
काठमाडौं। नयाँ सरकार आएसँगै नेपाल वायुसेवा निगमले जहाज संख्या विस्तार योजनालाई अगाडि बढाएको छ। निगमले सुगम र दुर्गम दुवै गन्तब्य उडान विस्तारको योजना अघि बढाएको हो।
निगमले केही दिन अघि मात्र पर्यटन मन्त्रालयसँग आफ्नो व्यवसायिक योजना अनुसार जहाज संख्या विस्तारबारे मौखिक छलफल गरेको पर्यटन सचिव सुरेश अधिकारीले बताए।
‘केही दिन अघि मात्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्षमता विस्तारको मौखिक योजना पेश गर्नुभएको छ। निगमले आन्तरिक तर्फ चारवटा र अन्तर्राष्ट्रिय तर्फ दुईवटा न्यारोबडी सिरिजको जहाज संख्या विस्तार गर्ने जनाएको छ,’ सचिव अधिकारीले भने।
निगम कार्यकारी अध्यक्षसँग भएको छलफलका अनुसार आन्तरिकतर्फ जहाज खरिदका लागि निगमको आम्दानी पर्याप्त रहेको उनले जानकारी दिए। न्यारोबडी जहाज संख्या विस्तारका लागि भने निगमले लिज अवधारणा पालना गर्ने उनले बताए।
‘अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ रहेको गन्तब्य अनुसार जहाज पर्याप्त छैन। दुर्गम क्षेत्रका लागि एउटै जहाजमात्र संचालनमा छ। अन्तर्राष्ट्रियतर्फ दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमात्र छन्। नयाँ मन्त्री नियुक्त भएलगत्तै निगमको क्षमता विस्तार योजनालाई औपचारिक रुपमा अगाडी बढाइनेछ,’ सचिव अधिकारीले भने।
हाल निगमले कुल चारवटा ठूला जहाजमार्फत दिल्ली, मुम्बई, बैंग्लोंर, थाइल्याण्ड, मलेसिया, कतार, दुबाई, जापान लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्दै आएको छ।
आन्तरिक तर्फ भने दुई मध्ये एउटा ट्विनअटरमार्फत उडान गर्दै आएको छ। चीनबाट ल्याएको ६ वटा जहाजमध्ये पाँचवटा दुई वर्ष यता ग्राउण्डेड छ।