
काठमाडौं। कुवेतको ध्वजावाहक वायुसेवा कुवेत एयरको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्टको जिम्मा ट्रान्सपोर्ट सोलुसनले पाएको छ। एक महिना अघि चार्टर उडानमार्फत नेपाल उडान सुरु गरेको कुवेत एयरले आधिकारिक जिएसए नियुक्त गरेको हो।
जिएसए नियुक्ति भएसँगै कम्पनीले साताको सातवटा उडान गर्ने तयारी सुरु गरेको नारगिक उड्डयन प्राधिकरणले जनाएको छ। 'केही दिन अघि उडान संख्या विस्तारका लागि आधिकारिक पत्र आएको छ। कम्पनीले साताको सातवटा उडान गर्ने प्रस्ताव गरेको छ,' प्राधिकरणका एक कर्मचारीले भने।
कम्पनीका कार्यकारी अध्यक्ष सुशील थापा हुन्। थापाले संचार, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरिरहेका छन्। थापा प्रभु लाइफ इन्स्योरेन्सको दोस्रो ठूलो व्यक्तिगत लगानीकर्ता हुन्। थापा तत्कालीन एनडेप बैंकको सह-संस्थापकका साथै कुमारी बैंकको संस्थापक सेयरधनी समेत हुन्। उनको कम्पनीमा ९१ प्रतिशत सेयर छ।
यस्तै, ९ प्रतिशत सेयर भने दिकेश मल्होत्राको नाममा छ। उनी आइएमएस समूहका प्रेसिडेन्ट एवं प्रमुख कार्यकारी अधिकृत हुन्। कम्पनीको आधिकारिक कार्यालय हात्तिसारमा छ।
अब कुवेत-नेपाल उडान गर्ने वायुसेवाको संख्या दुईवटा पुगेको छ। यसअघि कुवेतको जजिरा एयरवेजले दुईतर्फी उडान गर्दै आएको थियो। कुवेत एयरको नियमित उडानसँगै प्रतिस्पर्धाले भाडा सस्तिनेछ।