
काठमाडौं। नेपाली कांग्रेसको विधान हेर्ने हो भने हरेक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नैपर्छ। तर १४औं महाधिवेशनमा चुनिएका शेरबहादुर देउवा नेतृत्वले विधान कुल्चँदै एक वर्षपछि मात्र एकैपटक केन्द्रीय समिति बैठक राख्दैछ।
भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेपछि केन्द्रीय समिति बल्ल आज बस्न लागेको हो। गत भदौ ४ मा कांग्रेस नेता प्रदीप गिरीका निधन भएकोले भोलिपल्टै शोक प्रस्तावका लागि केन्द्रीय समिति राखियो।
भदौको सुरुवातमा बसेको केन्द्रीय समिति बैठक देउवाले एकैपटक पुसमा बोलाएको थियो। तर विभिन्न कारणले केन्द्रीय समिति लगातार स्थगित भइरह्यो।
के कुराले अड्कायो केन्द्रीय समिति?
कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ मा सुरु भएको थियो। मंसिर २९ मा शेरबहादुर देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएसँगै उनको दोस्रो कार्यकाल सुरु भयो।
यस बीचमा स्थानीय निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भयो। निर्वाचनमा उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिदेखि विधानमै नभएको पदाधिकारी बैठकबाट काम चलायो।
माओवादीसँग गठबन्धन गरी निर्वाचनमा उत्रिएको कांग्रेस मंसिर ४ को निर्वाचनमा ८९ सिटसहित पहिलो बन्यो। त्यसपछि हौसिएको कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा थियो।
शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर पुस ११ गते नेकपा (एमाले)ले देउवाको सपना ‘हाइज्याक’ गर्यो। बिहानभर बालुवाटारमा ब्रेकफस्ट गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यदिनमा बालकोट खाना खान पुगे र बार्दलीबाट ओलीसँगै उभिएर हात हल्लाए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट प्रधानमन्त्री दाहाल हच्कँदै गएकै बेला कांग्रेसले सदनमा सरकारको ढोक्सा थाप्यो। एमालेको साथ हुँदाहुँदै पुस २६ गते दाहालले विश्वासको मत माग्दा कांग्रेसले पनि साथ दियो।
त्यो सहमतिले फागुन २५ गते कांग्रेसले राष्ट्रपति पद पायो। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए।
त्यसपछि एमाले माओवादीसँग भड्कियो। साना दलले सरकार छाड्दै गर्दा एमाले पनि माओवादी गठबन्धनबाट अलग भयो।
प्रचण्डले दोस्रोपटक चैत ६ मा विश्वासको मत मागे। कांग्रेसको साथ रह्यो तर एमालेले मत दिएन।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चैत १७ मा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भयो। त्यसपछि बैशाख १० मा उपनिर्वाचन भयो।
दुई सिटमा भिडेको नेपाली कांग्रेसका हातमा नतिजा भने पर्यो शून्य। आफ्नो पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका डा स्वर्णिम वाग्लेले तनहुँ १ खोसे। रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको थियो।
आफ्नो भाग खोसेपछि कांग्रेसमा ‘ग्राउन्ड लेभल’बाट केन्द्रीय समितिको माग भयो। कांग्रेसले सोहीअनुसार बैशाख अन्तिममा केन्द्रीय समिति बोलाउने तयारी गरेको थियो।
तर बैशाख २७ मा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे। त्यसपछि मौन बस्यो कांग्रेस नेतृत्व।
रुपान्तरण अभियान चलाएर काठमाडौं फर्केका केन्द्रीय सदस्य आचार्यले असार ११ गते केन्द्रीय समिति बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र नै दर्ता गराए। त्यसपछि असार २० गते सूचना जारी गर्दै असार २७ गतेका लागि केन्द्रीय समिति बैठक डाके देउवाले।
असार २७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्न ठिक्क तयार भएर बसेकै बेला बिहानै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भयो। बैठक फेरि स्थगित भएर साउन २ को लागि सरेको थियो।
के छन् एजेन्डा?
यसपटक केन्द्रीय समितिमा दुई मुख्य एजेन्डाबारे छलफल हुने तय भएको छ। नीति अधिवशेन र पार्टीलाई सुदृढीकरण गर्नेबारे।
कांग्रेसको १४औँ महाधिवेशनमा नीतिबारे कुनै छलफल हुन नसकेपछि ६ महिनाभित्र नीति अधिवेशन गर्ने सहमति गरेको थियो। तर महाधिवेशन भएको दुई वर्ष पूरा हुन लाग्दा बल्ल नीति अधिवेशनको बहस चलेको हो।
यसैगरी, उपनिर्वाचनमा एक सिट गुमाएको कांग्रेसका लागि ‘सक्किने कि सच्चिने’ प्रश्न जोडदार रुपमा उठेको छ। यसका लागि पार्टीमा रुपान्तरण अभियान चलाउने चर्चा छ।
पार्टी नेतृत्वले भने सुदृढीकरणका नारा लिएर मेचीकाली अभियानमा जाने तयारी गरेको छ। यता कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने ‘बदलिएको कांग्रेस : बलियो कांग्रेस’ अभियान लिएर देशव्यापी रुपमा जाने एजेन्डा केन्द्रीय समितिमा प्रस्तुत गर्दैछन्।
कोषाध्यक्ष छान्ने विषय के होला?
पार्टीको विधानको परिच्छेद-७ को केन्द्रीय कार्यसमिति सम्बन्धी दफा २१ को उपदफा ४ मा कोषाध्यक्ष चयनबारे भनिएको छ- केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष, एक। तर अहिलेसम्म कांग्रेसले कोषाध्यक्ष छानेको छैन।
यसैगरी, कांग्रेसले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन। यतिमात्र हैन पार्टीका विभाग पनि गठन भएका छैनन्। यी विषय एजेन्डामा नरहेको बताइएको छ।
भदौपछि एकैपटक साउनमा कांग्रेस केन्द्रीय समिति
