इटालीका विदेशमन्त्रीले भने : चीनसँगको बीआरआई सम्झौताले अपेक्षा अनुसार परिणाम दिन सकेन

बिजमाण्डू
२०८० भदौ १७ गते ०८:०८ | Sep 3, 2023
इटालीका विदेशमन्त्रीले भने : चीनसँगको बीआरआई सम्झौताले अपेक्षा अनुसार परिणाम दिन सकेन
Photo : Foreign Ministry, Italy


इटालीका विदेश मन्त्री एन्टोनियो तजिनीले चीनसँगको सिल्क रोड परियोजनाले अपेक्षा अनुसार परिणाम दिन नसकेको बताएका छन्।

Tata
GBIME
NLIC

इटालीले चार वर्ष अघि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेको थियो। अमेरिकाको विरोधबीच इटालीको तत्कालिन सरकारले चीनसँग बीआरआई सम्झौता गरेको थियो। अहिले जियोर्जिया मेलोनी नेतृत्वको सरकारले भने चीनसँगको सो सम्झौताले अपेक्षा अनुसार व्यापार लक्ष्य पूरा गर्न नसकेको जनाएको हो।

बन्दरगाह, रेलमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा ठूलो लगानी गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी कार्यक्रमले एसिया, अफ्रिका र युरोपबीचको व्यापारिक सम्बन्ध सुधार गर्ने लक्ष्य राखेको छ।

इटालीले यस वर्ष सो सम्झौता फिर्ता नलिएमा मार्च २०२४ मा स्वतः नवीकरण हुने जनाइएको छ। चीनसँगको सम्झौता कायम राख्ने कि नराख्ने भन्ने विषयको निर्णय भने इटालियन संसदले गर्ने तजिनीले बताए।

चीन प्रस्थान गर्नुअघि तजिनीले भने, ‘सिल्क रोडले हामीले आशा गरेको परिणाम दिन सकेको छैन।’

ताजिनीले आइतबार चीन पुग्दैछन्। मंगलबारसम्म हुने उनको चीन भ्रमणका क्रममा उनले चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नेछन्। इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले चीन भ्रमणको लागि इच्छा व्यक्त गरेकी छिन्। तजिनीको यो भ्रमण मेलोनीको भ्रमणबारे तयारी गर्न समेत रहेको बताइएको छ।