विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपाल स्टकमा लघुवित्त कम्पनी ‘व्लु चिप’ बनेका छन् । लघुवित्तको आइपिओमा लगानीकर्ताले करोडौं रुपैयाँ ओइराएका छन्, सूचिकृत कम्पनीको सेयर मूल्य समेत उच्च छ । जस्तो नेप्सेमा अहिले १३ लघुवित्त बिकास बैंक सूचिकृत छन्, त्यसमध्ये ११ वटा कम्पनीको कारोवार हुन्छ र ती सबैको सेयर मूल्य पाँच सय रुपैयाँभन्दा माथि छ । ११ मध्ये पनि आठ लघुवित्तको प्रतिकित्ता आठ सयदेखि एक हजार दुई सय रुपैयाँसम्म कारोवार भैरहेको छ ।
.jpg)
सेयर बजारमा सबैभन्दा आकर्षक मानिने कतिपय वाणिज्य बैंकभन्दा लघुवित्त धेरै अघि छन् । जस्तो नेप्सेमा सूचीकृत २९ कम्पनीमध्ये १२ कम्पनी (ग्राण्ड, जनता, किष्ट, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नेपाल, एनसीसी, एनएमबी, प्राइम, कमर्ज एण्ड ट्रष्ट र सनराइज)को सेयर मूल्य पाँच सयभन्दा कम छ ।
सेयर बजारमा देखिएको यो प्रवृत्तीले अहिले प्रश्न उठेको छ, के लघुवित्त बैंकहरु लगानीका लागि बाणिज्य बैंकभन्दा बढी सुरक्षित छन् ? के लघुवित्तमा गरेको लगानी जोखिमपूर्ण छैन ? के लघुवित्त संधै यसैगरी व्लुचिप कम्पनी रहलान् ?
सेयर विश्लेषक अमृतनाथ रेग्मी भन्छन्, ‘दोस्रो त्रैमाशको वित्तीय विवरण हेर्ने हो भने कतिपय लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी ६० भन्दा माथी छ, जुन अधिकांश वाणिज्य बैंकको यो अवधिको भन्दा बढी हो ।’
| कम्पनी |
चुक्तापूँजी
(रु दशलाखमा)
|
| समता माइक्रो | 11.06 |
| आरएसडीसी लघुवित्त | 60 |
| मिर्मिरे माइक्रो | 14 |
| जनउत्थान | 11 |
| मिथिला लघुवित्त | 16.5 |
| वमी माइक्रो | 10.2 |
| किसान माइक्रो | 12 |
| क्लिन भिलेज | 14 |
|
फर्वाड कम्युनिटी
|
70 |
| रिलायबल | 14 |
| माहुली सामुदायिक | 14 |
| सूर्यादय | 14 |
| महिला सहयात्रा | 77 |
रेग्मीले भने यसैले पनि लगानीकर्ता लघुवित्तमा आकर्षित भएका छन । लघुवित्त कम्पनीको नाफाको वृद्धिदर उच्च छ र यो कारण कम चुक्तापूँजी भएका यी कम्पनीमा लगानी गर्नेले बढि दरमा लाभांश समेत पाउँछन ।
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (आरएमडीसी) को वित्तीय व्यवस्थापन बिभागका बरिष्ठ प्रबन्धक मेघराज गजुरेलले भने, ‘लघुवित्त बैंकको प्रोभिजन कम छ र नाफादर बढि छ, यही कारण लगानीकर्ता आकर्षित भएका हुन् ।’ लघुवित्त कम्पनीको नाफादर उच्च हुनुमा बिभिन्न कारण छन् । पहिलो यी कम्पनीहरुले अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो दरमा सापट पाउँछन । तर कर्जा लगानी गर्दा भने २४ प्रतिशतसम्म व्याजदर लिने गरेका छन् । बैंकलाई तिर्ने व्याज र उपभोक्ताबाट उठाउने व्याजवीचको यही अन्तर नै लघुवित्त कम्पनीको मुनाफा उल्लेख्य वृद्धि हुने एक कारण हो, गजुरेलले भने । ‘सञ्चालनको दायरा बढ्दै गएर पूँजी कोष लागत घट्दा पनि कम्पनीले कर्जाको व्याजदर कम गरेका छैनन् ।
