम्पनी जसको भर्चुअली कुनै बिजनेस छैन, त्यो सित भारतकै सबैभन्दा ठूलो सेलिब्रिटी अमिताभ बच्चनको अधिकार छ। त्यसपछि अनुसन्धानकर्ताहरुले लहिरी प्रोडक्सनका बैँक खाताहरु छानबिन गरे।  

बैँक खाताहरुले देखाए कि सहारा वन मिडिया एन्ड इन्टरटेनमेन्टले लहरी प्रोडक्सनलाई दुई किस्तामा ६० करोड रुपैयाँ तिरेको थियो। मार्च २४, २००३ मा ४६ करोड र अप्रिल ९, २००३ मा बाँकी १४ करोड।


पिबिएल मरिसस लिमिटेडको भूमिका

लहिरी प्रोडक्सनका बैँक खाताहरु छानबिन गर्ने क्रममा अनुसन्धानकर्ताहरुले पत्ता लगाए कि सहाराबाट रकम पाउने बित्तिकै उसले रकम पिबिएल मरिसस लिमिटेडलाई ट्रान्सफर गरेको थियो। पहिलो भुक्तान ३६ करोड रुपैयाँ पिबिएल मरिससलाई भुक्तान गरिएको थियो भने बाँकी १० करोड रुपैयाँ एबिसिएललाई ट्रान्सफर गरिएको थियो। दोस्रो पेमेन्टको ११.३ करोड पिबिएल मरिससलाई ट्रान्सफर गरिएको थियो। यति नै रकम बच्चनले पिठावालालाई तिर्नुपर्थ्यो।

स्रोतहरुका अनुसार लहिरी प्रोडक्सनका वास्तविक मालिक पिबिएल मरिसस नै थियो। नयाँ नाम राख्नुअघि लहिरी प्रोडक्सनलाई एचएफसिएल- नाइन नेटवर्क्स इन्डिया लिमिटेड भनिन्थ्यो जुन कम्पनीको हिस्सा जेम्स प्याकर थियो जसको लञ्च पार्टीमा बच्चनले सन् २००० मा सहभागिता जनाएका थिए।

आफूकहाँ रकम आएको भोलिपल्टै पिबिएल मरिससले त्यो रकम पिठावालाको कम्पनी प्याटचोम इन्टरनेसनल इन्जिनियरिङ एजीको खातामा ट्रान्सफर गरेको थियो। बार्कलेज बैँक अकाउन्टको स्टेटमेन्टले देखाउछ कि कम्पनीको नाममा पिबिएल मरिससले दुई पटक भुक्तान गरेको छ- पहिलो मार्च २६, २००३ मा ४६ लाख पाउन्डको र दोस्रो अप्रिल १०, २००३ मा १४ लाख पाउन्डको।

यसरी आयकरका एक अधिकारीका अनुसार सहाराले बच्चनको पिठावालासितको ऋण तिर्न पिबिएल मरिससलाई मोहरा बनाएको थियो र शंकास्पद कम्पनीको नाममा कलाकारको राइट किनेर लुकाएर कारोबार गरिएको थियो। यो बच्चनको आम्दानी थियो र उनले यसलाई लुकाए। जिम्मेवार नागरिकका रुपमा उनले यसो गर्नु हुँदैन थियो। उनले कर छले। यो गैरकानुनी हो।

पिठावालाले पनि पिबिएल मरिससबाट रकम पाएको स्वीकार गरेका थिए। उनले अनुसन्धानकर्ताहरुलाई पिबिएल मरिसस कम्पनीसँग कहिल्यै कारोबार नगरेकोले यो रकम अमिताभ बच्चनको ऋण तिर्नको लागि नै गरिएको विश्वास आफूलाई भएको बताएका थिए। 

विरोध र जवाफ

समाचार प्रकाशन भएपछि अमिताभ बच्चनले आफू कानुन पालना गर्ने नागरिक भएको र आयकर विभागको अनुसन्धानलाई सघाइरहेको बताएका छन्। विपक्षी कांग्रेसले भने बच्चनलाई बाघ बचाउ अभियानको महाराष्ट्र सदभाव दूतबाट हटाउन र बिकेसी इन्टरन्यासनल फाइनान्सियल सेन्टरको विकासका लागि सल्लाहकारबाट हटाउन माग गरेको छ।