काठमाडौं। उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर कर्णले बिहीबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै टेक्स्ट पठाए।
उनले ह्वाटसएपमार्फत पठाएको टेक्स्टमा भनिएको थियो, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, म असार २४ गते अवकाश हुँदैछु। मुख्यसचिवको प्रतिस्पर्धामा म छैन, हजुरले केही सोचेको भए थाहा छैन। राजदूतको विज्ञापनहरु खुलेको छ। म पनि आवेदन दिउँ की भनेर हजुरको जानकारीका लागि, मार्गदर्शनका लागि सहयोगका लागि सादर अनुरोध गर्दछु।’
कपनस्थित घरबाट टेक्स्ट म्यासेज पठाएर उनी उपराष्ट्रपति कार्यालय पुगे। स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री शाहलाई टेक्स्ट पठाउनुअघि मुख्यसचिव सुमनराज अर्यालसँग पनि राजदूतमा आवेदन हाल्न लागेको जानकारी गराएका थिए। प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्मालाई पनि राजदूतमा आवेदन दिन लागेको बताएका थिए।
पुष्कर कार्यालयमा काम सकेर घर पुगेको केही समयमै उनको निवासमा प्रहरी पुगे। स्रोतका अनुसार उनलाई सादा पोशाकका प्रहरीले टेकु लिएर गए। पुष्करलाई झण्डै ६ घण्टा राखेर छाडिएको थियो।
पुष्करले सुशीला कार्कीको सरकारका पालामा मुख्यसचिव हुन नसकेपछि राजदूतको आकांक्षा राखेका थिए। सरकारले अहिले खुला आह्वान गरेकाले राजदूतका लागि आवेदन दिन परिवारका सदस्यले समेत उनलाई प्रेरित गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री शाह र सचिव पुष्करबीच विगतमा कुराकानी हुने गरेको थियो। शाह काठमाडौं महानगरको मेयर भएका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पुष्कर थिए।
महानगरमा प्रमुख कार्यकारी अधिकृत पठाउने विषयमा विवाद हुँदा उनीहरुबीच कुराकानी भएको स्रोतले बतायो। त्यसबाहेक शाह र पुष्करको गृहजिल्ला महोत्तरी नै हो। शाह र पुष्करको पुर्खौली घरको दूरी तीन/चार किलोमिटर मात्रै छ।
स्रोतका अनुसार सचिव पुष्कर र शाह पारिवारिक रुपमा चिनजानकै व्यक्ति हुन्। यी सबै कारणले सचिव पुष्करले प्रधानमन्त्री शाहलाई टेक्स्ट गरेका थिए।
तर, प्रधानमन्त्री शाहले भने निकटता देखाउँदै फेबर खोजेको भन्दै उल्टै प्रहरीलाई टेक्स्ट पठाएर नियन्त्रणमा लिन लगाएको स्रोतले बतायो। ‘कर्मचारीले आफ्नो दायित्वभित्र रहेर काम गर्नुपर्छ। चेन अफ कमाण्ड नाघेर प्रधानमन्त्रीसँग अतिरिक्त फेबर खोज्नु गलत हो,’ स्रोतले भन्यो, ‘यो प्रवृत्ति अन्त्य गर्न खोजिएको हो।’
पुष्कर पक्राउसँगै उनकी श्रीमती आभा श्रेष्ठ त्रसित बनेकी थिइन्। आभा महिला बालबालिका मन्त्रालयमा सहसचिव छिन्।
निर्मम बालेन
सुनकोशी मरिन डाइभर्सनको ठेक्का पाएको रमण कन्स्ट्रक्सनका संचालक प्रधानमन्त्री बालेनका नातेदार हुन्।
सुनकोशी मरिनको काममा ढिलासुस्ती गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा राखेको छ। यसपछि सरकारले रमणले बैंक ग्यारेन्टीको रुपमा राखेको ३ अर्ब ६० करोड रुपैयाँ जफत प्रक्रिया अघि बढाएको छ।
स्रोतका अनुसार रमणका संचालकले प्रधानमन्त्री बालेनलाई भेट्नका लागि टेलिफोन गरेका थिए। प्रधानमन्त्री बालेनले चिया खाने भए आउनु तर कुनै काम लिएर नआउनु भन्ने जवाफ दिएको स्रोतले बतायो। यो जवाफले रमणका संचालक निराश भएका छन्।
त्रसित कर्मचारी
बालेन प्रधानमन्त्री बनेपछि कर्मचारीमा भयको वातावरण छाएको छ। बालेनले सरकारको नेतृत्व सम्हाल्ने वित्तिकै काममा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै सर्कुलर नै गरेपछि तथा कर्मचारीका ट्रेड युनियन खारेजी गर्ने प्रक्रिया अगाडि बढाएपछि निजामती प्रशासन त्रसित बनेको हो। बालेनको काम गर्ने तौरतरिका कर्मचारीलाई नौलो लागेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन बाहिर देखिए जस्तै कार्यालयका कर्मचारीसँग पनि खासै बोल्दैनन्। उनले प्रहरी पठाएर बहालवाला सचिवलाई घरबाट नियन्त्रणमा लिइ केरकार गर्न लगाएपछि कर्मचारीहरु थप त्रसित बनेका छन्।









