अनारदेखि केरासम्मको महँगियो भाउ, बढ्दो मूल्यले फलफूल किनमेलमा उपभोक्ताको अरुची



सरला सुवेदी
२०८३ जेठ २३ गते १६:०६ | Jun 6, 2026
अनारदेखि केरासम्मको महँगियो भाउ, बढ्दो मूल्यले फलफूल किनमेलमा उपभोक्ताको अरुची

काठमाडौं। मुलपानी मिलनचोककी रञ्जु तामाङ बाबाचोकस्थित एक पसलमा फलफूल किन्न पुगिन्। स्याउको मूल्य सोध्दा केही समयअघि प्रति किलो ३०० रुपैयाँमा पाइने स्याउ अहिले ३५० रुपैयाँ पुगेको उनले थाहा पाइन्।

Tata
GBIME
Nepal Life

त्यसैगरी, अनारको मूल्य प्रति किलो ५५० रुपैयाँ रहेको पसलेले बताए। केही समयअघि ४५० रुपैयाँमा अनार किनेकी रञ्जुले मूल्य बढ्नुको कारण सोध्दा थोक बजारमै भाउ बढेको जवाफ पाइन्।

बढ्दो महँगीका कारण उनले स्याउ र अनार आधा-आधा किलो मात्र खरिद गरिन्। फलफूलको मूल्यवृद्धिले सामान्य उपभोक्ताको खरिद क्षमता प्रभावित हुन थालेको देखिएको छ।

काँडाघारीको सुन्दरीचोकस्थित तरकारी बजारभित्र रहेको आयुष्का फ्रुट्सका संचालक राम थापाले पनि पछिल्लो समय फलफूलको मूल्य बढेको बताए। उनका अनुसार थोक बजारबाट ल्याइने फलफूलको गुणस्तरसमेत कमजोर हुँदै गएको छ।

‘अहिले सबै फलफूल महँगो भएको छ। थोक पसलबाट खरिद गरेर ल्याएको फलफूल पनि राम्रो छैन। धेरैजसो बिग्रने/कुहिने भइरहेको छ। ग्राहकले राम्रो नभएको र भाउ धेरै भएको भनेर फलफूल किन्न कम गरेका छन्,’ उनले भने।

बजारमा अहिले मौसमी फलफूलको मूल्यसमेत बढेको छ। केरा, लिच्ची, मेवा, अनार र भुइँकटहर लगायत अधिकांश फलफूल महँगिएका छन्।

कुलेश्वरस्थित फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले पनि फलफूलको मूल्य वृद्धि भएको पुष्टि गरे। उनका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मूल्य बढेको फलफूल अनार हो।

हाल १९ किलोको एक कार्टुन अनारको मूल्य थोक बजारमै ७ हजार ४०० रुपैयाँ पुगेको छ। भारतमै अनार महँगिएकाले त्यसको असर नेपाली बजारमा परेको बानियाँले बताए।

‘अबको एक महिनासम्म अनारको मूल्य महँगो हुन्छ। नयाँ अनार आउन थालेपछि भाउ सस्तो हुने अनुमान गरेका छौं,’ उनले भने।

थोक बजारमा भुइँकटहरको मूल्य प्रति गोटा २०० रुपैयाँभन्दा माथि पुगेको छ। मेवा प्रति किलो १०० देखि १२० रुपैयाँ र खरबुजा प्रति किलो ६० रुपैयाँमा कारोबार भइरहेको छ।

केराको मूल्य पनि बढेको छ। संघका अनुसार बजारमा केरा प्रति दर्जन २०० देखि २५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

अहिले लिच्चीको सिजन भएकाले बजारमा स्वदेशी र भारतीय दुवै लिच्ची उपलब्ध छन्। थोक बजारमै लिच्चीको मूल्य प्रति किलो २०० देखि २५० रुपैयाँ पुगेको छ।

थोक व्यवसायीहरूका अनुसार स्याउको मूल्य भने गत वर्षको तुलनामा केही सस्तो छ। थोक बजारमा उच्च गुणस्तरको फुजी स्याउ प्रति किलो ३५० रुपैयाँमा उपलब्ध छ।

कम गुणस्तरका स्याउ प्रति किलो २५० देखि ३०० रुपैयाँसम्ममा पाइने गरेको छ।

‘बाहिर बजारमा ढुवानीले गर्दा भाउ थप बढी हुन सक्छ। तर, थोक बजारमा गत वर्षको तुलनामा स्याउको भाउ कम हो,’ बानियाँले भने।

कुलेश्वर बजारमा अहिले स्वदेशी आँप भित्रिन थालेको छ। यससँगै भारतीय आँपको आयात क्रमशः घट्दै गएको व्यवसायीहरू बताउँछन्।

‘स्वदेशी आँप समय नभइ बजारमा आएको छ,’ बानियाँले भने।

हाल थोक बजारमा २० किलोको एक कार्टुन आँपको मूल्य २ हजार रुपैयाँ छ। स्वदेशी आँप प्रति किलो १०० रुपैयाँमा कारोबार भइरहेको उनले जानकारी दिए।