
काठमाडौं। सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य हुने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको बताइएको छ।
सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।
रणनीतिक साझेदारीपछि सहकारी, लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ।
डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको छ। इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको बलियो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको छ।
नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन्। प्रमुख कार्यकारी अधिकृतमा उमेश रघुवंशी र सह-सीइओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्।
नेपालको आइटी तथा बैकिङ क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले जनाएको छ।
सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्सले सहकारी र लघुवित्तका लागि कोर बैकिङ सोलुसन विकास गर्छ।
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३ सय बढी कर्मचारीहरुले काम गरिरहेका छन्।
मर्कन्टाइल अफिस सिस्टम्सले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ सोल्युसन पुमोरी नेपालको शीर्षमध्येको बैकिङ सफ्टवेयर भएको दाबी कम्पनीको छ।