विदेशको कमाइले नेपालमा उद्यम-व्यापार, तर ऋण दिन भने बैंकले पत्याउँदैन

रासस
२०७९ फागुन ७ गते १७:२३ | Feb 19, 2023
विदेशको कमाइले नेपालमा उद्यम-व्यापार, तर ऋण दिन भने बैंकले पत्याउँदैन


काठमाडौं। मोरङ बेलबारी-९ डाँगीहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा गरिरहेको मजदुरी छाडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन्। 

Tata
GBIME
NLIC

स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको व्यवसायबाट उनले यो वर्ष मात्रै करिब ५० लाख रुपैयाँ आम्दानीको लक्ष्य लिएका छन्। 

तीन वर्ष मलेसिया बस्दा कमाएको करिब १ लाख ५० हजार रुपैयाँ लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका हुन्। हाल कम्पनीमा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ।

तीन कट्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्की घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन्। 

च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन्। एउटा घरमा १ हजार २ सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ। गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए। 

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। हाल थोकमा १ सय ५० रुपैयाँका दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए। उत्पादित च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पुर्‍याइसक्नुपर्ने र ७ बजेसम्ममा विराटनगर र धरानसम्म पुर्‍याइसक्नुपर्ने हुन्छ। 

दैनिक अटोरिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि उनले अब आफैं पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन्। 

उनले हाल फर्ममा पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन्।

सुन्दर हरैंचाको गछियाका बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ। सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए। तर, दुई वर्षअघि उनको फर्म आगलागीको घटना हुँदा ध्वस्त भएको थियो। हाल उनी काठमाडौँमा च्याउको बिउ उत्पादन गर्ने ल्याव चलाइरहेका छन्।

विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बिउ लिइरहेका छन्। दुई  वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए। डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेका छन्।

‘विदेशको रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास बैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडें,’ उनले सुनाए।