काठमाडौँ । नेपाल र म्यान्माबीचको आर्थिक व्यावसायिक सम्भाव्यता अध्ययनका गर्न नेपाल उद्योग वाणिज्य महासङ्घको टोली याङ्गुन गएको छ । अध्यक्ष सुरज वैद्यको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल आइतवार याङगुन गएको हो । म्यान्माको नेपाली दूतावास र त्यहाँ रहेका गैरआवासीय नेपालीहरूको पहलमा भ्रमण कार्यक्रम आयोजना गरिएको महासंघले जानकार दिएको छ । महासङ्घको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा अत्यन्त न्यून परिमाणमा हुँदै आएको द्विपक्षीय व्यापारलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयलाई विशेषरूपमा उठाउने र बाह्य लगानीाका लागि नेपालले लिएको नीतिगत व्यवस्थाबारे त्यहाँका उद्योगी एवम् व्यवसायीलाई जानकारी गराउने बताइएको छ ।
भ्रमणका क्रममा एसियाली प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमूलक संस्था क्यासीको अध्यक्षात्मक भ्रमणमा पनि महासङ्घको प्रतिनिधिमण्डलले भाग लिनेछ । भ्रमण टोलीमा महासङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे, कार्यकारिणी समिति सदस्य चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, शालिक अग्रवाल, क्वेस्ट फर्मास्युटिक्ल्स प्रालिका व्यवस्थापक निर्देशक उमेशलाल श्रेष्ठ, हिमालयन सेन्टर फर एजुकेशन डेभलपमेन्ट सेन्टरका अध्यक्ष राजेन्द्रमान शेरचन, अल्टरनेटिभ फर्निचर्सका प्रमुख टासी वाङग्याल लामा र कारोबार दैनिकका प्रधान सम्पादक प्रतिक प्रधान हुनुहुन्छ । माघ ८ गते युनियन अफ म्यान्मा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा म्यान्मामा रहेका गैर आवासीय नेपालीसँग छुट्टाछुट्ट्रै भेटघाट तथा बैठक गर्ने महासङ्घले जनाएको छ । टोली माघ १२ गते स्वदेश फर्कने छ ।