मौद्रिक नीतिले वाणिज्य बैंक, बिकास बैंक र वित्त कम्पनीलाई बिपन्न बर्ग कर्जा अन्तर्गत अनिवार्य रुपमा ४.५ प्रतिशत, चार प्रतिशत र तीन प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर बैंकले प्रत्यक्ष रुपमा यो क्षेत्रमा लगानी गर्नुभन्दा लघुवित्त कम्पनीहरुलाई सापट दिएर सीमा पुर्याउने गर्छन ।
सेयर विश्लेषक रेग्मीले लघुवित्तको ‘फाइनान्सियल चार्ज’ पनि महंगो हुने गरेकाले नाफा वृद्धिमा सहयोग पुगेको बताए । लघुवित्तबाट प्रवाह हुने कर्जाको असुली दर ९८ देखि ९९ प्रतिशतसम्म छ । यसले खराब कर्जाको अनुपात कम हुने र सम्भावित जोखममा रकम छुट्याउन नपर्ने भएपछि प्रभाव नाफामा देखिन्छ ।
तर लघुवित्तलाई अब अघिको बाटो कम जोखिमपूर्ण भने हुनेछैन् । लघुवित्तमा ‘डुप्लिकेशन’को समस्या सुरु भएको छ । यसलाई सम्वोधन गर्ने उपयुक्त बाटो अझै फेला परेको छैन् ।
एकै व्यक्तिलाई दुई तीन लघुवित्तले कर्जा प्रवाह गर्ने प्रवृत्ती देखिन थालेको छ, गजुरेलले भने, ‘एउटै क्षमता भए पनि दुई वा दुईभन्दा बढि संस्थाले एकै व्यक्तिलाई लगानी गरिरहेका छन् । यसले अहिलेसम्म कर्जादाता र ऋणी दुवै खुशी छन्, तर भविष्यमा यसले यो क्षेत्रमै समस्या आउन सक्छ । अहिले लघुवित्तका उपभोक्तावीच एकातिरबाट ऋण लिने, अर्कोमा भुक्तानी गर्ने प्रवृत्ती बढ्न थालेको छ, एउटा साइकलमा पुगेपछि ऋणी दुवै ठाउँमा डिफल्ट हुनसक्छ । यसले एउटा होइन्, दुइटा लघुवित्तलाई एकैपटक असर गर्नेछ ।
लघुवित्त कम्पनीको संख्या बढिरहे पछि ‘डुब्लिकेसन’को समस्या थपिदै जाने सम्भावना छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार क्षेत्रीय स्तरका ग्रामिण बिकास बैंकबाहेक ३० लघुवित्त कम्पनी अहिले सञ्चालनमा छन् ।
| कम्पनी |
चुक्तापूजी (रु दशलाखमा) |
सेयर मूल्य (रु मा) |
निक्षेप (रु हजारमा) |
कर्जा (रु हजारमा) |
दुई अलगअलग नाफा स्रोत
बर्षको नाफा (रु हजारमा)
|
नाफा फरक प्रतिशतमा |
स्रोत
(वित्तीय विवरण) |
|
| निर्धन उत्थान | 240 | 1045 | 1547592 | 4025786 | 78846 | 36954 | 113.36 | दोस्रो त्रैमास |
| आरएमडीसी | 520 | 848 | 0 | 2502247 | 106440 | 78410 | 35.7 | दोस्रो त्रैमास |
| डिप्रोक्स | 106.14 | 945 | 461949 | 1552837 | 21385 | 12114 | 76.5 | प्रथम त्रैमास |
| छिमेक लघुवित्त | 157.62 | 885 | 2621610 | 3601139 | 16523 | 16075 | 2.78 | दोस्रो त्रैमास |
| स्वावलम्बन | 149 | 732 | 1366245 | 3148631 | 61148 | 31229 | 95.8 | प्रथम त्रैमास |
| सानाकिसान | 230 | 1111 | 0 | 3813754 | 54867 | 43342 | 26.5 | दोस्रो त्रैमास |
| नेरुडे लघुवित्त | 64.4 | 1220 | 413004 | 1003871 | 10680 | 2946 | 262.52 | प्रथम त्रैमास |
