
काठमाडौं। सरकारले ब्याजदर घटाउन पहल सुरु गरेको छ। ब्याजदर घटाउन सरकारले पहल सुरु गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ब्याजदर घटाउने विषयमा छलफल भइरहेको मन्त्री पौडेलले बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्योग सम्मेलनमा बोल्दै मन्त्री पौडेलले ब्याजजदरलाई वाञ्छित सीमा भित्र राखिने बताएका हुन्।
‘ब्याजदर धेरै पक्षसँग जोडिएको हुन्छ। राष्ट्र बैंकको आफ्नै तरिका छ। मन्त्रालयले हस्तक्षेप गर्दैन बैंकसँग जीवन्त सम्बन्ध राख्न तयार छ। राष्ट्र बैंक र मन्त्रालयबीच ब्याजदरको विषयमा छलफलमा छौं। पछिल्लो दिनमा ब्याजदर कम हुँदै गएको संकेत देखिन सुरु भएको मैले महसुस गरिरहेको छु,’ पौडेलले भने।
मन्त्री पौडेलले साना तथा मझौला उद्योगको क्षेत्रमा रहेका समस्या समाधान र यो क्षेत्रमा गर्नुपर्ने कामका लागि सरकार तयार रहेको बताए। उनले केही नीतिगत अस्पष्टता रहेको भन्दै महासंघले आयोजना गरेको कार्यक्रमबाट निष्कर्ष निस्किने अपेक्षा गरेका छन्।
‘कुल उद्योगमध्ये ९० प्रतिशत साना तथा मझौला उद्योग छन्। यसबाट स्पष्ट हुन्छ। यो क्षेत्रको महत्त्व कति छ। साँच्चै महासंघले उठाएको विषय जस्तै यो आकारमा निकै सानो र महत्त्वका हिसाबले निकै महत्त्वपूर्ण छ। प्रक्रियागत झन्झट धेरै छन्। अपारदर्शी झन्झट के-के छ्न। सुझाव दिनुहोला। यसमा सुधार गर्न सरकार तयार छ। राजस्व प्रशासनमा कस्ले दुख दिन्छ मलाई भन्नुहोस्, करदातालाई दुख दिने अधिकार कसैलाइ छैन,’ मन्त्री पौडेलले भने।