गभर्नरले भने,’तरलता वृद्धि हुन थालेको छ, ब्याजदरमा परेको दबाब कम हुन थाल्यो’

बिजमाण्डू
२०८० बैशाख १४ गते १८:२९ | Apr 27, 2023
गभर्नरले भने,’तरलता वृद्धि हुन थालेको छ, ब्याजदरमा परेको दबाब कम हुन थाल्यो’


काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्राको संचितिमा आएको सुधारले बैंकिङ प्रणालीको तरलतामा वृद्धि हुन थालेको बताएका छन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकको ५८ औं वार्षिककोत्सव कार्यक्रममा बोल्दै उनले तरलता सुधार भएर ब्याजदरमा परेको दबाब कम हुन थालेको उल्लेख गरे। उनका अनुसार बैंक वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याजदर घटाउन थालेका छन्।     

गभर्नर अधिकारीले २०७९ साल समष्टीगत आर्थिक व्यवस्थापनको दृष्टिकोणले चुनौतिपूर्ण रहेको बताए। उनका अनुसार भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सक्रिय रहनु पर्नेछ। बैंकको कार्यसम्पादनलाई चुस्त,व्यवस्थित, नियमसंगत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा र परिमार्जन गरिएको अधिकारीको भनाइ छ।

आर्थिक वर्ष २०७८/७९ मा मुलुकको शोधानान्तर घाटा उल्लेख्य रुपमा बढेर विदेशी विनिमय संचिति तीव्र दरमा घट्यो। विदेशी विनिमय संचितिमा आएको कमीसँगै बैंकिङ प्रणालीमा तरलता कम भएर ब्याजदर बढ्यो।

बाह्य क्षेत्रमा देखिएको उच्च दबाबलाई कम गर्न नेपाल सरकारले विलासिताका वस्तु आयातमा प्रतिब्नद समेत लगायो। चालु आर्थिक वर्षको मौद्रिकनीति मार्फत नीतिगत दरहरु पनि बढाएको छ। कोभिड १९ मा दिइएको नियामकीय सुविधा क्रमश: हटाइएका छन्। पुनर्कर्जा सुविधालाई अर्थतन्त्रका अति प्रभावित क्षेत्रमा मात्रै सीमित गरेको अवस्था छ। 

यद्यपी नेपाल सरकार र केन्द्रीय बैंकले  लिएका नीतिगत व्यवस्थाले १४ महिनापछि २०७९ असोजबाट मुलुकको शोधानान्तर बचत भएर विदेशी मुद्राको संचितिमा सुधार हुन थालेको उनले बताए।

कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने क्रममा बाह्य क्षेत्रमा सृजित दबाबलाई सम्बोधन गर्न केन्द्रीय बैंकबाट विभिन्न नीतिगत प्रयासहरु भएको गभर्नर अधिकारले बताए।