| नयाँ नेपाल | 14 | 30924 | 68068 | 1410 | 1995 | -29.32 | २०६९/७० | |
| समिट माइक्रोफाइनान्स | 25 | 1000 | 46168 | 147084 | 4472 | 3427 | 30.49 | २०६९/७० |
| स्वरोजगार | 15.7 | 882 | 76724 | 225265 | 2072 | 496 | 317.74 | प्रथम त्रैमास |
| फस्र्ट माइक्रोफाइनान्स | 100 | 525 | 0 | 882257 | 12554 | 6029 | 108.22 | |
| नागबेली माइक्रो | 10.01 | 22882 | 111869 | 3457 | 931 | 271.32 | २०६९/७० | |
| कालिका माइक्रोक्रेडिट | 30 | 399 | 29368 | 188533 | 4717 | 1245 | 278.8 | २०६९/७० |
| लक्ष्मी माइक्रो | 70 | 36572 | 150060 | -140 | -1158 | दोस्रो त्रैमास | ||
| आइएलएफसीओ | 60 | 8294 | 50713 | 503 | -639 | प्रथम त्रैमास | ||
| विजय लघुवित्त | 98 | 946 | 47620 | 692 | 0 | प्रथम त्रैमास | ||
| मेरो माइक्रो | 69.4 | 1716 | 55997 | -1724 | 0 |
दोस्रो त्रैमास |
||
तर यी ३० लघुवित्तको कुल चुक्तापूँजीको आधार भने एउटा वाणिज्य बैंकभन्दा पनि कम छ । ३० लघुवित्तको कुल चुक्तापूँजी दुई अर्ब २९ करोड रुपैयाँ छ । त्यस्तै, ३० वटा लघुवित्त कम्पनीमध्ये धेरैको कार्य क्षेत्र एउटै स्थान समेत हुने गरेको छ । दोहोरो कर्जाबाट मुक्तिका लागि बैंकका ऋणीको निगरानी गर्ने क्रेडिट इन्फरमेसन ब्युरो जस्तै, लघुवित्तका ऋणीको निगरानी गर्न संयन्त्र आवश्यक भएको गजुरेल बताउँछन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले भने डुब्लिकेसनको समस्या जटिल बनि नसकेको बताए । उनले भने, ‘डुब्लिेकेशनको समस्या नभएको होइन तर यो चर्चामा आए जति व्यापक छैन् ।’ कुनै कुनै जिल्लामा एकभन्दा बढि लघुवित्त रहे पनि तिनीमध्ये धेरैलाई मर्जरमा लैजान राष्ट्र बैंकले गृहकार्य गरिरहेको ज्ञवालीले जानकारी दिए ।
उनले अहिले लघुवित्त कम्पनीहरुलाई शाखा खोल्दा अनुमति लिनुपर्ने व्यवस्था गरिएको र एउटै जिल्लामा धेरैको कार्य क्षेत्र बन्ने अवस्था नआउने वातावरण राष्ट्र बैंकले बनाइरहेको बताए ।
लघुवित्त कम्पनीको चुनौती यतिमा मात्र सिमित छैन । कम्पनीले उपभोक्तालाई ऋण प्रदान गर्न आफ्नै स्रोत नहुनु पनि यो क्षेत्रको चुनौती हो । आरएमडीसीले सन् २०१२ को अन्त्यमा आयोजना गरेको माइक्रोफाइनान्स एण्ड सोसल बिजनेश सम्बन्धि सेमिनारमा नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भनेका थिए, ‘राष्ट्र बैंकले बैंकहरुलाई संधै ‘डिप्राइभ्ड सेक्टर’मा लगानीको हिस्सा बढाउ भनिरहन सक्दैन् ।
त्यसको अर्थ हो, अहिले बैंकले लघुवित्तलाई सस्तो व्याजमा दिएको ऋण कुनै दिन बन्द हुनेछ । आफ्नो स्रोत नभएपछि लघुवित्त कम्पनीले कहाँबाट ऋण प्रदान गर्ने ?, आफ्नो स्रोत बनाउन थाले, महँगोमा ऋण दिने लघुवित्तले महँगोमै निक्षेप पनि जम्मा गर्नु पर्ने हुन्छ । त्यतिवेला लघुवित्तसँग कहाँबाट आउँछ मुनाफा ?
