
काठमाडौं। नेपाल टेलिकम वा अन्य कुनै निकायलाई फाइभजी परीक्षण रोक्न अमेरिकाले कुनै प्रयास नगरेको दाबी गरेको छ।
अमेरिकी दूतावासले मंगलबार इमेलमार्फत फाइभजी परीक्षण रोक्न कुनै दबाब नदिएको बताएपनि डेटा सुरक्षाको पूर्वाधार निर्माण गर्दा प्राथमिकता दिन टेलिकम र सरकारलाई प्रोत्साहित गर्ने जनाएको छ।
नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिची–एलेनले भनेकी छिन्-‘फाइभजी वायरलेस नेटवर्कका सम्भावनालाई यथार्थमा बदल्न देश, कम्पनी र नागरिकहरूले गर्ने प्रयासहरूको अमेरिका समर्थन गर्दछ। आफ्नो ब्रोडब्याण्ड सेलुलर नेटवर्कको पूर्वाधार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिन सरकार तथा टेलिकम सञ्चालकहरूलाई हामी प्रोत्साहित गर्छौं।’
उनले आफ्नो राष्ट्रिय, आर्थिक र डिजिटल सुरक्षाबारे प्रत्येक राष्ट्रले सार्वभौम निर्णय लिनुपर्छ भन्नेमा अमेरिका विश्वास गर्ने इमेलमा उल्लेख छ।
डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न अमेरिकाले चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको थियो। टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ।
चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले नेपाल टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ। त्यही दबाबका कारण फाइभजी परीक्षण एकाएक रोकिन पुगेको थियो।
बिजमाण्डूले पुस २६ गते भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट शीर्षकमा समाचार छापेको थियो।
बिजमाण्डूले पुस २७ गतेनै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनलाई औपचारिक रुपमा इमेलमार्फत यस विषयमा अमेरिकी धारणा मागेको थियो।