
काठमाडौं। टेक जायन्ट माइक्रोसफ्ट कर्पोरेशनले हजारौंको संख्यामा कर्मचारी कटौती गर्ने भएको छ। यस कटौतीमा विशेषगरी मानव संसाधन र ईन्जिनियरिङ् डिभिजनका कर्मचारीहरु पर्ने भएका छन्।
पछिल्लो केही समय विश्वभर टेक जायन्टहरूले निरन्तर खर्च कटौती गर्नका लागि भन्दै हजारौंको सङ्ख्यामा कर्मचारी कटौती गर्दै आएका छन्। मेटा, अमेजन लगायतका टेक कम्पनीहरूले सुस्त माग र बिग्रँदै गएको विश्वव्यापी अर्थतन्त्रको परिदृश्यमा खर्च कटौती अभ्यासको घोषणा गरिसकेका छन्।
र माइक्रोसफ्टको यो कदमले प्राविधिक क्षेत्रले रोजगारी कटौतीको क्रम जारी राख्ने संकेत दिएको छ।
‘बृहद कोणबाट हेर्ने हो भने माइक्रोसफ्टको कर्मचारी कटौतीको अर्को पेन्डिङ राउन्डले यस क्षेत्रको वातावरणमा अझै सुधार भइ नसकेको र सम्भवतः बिग्रँदै गएको संकेत दिन्छ।,’ मर्निङस्टार विश्लेषक ड्यान रोमनफले भने।
यूके प्रसारक स्काई न्यूजले स्रोतहरूलाई उद्धृत गर्दै माइक्रोसफ्टले आफ्नो कार्यबलको लगभग पाँच प्रतिशत अर्थात ११,००० कर्मचार कटौती गर्ने योजना बनाएको रिपोर्ट गरेको छ।
त्यस्तै ब्लूमबर्ग न्यूजका अनुसार कम्पनीले बुधबार धेरै ईन्जिनियरिङ् डिभिजनहरूमा कामदार कटौती गर्ने योजना बनाएको छ। जबकि इनसाइडरले माइक्रोसफ्टले भर्ती गर्ने कर्मचारीहरूलाई एक तिहाइले कटौती गर्न सक्ने रिपोर्ट गरेको छ।
यस वर्षको कर्मचारी कटौती गत वर्षको अन्य राउन्डहरू भन्दा उल्लेखनीय रूपमा ठूलो हुने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ। तर माइक्रोसफ्टले भने यी रिपोर्टहरूमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।
कम्पनीमा सन् २०२० को जुन महिनासम्म २ लाख २१ हजार पूर्णकालीन कर्मचारीहरू थिए। यसमध्ये अमेरिकामा १ लाख २२ हजार र अन्तर्राष्ट्रिय रूपमा ९९ हजार कर्मचारी थिए।
हाल माइक्रोसफ्ट आफ्नो क्लाउड यूनिट एजुरीमा वृद्धि दर कायम गर्न दबाबमा छ। व्यक्तिगत कम्प्युटर बजारमा भारी गिरावट पछि विन्डोज तथा उपकरणहरूको बिक्री निकै नै प्रभावित भएको थियो।
यसले गत वर्ष जुलाईमा पनि थोरै संख्यामा कर्मचारी हटाएको थियो। त्यस्तै अक्टोबरमा पनि माइक्रोसफ्टले धेरै डिभिजनहरूमा लगभग एक हजार कर्मचारी कटौती गरेको थियो। (रोयटर्सबाट साभार)