सिद्धार्थ क्यापिटल प्रमुख सञ्चालन अधिकृत मेख थापा भन्छन्, बैंकको सापटबाट चलेका लघुवित्तको तुलनामा आफ्नो निक्षेपबाट चलेका लघुवित्तको अवस्था राम्रो छ । सापट जस्तो सिमित स्रोतबाट चलिरहेका यस्ता संस्थामा बैंक तथा वित्तीय संस्थाले लगानी कम गरे वा रोके समस्या सुरु हुन्छ । तर अहिले तत्काल राष्ट्र बैंकले विपन्न बर्ग कर्जा प्रवाह गर्न तोकेको सिमा नघट्न वा नहट्ने विश्वास थापाको छ ।
लघुवित्त कम्पनीका लागि लघुवित्त कम्पनी नै चुनौतीको रुपमा पनि आउन सक्छन् । केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले वित्तीय सेवा नपुगेका तोकिएका भौगोलिक क्षेत्रमा मात्र सहायक कम्पनीको रुपमा “घ” वर्गको वित्तीय संस्था खोल्न पाउने व्यवस्था गरेको छ । यसले बैंक तथा वित्तीय संस्थालाइ पनि लघुवित्त संस्था सञ्चालन गर्न अनुमति मिलेको छ । बैंक आफैले प्रवद्र्धन गर्ने लघुवित्तले अर्को लघुवित्तसँग प्रतिश्पर्धा गर्न सस्तो व्याजमा ऋण प्रवाह गर्न सक्छ, यसले उच्च व्याज लिइरहेका लघुवित्तको मुनाफामा पनि दवाव पर्न सक्छ ।
लघुवित्त क्षेत्रका यी चुनौतीप्रति सेयर लगानीकर्ताको ध्यान नगएको विश्लेषकहरु बताउँछन । आरएमडीसीका वित्तीय व्यवस्थापन बिभागका बरिष्ठ प्रबन्धक गजुरेलले भने, ‘डुब्लिकेसन लगायतका चुनौती यो क्षेत्रमा छन्, हामीले पनि हाम्रा आवहान पत्र, विवरण पत्रमा यो कुरा उल्लेख गरका हुन्छौ, तर नाफा बढि र खराब कर्जाको दर कम देखेकै कारण लगानीकर्ताले यी पक्षलाई ध्यान दिएका छैनन् ।’
लघुवित्तमा एक दिन सुशासनको समस्या पनि देखिने पक्का छ, विश्लेषकहरु भन्छन्, सहकारी राम्रोसँग चलाउन नसक्नेले लघुवित्तमा हात हालेका छन्, सहकारीमा देखिएका समस्या एकदिन लघुवित्तमा नदेखिने भन्ने हुँदैन् । लघुवित्तको संख्या बढ्दै जाँदा केन्द्रिय बैंकको अर्जुनदृष्टि लघुवित्तको व्यवस्थापनमा नहुन पनि सक्छ ।
केन्द्रिय बैंकको ‘पूर्ण निगरानी’मा रहेका बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनमा त समस्या देखिएका छन्, लघुवित्तको व्यवस्थापनमा समस्या छैनन् होला ?, प्रवद्र्धकको व्यवस्थापनमा हुने दख्खल, कम प्रतिश्पर्धी जनशक्ति, केन्द्रिय बैंकको निगरानीभन्दा टाढा दुर्गममा कार्यालय, व्यवस्थापन कमजोर हुने कडि हुन् । लघुवित्तको संख्या बढाउने, र सम्भावित समस्यामा अहिलदेखि नै आँखा चिम्लँदै जाने हो भने अर्को वित्तीय दुर्घटनाको एउटा श्रृखला तयार हुनेछ ।









